गण्डकी विश्वविद्यालयमा कुन विषयको पढाइ ?

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
gandaki university

पोखरा । गण्डकी विश्वविद्यालयमा कृषि, पर्यटन, स्वास्थ्य विज्ञान, खानी इन्जिनियरिङ र सहकारीसँग सम्बन्धित विषयको पढाइ गर्न सुझाव दिइएको छ । विश्वविद्यालयले प्राध्यापन क्षेत्रका अनुभवीहरुको समिति बनाई विषय पहिचान गरेको हो । प्राडा विश्वकल्याण पराजुली नेतृत्व समितिले ती विषय पढाउन उपयुक्त हुने भन्दै प्रतिवेदन बुधबार विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई प्रतिवेदन बुझाए ।
विश्वविद्यालयका लागि आवश्यक प्राज्ञिक विषय पहिचान गर्न प्राडा पराजुलीको नेतृत्वमा गठित समितिमा गेहेन्द्रेश्वर कोइराला, डा. दीर्घमान गुरुङ, अमृतकुमार भण्डारी, शान्ता खत्री, डा आँगन पराजुली, इ. स्मीता पराजुली, अर्जुन पोखरेल, लक्ष्मण शर्मा, परमेश्वर बराल, जनार्दन थापा सदस्य थिए ।
प्राडा विश्वकल्याण पराजुलीका अनुसार विषय विज्ञलाई उत्तरदाता मानेर अनुसन्धान गरिएको थियो । सोको लागि जिल्लागत अन्तक्र्रियात्मक कार्यक्रमबाट समेत सुझाव संकलन गरिएको थियो । अध्ययनमा १ सय ५४ जनालाई भेट्ने/सोध्ने गरिएको जानकारी पनि उनले दिए । ‘कतिपय संस्थाले सम्बन्धन पनि दिनुपर्‍यो भनेका थिए,’ उनले भने ।
प्रतिवेदनको प्रस्तुतिकरण गर्दै समिति सदस्य अमृतकुमार भण्डारीले कृषिका प्राविधिक, स्वास्थ्यका प्राविधिकको खाँचो धेरै रहेको अध्ययनबाट देखिएको सुनाए । उनले गण्डकी प्रदेशको आवश्यकता के हो र कस्तो मानव संशाधन विकास गर्ने गरी गण्डकी विश्वविद्यालयको पढाइ हुनुपर्छ भन्ने उद्देश्यसहित अध्ययन गरिएको जानकारी दिए । सहकारीको पढाइ गर्नुपर्ने सुझाव पनि आफूहरुले संकलन गरेको भण्डारीले बताए । भण्डारीले ४० जति कार्यक्रम पढाउन सकिने सुझाव प्रतिवेदनमा समेटिएको सुनाए । तत्काल आवश्यक भएका र तत्कालै पढाउन सकिने तथा केही समयपछि पढाउन सकिने विषय प्रतिवेदनमा समावेश छन् ।
आइसियु केयर टेकर, एनेस्थेसिया सहायक, हमोडाइलिसिस सहायक, रेडियोलोजी र प्याथोलोजीका कार्यक्रम विश्वविद्यालयमा चलाउन छोटो अवधिका कार्यक्रमका रुपमा सुझाइएको छ ।
समितिले प्राकृतिक स्रोत व्यवस्थापन, भूगर्भ विज्ञान, प्राणीशास्त्र, सूचना प्रविधि, साहसिक पर्यटन, खेलकुद व्यवस्थापनसहित समाज विज्ञानका विषय पनि सञ्चालन गर्न सकिने सम्भाव्यता पहिचान गरेको छ ।
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अरु विश्वविद्यायमा पढाइ नभएका विषय पढाइ अरुभन्दा भिन्न हुने दिशामा अघि बढ्ने बताए । उनले राजनीतिक हस्तक्षेपबाट मुक्त हुने गरी न्यासिक परिषद्बाट सञ्चालन हुने व्यवस्थासहित स्थापित गरेर विश्वविद्यालय प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ धन्यवादका पात्र बनेको बताए ।
विद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले के के पढाउन सकिन्छ भन्ने खोजी गरिसकेपछि अब कार्यान्वयनको चुनौती आएको विचार व्यक्त गरे । रजिस्ट्रार कैलाश तिमिल्सिनाले हिमाली क्षेत्रका विषयवस्तु समेटेर अगाडि बढ्नुपर्ने बताए । समितिका सदस्य गेहेन्द्रेश्वर कोइरालाले प्राविधिक विषयलाई प्राथमिकतामा राख्ने विश्वविद्यालयको मर्मलाई प्रतिवेदनले समेटेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width