प्रादेशिक संवृद्धिका लागि पर्यटन विकासका अवसरहरु

आदर्श समाज सम्वाददाता
जेठ १, २०७३

. विषय प्रवेशः

लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको संविधान-२०७२ जारी भई कार्यान्वयनको चरणमा अगाडि बढी रहेको छ। यसले नेपाललाई सातवटा प्रादेशिक संरचनामा विभाजन गरी विकास निर्माणमा चुस्तताका साथै स्थानीय समुदायलाई शासनमा प्रत्यक्ष संलग्न गराउने अभ्रि्राय राखेको देखिन्छ। पहिचान र सामर्थ्यका आधारमा सन्तुलन मिलाई राज्यको पुनसंरचना गर्नु पर्ने घनिभूत छलफलबाट संविधान सभाका करिव ९० प्रतिशत सदस्यहरुको भारी बहुमतको समर्थनका साथ वर्तमान संविधान जारी भएको हो। यस सर्न्दर्भलाई हेर्दा संविधान एक गतिशील दस्तावेजका कारण सामान्य संशोधन एवं परिमार्जन भए पनि ७ प्रदेशयुक्त प्रादेशिक संरचना सहितको अवधारणा अनुरुप देश अगाडि बढ्ने विषयमा कुनै सन्देह देखिदैन। यस अर्थमा संविधानले व्यवस्था गरे अनुरुपका प्रत्येक प्रदेशहरुमा स्थानीय स्तरमा विकास निर्माणका संभावना र अवसरहरु के कस्तो अवस्थामा रहेको छ – भनी चर्चा परिचर्चा सुरु हुनुलाई सान्दर्भिक रुपमा लिन सकिन्छ। यस सर्न्दर्भमा गण्डकी तथा धौलागिरी अन्चलका १० जिल्ला र नवलपरासी जिल्लाको दाउन्ने पर्वत पूर्वको भू-भागलाई समेत मिलाएर बनाइएको ४ नं. प्रदेशको पर्यटन विकासका अवशरका बारेमा संक्षेपमा प्रकाश पार्ने प्रयास यहाँ गरिएको छ।

. देश विकासका आधारः

कुनै पनि देशको आर्थिक तथा सामाजिक विकासका लागि त्यहाँ उपलब्ध प्राकृतिक स्रोत साधन र सामाजिक जन जीवनको संरचना समेतको भूमिका महत्वपूर्ण रहने गर्दछ। कृषिजन्य भूमि, वन वातावरण र जलश्रोत जस्ता स्रोत साधनमा नेपालको राम्रो पहुँच रहेको छ। हाम्रो देशको सर्न्दर्भमा आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई अपेक्षाकृत आधुनिक प्रविधिको प्रयोग गरी उत्पादकत्व बृद्धि गर्न सकिएको छैन । यद्यपि नेपालमा कृषि क्षेत्रले कूल ग्रार्हस्थ उत्पादनको सर्वाधिक ३३.१ प्रतिशत हिस्सा ओगट्दछ तर पनि भौगोलिक विकटता, खेतीयोग्य जमिनको अभाव, सिंचाईको असुविधा, उन्नत विउ मल एवं कृषि औजारको कमी, बढ्दो शहरीकरण र भू-माफियाहरुको चलखेलबाट समेत खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै उत्पादनमा नकरात्मक असर परिरहेकेा छ । देशको आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुर्‍याउन सक्ने अको प्रमुख क्षेत्र भनेको जलस्रोत हो । विशेषगरी विकट भौगोलिक परिवेश पूर्वाधार विकासको समस्या र आवश्यक पूँजी तथा प्रविधिको अभावमा जलस्रोतलाई अपेक्षाकृत विकास गर्न सकिएको छैन । कतिपय सवालमा छिमेकी राष्ट्र भारतसँग भएका असमान सन्धि सम्झौताका कारण जलस्रोतलाई बहुपक्षीय रुपमा उपयोग गर्न समेत कठिनाई भइरहेको छ । जलस्रोत विकासले अपेक्षा गर्ने ठूलो परिमाणको पूँजी आधुनिक एवं उच्चस्तरको प्रविधि र दक्ष जनशक्तिको आवश्यकताका आधारमा पनि जलस्रोतलाई सोचे अनुरुप उपयोगमा ल्याउन सकिएको छैन ।

देशमा उपलब्ध प्राकृतिक तथा साँस्कृतिक स्रोत साधनको अवस्थालाई हेर्दा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा योगदान गर्न सक्ने अको महत्वपूर्ण क्षेत्र भनेको पर्यटन नै हो । तुलनात्मकरुपमा मध्यम स्तरको जनशक्ति एवं उपलब्ध पुँजी र प्रविधिको यथोचित उपयोगबाट पर्यटन व्यवसाय संचालन गर्न सकिने हुँदा नेपालको सर्न्दर्भमा यो क्षेत्र बढी अनुकुल देखिन्छ। अको तर्फ आतिथ्यता प्रदान गर्ने श्रममुलक व्यवसायमा आधारित भएकोलेे देशमा रोजगारी प्रवर्द्धनका लागि समेत पर्यटन क्षेत्र नै उपयुक्त रहेको छ। हिमाल पहाड तराइ सबै भौगोलिक क्षेत्रमा त्यहाँ उपलब्ध प्राकृतिक विविधता र साँस्कृतिक वैभव र सम्पदाले भरिपूर्ण भएका कारणले पनि पर्यटन नेपालको आर्थिक तथा सामाजिक विकासको आधार बन्ने बलियो संभावना रहेको छ।

. विकासको वाहक पर्यटन

अनौपचारिक रुपमा पर्यटनको शुरुवात प्राचिन मानव सभ्यतासँगै शुरु भएको पाइन्छ। जब मानिसहरु आफु बसेको स्थानीय ठाउँभन्दा बाहिर कुनै विषयको खोजी अनुसन्धान एवं धार्मिक, व्यवसायिक, साहसिक आदि कार्यमा सरिक हुन्छन्, त्यही गतिविधिबाट पर्यटनको शुरुवात हुन्छ। यस्ता गतिविधि र क्रियाकलापमा मानिसहरु ऐतिहासिक काल खण्ड देखि नै सहभागी हुँदै आउदा मानव विकासको सभ्यता आज यहाँसम्म आइपुगेको छ। यात्रा वा भ्रमणमा सरिक हुने ब्यक्तिलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापित व्यवसायिक सेवा सुविधा प्रदान गर्ने गतिविधिलाई पर्यटनको रुपमा परिभााषित गरिएको छ। सामान्यतया मनोरन्जनका लागि भ्रमण गर्ने पाहुना वा यात्री, तिनै पाहुनालाई स्वागत सत्कार र आतिथ्यता प्रदान गर्ने स्थानीय समुदाय र यी दुबै पक्षका बीच आवश्यक सर्ंपर्क र व्यवस्थापन गर्ने प्रतिनिधि संस्था मार्फत गरिने गतिविधि एवं क्रियाकलापलाई नै पर्यटन भनिन्छ। अर्थात होस्ट, गेष्ट र एजेण्टको ९ज्यकतक, न्गभकतक ७ ब्नभलतक० त्रिपक्षीय संयोजन मार्फत गरिने सेवा सुविधा सम्बन्धित गतिविधि नै पर्यटन हो।

पर्यटनको ऐतिहासिक विकासक्रमलाई नियाल्दा १९औं शताब्दिको पूर्वाद्धमा युरोपबाट भएको भए पनि नेपालको सर्न्दर्भमा सन् १९५० मा साहसिक गतिविधियुक्त हिमाल आरोहणसँगै पर्यटकहरुको औपचारिक आवगमनको सुरुवात भएको हो। त्यसमा पनि यस ४ नं. प्रदेशमा अवस्थित अन्नपूर्ण हिमालको सफल आरोहण पछि मात्र नेपालका पर्यटकिय सम्पदाहरुको बारेमा बाहिरी संसारलाई जानकारी भएको हो। प|mान्सेली नागरिक मौरिस हजोर्गको नेतृत्वमा गरिएको उक्त सफल आरोहणबाट नै ८००० मी. माथिका हिमाल आरोहण गर्ने पहिलो इतिहास रचिएको थियो। यद्यपि सन् १९६० को दशकबाट मात्र नेपालमा सामान्य व्यवसायिक पर्यटनको शुरुवात हुँदै १९८० को दशकमा समुहगत पर्यटनका सकारात्मक र नकारात्मक प्रभाव पर्न थालेको देखिन्छ।

वर्तमान समयसम्म आईपुग्दा पर्यटन संसारको सबै भन्दा ठुलो उद्योगको रुपमा स्थापित भएको छ जुन पछिल्लो छ दशकसम्म लगातार औसत ४.३ प्रतिशतको वाषिर्क वृद्धिदरमा बढी रहेको छ भने यसले विश्व अर्थतन्त्रको गार्हस्थ उत्पादनमा समेत करिव १० प्रतिशतको भाग लिएको छ। सन् २०१५ सम्म आइ पुग्दा विश्व पर्यटन बजारमा १ अरब २० करोड पर्यटकहरु मार्फत विश्वका करोडौ मानिसहरु प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा लाभान्वित भएका छन्। अन्तराष्ट्रिय पर्यटन बजारका करिव २२ प्रतिशत पर्यटकहरुको रोजाइ एशिया प्याशिफिक क्षेत्र रहेको छ। एशिया प्यासिफिक पर्यटन बजारको प्रभाव नेपालमा पर्यटन विकासका लागि एउटा अनुकुल परिस्थितिको रुपमा लिन सकिन्छ। डिसेम्बर २०१२ मा अन्तराष्ट्रिय पर्यटकहरुको संख्या एक अरब पुगेको सर्न्दर्भमा संयुक्त राष्ट संघ विश्व पर्यटन संगठनले “एक अरब पर्यटकः एक अरब अबसर” भन्ने नाराका साथ पर्यटन विकासको प्रभाव र महत्वलाई उजागर गरेको थियो। उल्लेखित विवरणले पनि बदलिदो विश्व परिवेशमा पर्यटन उद्योगलाई  भरपुर अवसर र संभावना बोकेको व्यवसायका रुपमा लिन सकिन्छ।

नेपालमा पुर्खाको पौरख र प्रकृतिको वरदानले समेत साथ दिएको क्षेत्र पर्यटन हो, तर यसलाई सोचे अनुरुप प्रतिफल लिने गरी व्यवसायिक रुपमा उपयोग गर्न भने सकिएको छैन। करिव ८ लाखको संख्यामा भित्रिने बाहृय पर्यटकहरु र फस्टाउँदै गएको आन्तरिक पर्यटनको बजारले यसको उज्यालो भविष्यको संकेत गर्दछ। नेपालमा करिव ५१ प्रतिशत बाह्य पर्यटक मनोरन्जन गरी विदा मनाउन आउने गर्दछन भने उनीहरुको औसत वसाई १२.५ दिन रहने गर्दछ। ४ लाख ८७ हजार मानिसहरुलाई प्रत्यक्ष लाभ पुर्याउने पर्यटनले कुल ग्राहस्थ उत्पादनमा २.३ प्रतिसतको  योगदान गरेको छ। त्यस्तै देशमा वाषिर्क रु ४६,३७५ करोड आम्दानी भित्राउने पर्यटन क्षेत्रले वैदेशिक विनिमयमा ८.२ प्रतिशतको योगदान पुर्याएको छ।

. पर्यटकीय दृष्टिमा ४ नं. प्रदेश

प्राकृतिक सुन्दरता सांस्कृतिक बैभव र साहसिक गतिविधिहरु नै पर्यटन विकासका आधारशिला हुन्। यिनै श्रोतहरुको प्रचुरताले पर्यटन विकासको वलियो संभावना यस प्रदेशमा रहेको छ। हिमाल हाम्रो गौरव मात्र नभएर आर्थिक तथा सामाजिक विकासको आधार समेत हो। नेपालमा पर्यटकीय आकर्षणको एक महत्वपूर्ण श्रोतका रुपमा हिमालय पर्वतमाला रहेको छ। नेपाल आउने पर्यटक मध्ये करिव ३१ प्रतिशत पर्यटक पर्वतारोहण र पदयात्रा जस्ता साहसिक गतिविधिमा सरिक हुन आउछन्। तर अन्नपूर्ण हिमालय श्रृङ्खलाको उत्तर दक्षिणी भूभागलाई आधार बनाएर बनाइएको ४ नं. प्रदेशमा आउने पर्यटकहरु मध्ये करिव ६० प्रतिशत साहसिक गतिविधिका लागि आएका एक अनुसन्धानले देखाएको छ्र। धौलागिरि, अन्नपूर्ण र मनासुलु जस्ता ८००० मि. भन्दा माथिका हिम चुचुरा सहितका मनोरोम हिमचुलीहरु यस प्रदेशमा पर्ने भएकोले हिमाल आरोहण देखि तिनै हिमालको आधार इलाका सम्मको पदयात्राका लागि यति रमणीय स्थान नेपालमा अन्यत्र छैन। ५४१६ मि. उचाइमा रहेको मनाङ र मुस्ताङ जिल्लाको सिमाना स्थित थोरङ्ला पास साहसिक पदयात्रीहरुले सामान्य अवस्थामा पद यात्रा गर्न सक्ने संसार कै एक उच्चतम विन्दु हो। राउण्ड अन्नपूर्ण पदयात्राको उच्चतम विन्दु रहेको यो हिमाली भन्ज्याङको तल आधार क्षेत्रहरुले अलौकिक भूवनावट र जैविक विविधताको आधारमा संसार कै १० मध्ये एक उत्कृष्ट गन्तव्यका रुपमा पहिचान बनाएका छन्।

कालीगण्डकी, मस्र्याङदी नदी र तिनका सहायक नदीहरुले बनाएका उपत्यकाहरु विभिन्न सांस्कृतिक गतिविधिका धनी आदिवासी र जनजातीहरुको थात थलोको रुपमा रहेका छन्। जैविक विविधतायुक्त जलाधार क्षेत्र, वन जंगल, वन्य जन्तु र उर्वर खेती योग्य भूभि रहेका यी उपत्यकाहरुमा रहेका समुदायहरुको सामाजिक जीवन शैली समेत पर्यटकहरुका रुचीका विषय वनेका छन्। नेपालमा स्याउ उत्पादन राम्रो हुने एवम् दुर्लभ हिमाली जनावर हरिण पाइने हिमाली उपत्यका मार्फा देखि तिब्बतीयन भूमि र संस्कृतिको झल्को दिने उपल्लो मुस्ताङको कोरलापास हुँदै कैलाश मानसरोवरसम्मको यात्रा तय गर्ने महत्वपूर्ण नाका यसै प्रदेशमा रहेको छ। सांस्कृतिक रुपमा मुक्तिनाथ दामोदर कुण्ड, देवघाट देखि वाल्मिकी आश्रम रहेको त्रिवेणी सम्म फैलिएको यो प्रदेश विभिन्न धार्मिक तथा ऐतिहासिक स्थानहरुको समेत धनी रहेको छ। नेपाल कै एक मात्र शिकार आरक्षण ढोरपाटन देखि मनाङ तथा गोरखा जिल्ला स्थित हिमाली वस्तीहरु साहसिक पर्यटकका लागि रुचीपूर्ण गन्तव्य रहँदै आएका छन्। नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रहरुले भरिपूर्ण रहेको हूदा जैविक तथा वातवरणीय सन्तुलनका लागि समेत अनुकुल रहेको छ। भारत र चिन दुवै तर्फका धार्मिक तथा साहसिक पर्यटकहरुलाई आवगमन सुविधा उपलब्ध गराउन सामर्थ्य राख्ने यो प्रदेश पर्यटन विकासका दृष्टिमा बढी महत्वपूर्ण रहेको देखिन्छ।

नेपालको सर्न्दर्भमा पर्यटनलाई घरेलु तथा कृषि जन्य प्रशोधन उद्योगहरुको पनि उद्योग मानिने हुनाले हाम्रो प्रदेशको सर्न्दर्भमा समेत तदअनुकुलको पर्यटन विकास अपरिहार्य देखिन्छ। प्रदेशमा दिगो पर्यटन विकासका लागि साधनहरुको दीघकालीन उपयोग, जैविक विविधताको व्यवस्थापन, स्थानीय समुदायको प्रत्यक्ष एवं सक्रिय संलग्नता, पर्यटनको जिम्मेवारीपूर्ण बजारीकरण, क्रियाशील जनशक्तिलाई तालिम र अनुसन्धानमूलक कार्यक्रमको सञ्चालन जस्ता विषयहरुलाई अगाडि वढाउनु आवश्यक छ। उल्लेखित अवधारणा र सिद्धान्तलाई अवलम्वन गरेर मात्र हामी प्रदेशमा पर्यटनको दिगो विकास एवं व्यवस्थापन गर्न सक्छौ।  सरकारी, नीजि र सार्वजनिक क्षेत्र बीचको उपयुक्त संयन्त्र मार्फत एकीकृत एवं योजनाबद्ध रुपमा क्रियाशील हुँदै पर्यटनलाई आम सरोकारको विषय बनाउने गरी घरेलु तथा साना उद्योग र कृषि क्षेत्रसँग जोडी तदअनुकुलको नीति तथा कार्यक्रममा जोड दिनु पर्ने देखिन्छ।

नेपालमा राज्यले अवलम्वन गरेको पर्यटन नीति २०६५ अनुरुप पर्यटन विकास तथा व्यवस्थापन योजना तयार पारी कार्यान्वयन गर्न सक्दा पर्यटनको दीगो विकास संभव हुने देखिन्छ। यस सर्न्दर्भमा यस प्रदेशको पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सबै पक्षको सक्रिय संलग्नतामा तयार पारिने योजनाबाट मात्र अपेक्षित उद्देश्यहरु हासिल हुन सक्दछन्। यसका साथै प्रदेशको पर्यटन प्रवर्द्धनका सर्न्दर्भमा नेपाल स्थित विदेशी कुटनैतिक नियोगहरु तथा अन्तराष्ट्रिय सञ्चार माध्यम र विदेश स्थित नेपाली राजदुतावास तथा गैर अवासीय नेपाली संघका कार्यालयहरुमा पर्यटन डेस्क नै राखी यस प्रदेशका अलौकिक एवं सुन्दर पर्यटकीय संपदाहरुको बारेमा यथार्थ जानकारी प्रदान गरी बिश्व पर्यटन बजारमा नेपालको साथ साथै यस प्रदेशको पहुँच पुर्‍याउन पहल गर्नु पर्ने देखिन्छ।

(लेखकः पोखरा पर्यटन परिषद्का सल्लाहकार हुन्। सं)

Related News

सम्बन्धित समाचार

hero news full width