परिवारको खम्बा ढल्दा

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०

बेगनासकी एउटी केटी बिहे गरेर पस्र्याङको कोइराला परिवारमा जाने निधो भएको थियो । जन्मेको परिवार छाडेर नयाँ परिवारमा जानुअघि मनमा अनेकखाले तर्कना उब्जने नै भयो । अन्तत बेहुली बनेर माइतीघरबाट अन्मिने दिन आयो । हजुरआमा, आमा र समाजका सबैजसो महिलाहरूको नियति नै हो यो । १८ वर्ष अघिका ती दिन सम्झँदा अहिले आफैंलाई अनौठो लाग्छ । परिवारको चालचलन फरक हुने नै भयो । त्यसैमा आफूलाई अभ्यस्त बनाउनु नै थियो ।

त्यसो त सम्बन्धको सीमा समाजले निर्धारण गर्छ । सम्बन्धकै बारेमा समाजले निर्धारण गरेका रुढीवादी छेकबार भत्काउने पनि हामी नै हो । मेरा पति नगेन्द्र परिवारको कान्छो छोरा । २ जना दाजुहरू रमेश र लोकेन्द्र । जेठाजु र भाइबुहारीबीचको सीमा हाम्रो परिवारमा पनि कोरिएकै थियो । जेठो दाजु रमेश घरबाहिर रहनुभयो । हामी सँगै रह्यौं माइलो दाजु लोकेन्द्रसँग । जेठाजुसँग बुहारी छोइनु हुँदैन भन्ने चलन हाम्रै परिवारमा पनि थियो । दसैंका दिन टीकासमेत लगाइदिन नहुने रे । जेठाजुले दुनामा टीका लगाइदिने, त्यही टीका बुहारीले लगाइदिने चलन थियो । जेठाजु र बुहारीबीचको सम्बन्धलाई सहज बनाउनुपर्छ भन्ने लाग्थ्यो मलाई । मेरै आग्रहअनुसार उहाँ मलाई टीका लगाइदिन तयार हुनुभयो । पारिवारिक व्यवहार होस् या व्यावसायिक सुरुआत, छोराहरूको पढाइदेखि ससना विषयमा हामीबीच सरसल्लाह हुन्थ्यो । मलाई असजिलो लागेका कतिपय विषयलाई पनि उहाँले नै सहज बनाइदिनुभयो । घर व्यवहारका बारेमा श्रीमान् भन्दा धेरै सल्लाह उहाँसँग हुन्थ्यो । नातामा त हामी जेठाजु बुहारी ।

हँसिलो अनुहार भएको फोटोमा माला लगाएको देख्दा झसङ्ग हुन्छु, उहाँ हुनुहुन्न भन्ने विश्वासै लागेको छैन मलाई

हरेक प्रकारका समस्या सुल्झाउन सघाउने उहाँ र म जहिल्यै साथीजस्तो रह्यौं । मेरो राजनीतिक पृष्ठभूमि श्रीमान् र जेठाजुको भन्दा फरक थियो । फरक पार्टी नै भए पनि अरु बेला परिवेश सहज नै हुन्थ्यो । तर जब कुनै चुनाव आउँछ, त्यतिबेला भने अचम्मैको प्रतिस्पर्धात्मक भावना जागृत हुन्थ्यो । दाजु लोकेन्द्र र म राजनीतिका बारेमा बहस गथ्र्याैं, घरिघरि चर्काचर्की पनि हुन्थ्यो । तर त्यसले दुश्मनीको रुप कहिल्यै लिएन पाएन । आखिर परिवारबाट पाएको विश्सास थियो मभित्र । सबैको साथ सहयोग जो थियो । चुनाव सकिएपछि उसैगरी समीक्षा गरेर सम्बन्धलाई सहज बनाउँथ्यौं हामी । पार्टी नै फरक भए पनि राजनीतिक रुपमा अगाडि बढ्न जहिल्यै हौस्याइरहनुभयो । म राजनीतिमा अगाडि बढेको देख्न चाहनुहुन्थ्यो । सानैदेखि नेपाल विद्यार्थी संघमा लागेर संगठन विस्तारमा लाग्नुहुने उहाँ व्यक्तिगत रुपमा पदका लागि आशक्त भएको मैले कहिल्यै पाइनँ । बरु राजनीतिको पर्दा पछाडि बसेर पार्टी र संगठनलाई सुदृढ पार्न नै उहाँ क्रियाशील रहनुभयो । १२ मंसिर २०८० को बिहान हाम्रो परिवारका लागि कालो दिन बनेर आयो । नेकपा एमालेको अभियानका क्रममा म संगठनको जिम्मेवारीअनुसार दार्चुला पुगेकी थिएँ । पोखराबाट हिँडेको २ दिनमा पुगिएको थियो, दार्चुला । फोनमा परिवारसँग कुरा गरेर छिट्टै सुतियो । २ दिनको थकान जो थियो । बेलैमा सुतेकी मलाई राति २ बजेदेखि नै निद्राले छाडेको थियो । किन किन छटपटी बढेको थियो । ब्युँझिनुअघि असिनपसिन भएको रहेछु । त्यसो त २÷४ दिन अगाडि देखि नै मेलै नराम्रो सपना देखिरहेकी थिएँ । आफन्तहरूको मृत्यु भएको देख्थें । आखिर त्यो संकेत आफ्नै परिवारमाथि बज्रपात पार्न देखिएको रहेछ ।

बिहानको ७ बजेतिर पोखराबाट खबर आयो, दाजु लोकेन्द्रको स्वास्थ्य अवस्था राम्रो छैन भनेर । छातीमा असहज भएपछि उहाँलाई फिस्टेल हस्पिटल लगिएछ । हस्पिटल जानेबेलासम्म उहाँ हिँड्दै हुनुहुन्थ्यो । उपचार सुरु गर्दा नगर्दै उहाँलाई हार्टअट्याक भयो । जसका कारण हाम्रो परिवारको बत्ती निभ्यो, खम्बा ढल्यो । जसै मैले खबर पाएँ, संसारै अँध्यारो भयो । के गरौं र कसो गरौं भयो । मिल्ने भए पखेटा हालेर उडेर भर्खरै पोखरा पुगौं भयो । तर पोखराबाट सयौं किलोमिटर पर थिएँ म । जहाँबाट पोखर आउन त्यति सहज थिएन । बीचबीचमा कतिवटा गाडी फेरेर २६÷२७ घन्टामा कसरी पोखरा आइपुगें, आफैंलाई थाहा छैन । १८ वर्षदेखि लगातारको साथ टुट्ने बेलामा म दाजुसँगै हुन पाइन् । अरु त छाडिदिउँ अन्तिम अवस्थामा उहाँको मुख समेत हेर्न मैले पाइनँ । जीन्दगीभरको पछुतो नै यही छ मेरो । हँसिलो अनुहार भएको फोटोमा माला लगाएको देख्दा बेला बेलामा मन झसँग हुन्छ, उहाँ हुनुहुन्न भन्ने विश्वासै लागेको छैन मलाई । घरमा काम गरिरहेका बेला पनि कञ्चन भन्दै बोलाएजस्तो लाग्छ । बेस्सरी चिच्याएर बोलाउन म लाग्छ, तर सुनिदिने कोही छैन । जीवनभर नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा लागेर पर्दा पछाडिको हिरो बनिरहनुभएका उहाँको योगदानलाई पार्टीपंक्तिले कसरी मूल्यांकन गर्छ, त्यो त हेर्न नै बाँकी छ । समवेदना र श्रद्धाञ्जलीका लागि आउनुभएका कांग्रेसका नेतागणलाई मैले भनेकी छु, ५० आसपास उमेर भएको जुझारु कार्यकर्ताको स्मरणका लागि । गण्डकी प्रदेशका मुख्यमन्त्री र पार्टीका सभापतिले समेत आश्वासन दिनुभएको छ । पार्टीले केही गरे राम्रै भो हैन भने उहाँको स्मृतिका लागि केही गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

पार्टीमा मात्र होइन परिवारमा पनि अरुलाई अगाडि बढाएर आफू ब्याकफोर्सका रुपमा बस्ने उहाँको त्यो बानी हाम्रा लागि अमिट छाप बनेर बसिरहनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width