बजेट अधिवेशन आजदेखि

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७९
gandaki province parliament

फाइल फोटो

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन बुधबारबाट सुरु हुँदैछ । प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन बुधबार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता वा प्रतिनिधिले सम्बोधन गर्ने कार्यसूची छ । त्यसभन्दा अगाडि सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट पत्र पढेर सुनाउने छन् ।

जेठ १२ गतेको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल १७ गते सकिएपछि केही दिनको अन्तरमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

प्रदेश सभामा पेस भएका पर्यटन, सञ्चारसम्बन्धी विधेयक पनि यही अधिवेशनमा पारित गर्ने तयारी छ । मुलुकको राजनीति सिधा रेखामा गए यो कार्यकालका लागि गण्डकी प्रदेशसभाको अहिलेको बैठक नै अन्तिम हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि मात्र दोस्रो कार्यकालको अधिवेशन सुरु हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width