शब्दसुमनमा सरल कविका तरल कविता

असफल गौतम
जेठ ३१, २०७७

लमजुङ जिल्लाको धमिलीकुवामा जन्मेका पदम विश्वकर्मा (२०२५) दुई दशकदेखि अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर विश्वकर्मा साच्चै समाजवादी र मानवतावादी सर्जक हुन् । नेपालमा रहँदा १० वर्षसम्म नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम अधिकृतका रूपमा समाजसेवाको कर्मका लागेका विश्वकर्मा हाल अमेरिकामा भाषा, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील छन् ।

अमेरिकाको व्यस्त जिन्दगीमा विश्वकर्मा दैनिकीको रोजीरोटी, घर परिवारको खुसी, व्यक्तिगत सुखसन्तोष, र भोगविलासमा मात्रै सीमित छैनन् । उनी त आफूलाई समाजसेवी, नेपाली भाषासेवी सर्जकका रूपमा प्रस्तुत गर्दै अगाडि बढेका छन् । विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका उच्च तहसम्मको नेतृत्वमा पुगेर आफ्नो जिम्मेवारी सहजतापूर्वक सम्पन्न गरेका छन् । सो क्रममा विश्वकर्मा अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष हुँदै अगाडि बढेका हुन् । यसका साथै उनीसँग नासो समुदाय अमेरिका र अनेसास केन्द्रीय समितिको महासचिव, अनेसासको केन्द्रीय अध्यक्ष र अनेसास वोर्ड अफ ट्रष्टीको उपाध्यक्ष भएर काम गरेको अनुभवसमेत छ ।

उनी संस्थागत सफल नेतृत्वकर्ता मात्र होइनन्, सम्पादक व्यक्तित्व पनि हुन् । विभिन्न संस्थाको नेतृत्व लिने क्रममा उनले अन्तर्दृष्टि, साहित्य सङ्गम, अनेसास कोलोराडोे, अनेक डायस्पोरामा देवकोटालगायतका कृति एवम् संस्थाका विभिन्न मुखपत्र सम्पादन गरिसकेका छन् । स्वीटजरल्याण्ड, थाइल्याण्ड, भारत, सिंगापुर जस्ता देशको भ्रमण गरेका विश्वकर्माले साहित्य र समाजसेवाका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप डा. अम्बेडकर पुरस्कार प्राप्त गरेका छन् । उनका हालसम्म ‘शब्दसुमन’ कविता, र ‘तमसुक’ कथासङ्ग्रह प्रकाशन भएका छन् ।

यसरी आफ्नो कुटीखेलो गर्ने थलोमा भएको विध्वंशबाट विक्षिप्त विश्वकर्मा थातथलोको चिन्ताले पनि उस्तै डढेका छन् । यसैक्रममा विवेकहीन राजनीतिले निम्त्याएका दुःखको चर्चा गर्दै जननी र जन्मभूमिप्रतिको प्रेम उस्तै रूपमा अभिव्यक्त गरेका छन् । यहाँको संस्कार, संस्कृति र प्रकृतिको चित्रण गरेका छन् ।

अनेसासबाट २०७० सालमा प्रकाशन गरिएको विश्वकर्माको शब्दसुमन कविता कृति अग्र, मध्य र अन्तिम गरी एक सय पृष्ठमा संरचित छ । रमेश दाहालको उत्कृष्ट आवरणमा सजिएको कृतिको मूल्य नेपालमा एक सय ५० रूपैयाँ र नेपाल बाहिर ५ डलर रहेको छ । समग्र संरचना हेर्दा कृतिको मूल्य गुणस्तर सुहाउँदो देखिन्छ । विश्वकर्माको प्रस्तुत कृतिमा कविता र अन्य गरी ४७ थान रचना रहेका छन् । जस भित्रका आठ रचना गजल संरचनासँग मिल्दाजुल्दा देखिन्छन् ।
विश्वकर्माले कृतिको मेलो शीर्ष कविताबाटै थालेका छन् । उनको रस्तीबस्तीको थलोमा भएको अरौरा नरसंहारमा परेकाप्रति श्रद्धाञ्जली व्यक्त गरेर लेखिएको कविता हो शब्दसुमन, कवि भन्छन् ः

मेरो छेवैको सेन्च्युरी ट्वान्टीफस्र्टको आकाशमा
जेम्स होम्सको रक्तरञ्जित बारुदको मुस्लो र अट्टहासभित्र
अरौरा नरसंहारमा परिणत भइसकेको बेला
म झल्याँस्स सपनाबाट विक्षिप्त नबन्दै
कैयन युवायुवती, बालबालिका र वयस्कको
जीवनलीला स्वाहा भैसकेछ,
अनाथ मृतकहरू
मेरो शब्दसुमन (पृ.१)

यसरी आफ्नो कुटीखेलो गर्ने थलोमा भएको विध्वंशबाट विक्षिप्त विश्वकर्मा थातथलोको चिन्ताले पनि उस्तै डढेका छन् । यसैक्रममा विवेकहीन राजनीतिले निम्त्याएका दुःखको चर्चा गर्दै जननी र जन्मभूमिप्रतिको प्रेम उस्तै रूपमा अभिव्यक्त गरेका छन् । यहाँको संस्कार, संस्कृति र प्रकृतिको चित्रण गरेका छन् । सबैभन्दा बढी त घरदेशको पीडाले रुनु परेको सन्दर्भमा लेख्छन् ः

दसैँ आउँछ, तिहार आउँछ, मेरो दिल उतै पुग्छ
इन्द्रजात्रा र भोटोजात्राको उल्लासमा मेरो दृष्टि उतै पुगेको हुन्छ
देउसी भैलो र तामाङसेलाको यादमा मस्त रमिरहेको हुन्छ
गौँथलीको चिरविरमा मेरो हृदय प्रफुल्ल बन्छ
शरीर परदेश रहेर के भो त
मन त मेरो आफ्नै जन्मस्थान पुगेको हुन्छ (पृ.३)

कवि विश्वकर्मा सच्चा प्रेमका पुजारी हुन् । यसैले आफ्नो जिन्दगीमा घटेका अनेक शृङ्गारिक प्रेमका संयोग–वियोगका सन्दर्भ भन्दा प्रेमका विविध सन्दर्भ राष्ट्रप्रेम, जन्मभूमिप्रेम, संस्कारप्रेम, संस्कृति र प्रकृति प्रेमका पुजारीका रूपमा आफूलाई उभ्याउँदै विविध कविता कोर्छन् ः

आफ्नो देशको केवल सम्झना बोक्दै
मेरो देशको गरीबीको गीत गाउँदै
म शून्यमा हराएँ (पृ.५)

ज्यान परदेशमा, मन घरदेशमा हुनुको पीडालाई उनले कवितामा जसरी अभिव्यक्त गरेका छन् । त्यसै गरेर विश्वको सर्वोच्च शिखर सगरमाथा रोइरहेको देख्दा । बुद्ध जन्मेको भूमि अर्काले खोसिदिएकोमा, नेपाललाई चिम्टिएर सानो बनाएकोमा भावविह्वल हुन्छन् र लेख्छन् ः

शान्तिप्रिय बुद्ध जन्मेको देशको पहिचान
कसैले खोसिसकेको छ
बुद्धको जन्मस्थान खोसिएर लुम्बिनी
भारत बसाइँ सरेको छ (पृ.७)

मान्छेको जिन्दगी कतै झरना जस्तो निश्चल, कतै मस्र्याङ्दी नदी जस्तो कलकल बग्नुपर्ने भन्दै विभिन्न शीर्षकमा कविता लेख्छन् । हेरौं एक टुक्राः

झरना

झङ्कार हुुँदै निरन्तर सुसाइरहन्छ
न घाम, न छाया, न जाडो, न चिसो
सदावहार कसैको मनोरमका लागि खुलिरहन्छ (पृ.१३)

समयको कालखण्डमा धेरै परिवर्तन भयो । तर समाजमा अझै जातभातमा छुवाछुत रहेकाप्रति विद्रोह गर्दै कवि रगत सबको रातै हुन्छ भन्दै धिक्कार्छन् र लेख्छन् ः

जन्म मात्रै फरक घरमा
लालाबाला सबै उस्तै
के थाहा ! त्यो नाबालकलाई
जन्मजातै अछुत बन्छ (पृ.१४)

हिजो बालखैमा हिँडेका धुलौटे माटा र बाटाका रुमानी यादले उनलाई दुःखी बनाएको छ । त्यसैको स्मरण गर्दै आजको रंगीन र संगीन जीवनयात्रालाई हेर्दा कवि मनमा भविष्यको खोजीमा निस्कदै गर्दा ती सुनसान घर र बस्ती देखेर उदेक लाग्छ अनि लेख्छन् ः

खेल्ने, रमाउने र जिस्किने
बालअनुहार निन्याउरो बनेको छ
हाँस्ने, हँसाउने र सदैव खुसी रहने अनुहारले आँसु बोकेको छ (पृ. २२)

यसरी कवि विश्वकर्माले जन्मभूमि र जननीको प्रेमसँगै त्यहाँको प्रकृतिको मनोरम दृश्यमा रमाउँदाका सन्दर्भलाई लिएर आफूलाई प्रकृतिप्रेमी र स्वच्छन्दवादी कविका रूपमा देखाउँदै कविता लेखेका छन् ।

हराभरा छ रमणीय लाग्छ जङ्गल वारि र पारि
झुलिरहेछ धानका बाला लर्की, फाँटमा सुनौलासरी (पृ.६५)

पछिल्लो समय सुन्दर शान्त विशाल नेपालमा विकृति–विसङ्गति बढ्दो छ । त्यसैप्रति आक्रोश पोख्दै लेख्छन् ः

खुलामञ्चको बीचबाट भाषण दिन बन्द गर प्रिये
स्वार्थी, चुसाहा नेताहरू अझै
देश तनमन चुसिरहेका छन् (पृ.२८)

वर्तमानमा नेपालीको जनजीवन अस्तव्यस्त छ । खराब राजनीतिक संस्कारले आम नेपालीको दुरावस्था बढ्दो छ । जनतालाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको छ । जनताका लागि बनाएको नियम, कानुन र संविधान भित्तामा मात्रै सजिएको जस्तो छ । जनताले सुख, शान्ति चमनचयनको अनुभूति गर्न पाएका छैनन् । समाजमा दिनप्रतिदिन असमानता बढ्दै छ । कहँी नभएको जात्रा हाँडीगाउँमा जस्तो चारैतिर बेइमानी, बदमासी, हाहाकार बढ्दो छ । देश शान्ति प्रक्रियामा गए पनि बन्दुकको मात बढिरहेको छ । कैयौँ नेपाली मर्दा देशले एउटा राजनेता जन्माउन नसकेकै हो कि ? हामी कहाँ खराब कर्म र संस्कार दिनप्रतिदिन मौलाएको भनेर उनलाई उदेक लाग्छ अनि लेख्छन् ः

जनआन्दोलनले हजारौं युवा गुमायो
तर एक सच्चा देशभक्त नेता जन्माउन सकेन
जनमुखी संविधान गर्भमै तुहिएको छ (पृ.३३)

मानवीय जीवन एउटा रंगमञ्च हो । जहाँ जिन्दगीका अनेक रंग देखिन्छन्, अनुभूति गरिन्छन् र भोगिन्छन् । आखिर कवि, कलाकार र लेखकले लेख्ने विषय भनेकै यिनै रंग हुन् । यसै क्रममा विश्वकर्माले आफ्नो जीवनलाई त्यही रूपमा पाएको हुनुपर्छ । यसैले आफ्नो कवितायात्राका सन्दर्भमा कहिले आफूलाई प्रेमका पुजारीका रूपमा प्रस्तुत गर्दछन् । कहिले स्वच्छन्दवादी कविका रूपमा । नेपालमा हुँदा अध्ययन र रोजगारीको शिलशिलामा देशका गाउँदेखि शहरसम्म डुलेर नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष नजिकैबाट अनुभूत गरेका उनी पोखराको सौन्दर्यले पनि मोहित भएका छन् र लेख्छन् ः

झुल्के घाममा हिमाल ती चाँदीसरी झुल्दछन्
पखेराका वरिपरि, लालीगुराँस फुल्छन्
मन सबको लोभ्याउने, सुन्दर डेभिडफल्स
हेरिरहुँ सबलाई लाग्ने मन, प्यारो डेभिडफल्स (पृ.६७)

विश्वकर्मा अहिले आम नेपालीको सपनाको शहर अमेरिकामा छन् । तर अमेरिका जानु मात्र ठूलो होइन् । त्यहाँ पुगेपछि आफूलाई स्थापित गराउन आम नेपालीले व्यहोनुपर्ने दुःख, पीडा, विरह र वेदनाका पक्ष कम दर्दनाक छैनन् । हामी अमेरिकालाई सुनको फुल पार्ने देशका रूपमा देख्छौं । देख्नु र भोग्नु फरक कुरा हो । विश्वकर्माले त्यो अवस्था राम्ररी देखे, भोगेका छन् । यसैले प्रवासमा रहँदा आइलाग्ने अनेक दुःख–कष्ट, हण्डर–ठक्कर र जिन्दगीका घन–चक्कर व्यहोरेर नै पदम आजका पदम भएका छन् । यसैले कवितामा प्रवासका पीडालाई सरल र तरल रूपमा प्रस्तुत गर्छन् ः

साथीसँगी बाल्यकालको याद मात्रै किन आउँछ ?
भाग्य मेरो यस्तै रैछ परदेशमा किन धाउँछ (पृ. ७६)

यसरी कवि विश्वकर्मा कहिले डायनाको स्मृतिमा डुब्छन् । कहिले धराशायी हुँदै गएको एल्लोस्टोनप्रति चिन्ता व्यक्त गर्दछन् ।

विश्वकर्माले जन्मभूमि, कर्मभूमि, जीवनयात्रा, आफूले देखेका दुर्दशा, भोगेका विकराल क्षणलाई लिएर धेरै कविता लेखेका छन् । कविताकै माध्यमबाट जन्मभूमिलाई प्रयोगशाला बनाएकोमा आक्रोश पोखेका छन् । नेपालीहरू सधैँ अर्काको गोटी बनेर हिँडेकामा चिन्ता व्यक्त गरेका छन् । छिमेकीले गरेको अन्याय र अत्याचार विरुद्ध एकताको सन्देश दिन नसक्दा नेपाल र नेपालीको स्वाभिमानमा कालो धब्बा लागेको देख्दा भावविह्वल बनेका छन् । यसैले उनी राष्ट्रप्रेमी, संस्कृतिप्रेमी र प्रकृतिप्रेमी कवि हुन् ।

विश्वकर्मा हरेक कवि कलाकारको सिर्जनशीलताको चर्चा गर्ने, लेख्न बाँकी रहेका कविता लेख्ने कवि हुन् । विडम्बना नचाहँदा नचाहँदै अव्यवस्था र अराजकताका बीच सुशासनको कामना गर्दै नयाँवर्षको शुभकामना दिनुपर्ने उदेक लाग्दो अवस्था देखेर उनी दिक्क हुन्छन् अनि कविता लेख्छन् ।

विश्वकर्मा अर्थहीन मायामा कुनै सुगन्ध र महङ्खव नदेख्ने कवि हुन्, यसैले त्यस्ता विषमतालाई लिएर मन छुने कविता लेखेका छन् । कविताकै सन्दर्भमा विश्वकर्माले कतै आफू टुहुरिदाको क्षणलाई अभिव्यक्त गरेका छन्, कतै जिन्दगीको अर्थ बुझ्न नसकेर मथिङ्गल हल्लिएका सन्दर्भमा कविता लेखेका छन् । जननी र जन्मभूमिको स्नेहले हुरुक्क हुने विश्वकर्मा घमण्ड, आडम्बर, अन्याय, अत्याचारले दुनियाँ जलेको देख्दा, आफन्तमा अपनत्व नपाउँदा, चारैतिर घात, प्रतिघात मौलाएको देखेर बाँच्नु भन्दा मर्नु बेस भनेर मृत्यु चाहने कवि हुन् यसैले लेख्छन् ः

म टाढाटाढा बन्न पुगेको छु
जीवनदेखि हार खाइसकेँ
भगवान्
त्यसैले अब जीवन होइन
केवल मृत्यु चाहेको छु, मात्र मृत्यु (पृ.५१)

यसरी सरल भाषाशैलीमा तरल कविता लेख्ने विश्वकर्माले कवि महान् हुनेमा दुई मत राख्दैनन् । उनी अग्रजप्रति सम्मान, अनुजप्रति स्नेह र हाम्रा धरोहर जसले आजको नेपाल निर्माणका लागि आफ्नो प्राणको आहुति दिए तीप्रति श्रद्धा व्यक्त गर्ने कवि हुन् । अन्त्यमा के भन्न सकिन्छ भने, हिजो लमजुङको धमिली कुवादेखि आज सपनाको देश अमेरिकाको कोलोराडोसम्म पुग्दा उनले नजिकैबाट देखेका, आफैले भोगेका र अनुभूत गरेका स्पर्शलाई कविताका पंक्तिमा बान्की मिलाएर सर्जकका खान्की बनाएकाले उनका कविता भरिला, रसिला र स्वादिला छन् । यसरी नै उनको साधना थप सिर्जनशील भएर मौलाउँदै जाओस् बाँकी जीवनको सफलताको शुभकामना ।

Related News

सम्बन्धित समाचार

hero news full width