मेरो कुरो

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७०

म मानुङ्मा जन्मिएको मान्छे भएकाले मलाई चिन्ने जान्ने मान्छेहरूले मानुङ्ङे र पुरानो थातथलो ‘खन’ भन्ने ठाउँ भएकाले मलाई खँदाल भन्छन्। म हिजोआज पोखराको बगरमा बनाइएको ‘भुइँको ठूलो मान्छे’ नामको ठूला मान्छेले पढ्ने र पढाउने घरमा पढाउँछु । मैले जे बोली बोल्छु, त्यही बोलीका कुराहरू पढाउँछु। अब कुरा बुझियो होला, म कहाँको मान्छे हुँ के-के-के काम गर्छु, के कुरा पढाउँछु भन्ने कुरा।

हिजोआज मैले बोल्ने बोलीमा अरूको बोली मिसियो अरे। खास गरी मैले बोल्ने बोलीमा गोरा छाला भएका मान्छेले बोल्ने कुरा धेरै नै मिसिए रे, अनि हाम्रै गाउँघरका पुरेतले जनै लगाइदिँदा र दुलही भित्र्याउँदाको बखतमा बोल्ने गरेको बोली त झन् धेरै आए रे, त्यसैले मेरो बोली बिटुलो भयो रे। अब बोली चोख्याउनु पर्‍यो भनेर ढिलै भए तापनि धेरै कुरौटेहरू लागिपरेका छन्।

बनसाङ्ग्लेले घर साङ्ग्लेलाई लखेट्न थाल्यो भने सखापै पार्छ रे, बनमासाले वन स्वात्तै पारेझैं हाम्रो बोलीलाई पनि गोरेहरूले बोल्ने बोलीले र पुरेतहरूले बोल्ने बोलीले वन साङ्ग्लेकै काम गरेका छन् रे। त्यसै अर्घेलोसँग पौंठेजोरी खेल्न भनेर जुमुराएका जर्खरेहरूलाई स्याबास भन्नै पर्ला।

सधैँ मैले बोल्ने गरेको बोलीलाई बाजले परेवालाई ठुँगेझैं ठुँगेकै हुन्। बाजेहरूले पनि हत्केलाको झिंगालाई किचिकमिचिक पारेर मारेझैं मारेकै हुन्। बिचरा बाजेहरू त अब त आफै मरेजस्ता भएका छन्। रूखको फेद काटिएपछि हाँगा/पात पनि त्यसै मर्ने भए, बिचरा बाजेहरूको बिचल्ली पनि हिजोआज त टिठ लाग्दो भएको छ, उनीहरुको माऊ बोली मरेपछि उनीहरु हेर्न लायकका भएका छन्। बाजहरू भने रछ्यानका मूला मौलाएझैं मौलाएकै छन्। अर्काको घर भाँड्न सकियो भने घरभँडुवालाई साह्रै नै मज्जा हुन्छ रे। यी घर भँडुवाहरूले तलदेखि माथिसम्मका आफ्ना भरौटेहरूलाई तलुवा चटाएका चटायै छन्। अर्काको तलाउ चाट्नेले आफ्नो भलो/कुभलो भन्ने कुरा बुझनै सक्तैनन्। यी बाजका पछिलागेका परेवाहरूले आफै बाजको पन्जामा परेको थाहा नै पाएका छैनन्।

जुन आमाको काखमा जन्मियो, त्यसै आमाको काखमा आची गर्नेलाई के भन्ने र खोइ – जुन थालमा खाना खायो त्यसै थालमा थुःथुः गर्ने लाई मरेस भनेर दुत्कार्दै घारे हात लगाएरमात्र पुग्ला के –

यी बाजहरूले त के-के भन्छन् भन्छन् के-के कुरो बुझिसाद्दे नै छैन । अब त आफूले भनिराखेको आमालाई आमा नभन्ने रे, आफ्नो बावुलाई ‘बा’ भन्दा पाखे भइन्छ रे। स्वास्नीको भाइलाई पनि भाइ नै भन्ने रे। आफ्नै आमाको पेटबाट जन्मेको भाइलाई पनि भाइ नै भन्ने रे। लोग्नेको दाजु जेठाजु पनि दाइ, आफ्नै आमाबाट आफूभन्दा पहिले जन्मेकालाई पनि दाइ नै भन्ने रे। लोग्नेको आमा स्वास्नीकी पनि आमा, स्वास्नीकी आमा लोग्नेको पनि आमा हुन्छिन् रे। गोरेहरूको बोलीमा सासू/ससुरा, देवर देवरानी, जेठाजु जेठानी, साला साली छैनन् भन्दैमा हामीले पनि आफ्ना यी सबै नातेदारलाई मार्नुहुन्छ र ? गोराहरूको जिउको छाला सेतो छ भन्दैमा गहुँ गोरो छाला भएका हामीहरूले पनि छालालाई घोटी घोटी सेतो बनाउने हो र ? गहुँ गोरो छाला त अलि अलि भए पनि गोरो होला तर होचो मान्छे गोरेजस्तै लाङ्घारे बन्नलाई खुट्टै गाँस्न पर्ला राम्रैसँग खुट्टा गाँस्न मिल्ला र ?

बाजेका नङ्गराले कोतरेर बाजका ठुँगाले ठुँगेर मेरो भाखालाई छिया छिया पारिसके भनेर मैले जतिसुकै डाँको छोडेर कोकोहोलो हाले पनि सुन्ने कोही छैनन् । हिजोआजका पढेलेखेका भनाउँदा साइँधुवाहरू हाम्रो बोली ‘क्वाँटी’ भयो, निख्खरा पार्नुपर्‍यो भनेर जतिसुकै साखुल्ले भए तापनि यी साइँधुवाहरूलाई कठै बरा ∕ भन्नु हुँदैन। यिनीहरूलाई त गोहीको आँसु चुहाउने नकचरा भन्नुपर्छ नकचरा। तपाईले कहिलेकाहीं’ आफै बोक्सी आपैm झाँक्री भन्नुहुन्छ नि त्यो भनाइ त यिनै नकचराहरूलाई औंल्याएर भनिएको हो, बुझनु भएन कि ?

यी नकचराहरूले बेलैमा चेतेको भए मेरो बोली हिजोआज यसरी भँडकारामा पर्थ्याे र ? बाजेले अँचेटेको मेरो छोराले बोलेको बोली आधा बुझछु, आधा बुझि्दनँ । छोरीले बोलेको बोली पनि थोरथोरै बुझछु धेरै त बुझदै बुझि्दन। इसाराले मात्र काम चलाउँछु। बूढाबूढीले खुइय्य गरेर ‘आँगन भयो, पर्देस्’ भनेजस्तै भएको छ मलाई। यसरी आफैलाई अधमरा पार्छन् मोरामोरीले भन्ने थाहा पाएको भए यी छोराछोरी किन जन्माउँथे होला। म त कठैबरा भएको छु कठै बरा। यी मेरा ‘हुतीहारा’ छोरी र छोराहरू अर्काका छोराछोरीका बोलाउने इसारालाई आफ्नो पारेर बोलाउँछन् गोरेहरूले टाढासम्म सुन्न सजिलो पारेर बनाएको आर्जनलाई टेलिफोन भने । मेरा छोरीछोरा त्यसैलाई लाजै नमानी भन्ने गर्छन् “दूर सञ्चार”। टाढाको कुरो आफ्नै अगाडिको जस्तो देखिनेलाई गोरेहरू टेलिभिजन भन्दछन्, यी मेरा नामर्द छोराछोरीहरू बाजका कुरालाई बाजेको कुरामा बदलेर ‘दूरर्दर्शन’ भन्छन्। म त यी बजिया/बजिनीहरूलाई ‘थुइय्य’ भन्दै भनिदिन्छु ए हिजडा हो – जुन बा आमाले छोराछोरी पाउँछन् तिनैलाई छोरा छोरीलाई के भनेर बोलाउने भन्ने हक छ, अरूलाई छैन। कसैको नाम राख्ने धोको छ भने आफैले जन्माउनु पर्छ छोराछोरी र भन्नुपर्छ ए फलाना थोक हो।

ए अर्काको जुठा पुरामा रमाउनेहरू हो – तिमीहरूले आफू जन्मिएको थलालाई बिर्सिएका छौ, आफ्नो भलो हुने कुरोलाई भुलेका छौ। ए कलबिखहरू हो – “मान्छेको जरो उखेल्ने हो भने पहिलो काम उसको चाडबाड बिथोल्नुपर्छ, उसले बोल्ने गरेको बोलीमा अर्कै लबजका कुरा मिसाइदिनुपर्छ, उसले लगाउने लुगामा अर्कै तुना फेरिदिनु पर्छ। यसो गरियो भने ऊ नक्कली मुजूर हुन पुग्छ र ‘घर न घाट’ को हुन्छ भन्ने’ त्रि्रा सत्तुरका पासामा फसेका छौ। त्रि्रा खोपडीमा गिदी छ भने यसबाट टाढा हुने बाटो खोज। गिदीमै लिदी मिसिएको भए कसको के लाग्छ र खोइ ?

Related News

सम्बन्धित समाचार

hero news full width