धनी कसरी हुने ?

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७०

धनी हुने केही तरिकाका बारेमा आज लेख्ने सोचेको छु। म पहिलाभन्दा निक्कै धनी भएको छु। धनी हुने तरिका मेरो आफ्नै जीवनको भोगाई हो। सबै मानिस धनी हुन चाहन्छन् त नभनौ तर धेरै मानिस धनी हुन अवश्य चाहन्छन्। तर थोरै मानिस मात्रै धनी हुन सफल हुन्छन् र धेरै मानिस यो प्रयासमा पछाडि नै पर्छन्।

धनी हुने तरिका जान्नुभन्दा पहिला धनी किन हुने भन्ने जान्नु उपयुक्त हुन्छ। तपाइँ किन धनी हुन चाहनुहुन्छ ? पहिला यस्को सही जवाफ पत्ता लगाउनुपर्छ। अर्थात यो जवाफमा अरुको कुरा नगरौ आफैलाई सन्तुष्ट पार्नुपर्छ। सायद तपाइँको जवाफ हुन सक्छ ‘धेरै धन भयो भने आफूले चाहेजस्तो गर्न सकिन्छ, धेरै सुखसुविधा बटुलेर आनन्दको जीवन बाँच्न सकिन्छ। मानमर्यादा, सम्मान एकाएक बढ्ने छ, चाहेका र खोजेका सबै वस्तु किन्न सकिन्छ, भोग्न सकिन्छ, धन दिएर असन्तुष्टलाई सन्तुष्ट पार्न सकिन्छ, कुनै दुख नगरी सजिलो जीवन यापन गर्न सकिन्छ,’ आदिआदि। यस्तै हो तपाइँको जवाफ ? यो जवाफको विवेचना एकछिनपछि गरौंला।

हामी बोलिचालीमा भन्ने गछौर्ं ‘कसैको निधन भएछ।’ यसको अर्थ ऊ मरेछ भन्ने लाग्छ। होइन र ? ‘निधन’ भनेको धन नहुनु हो। यहाँ धनको अर्थ जीवन भन्ने लाग्यो। ‘नि’ अगाडि जोडेपछि नभएको भन्ने भयो।

बोलिचालीमा ऊ मनको धनी छ अथवा मनकारी छ पनि भनिन्छ। ऊ ज्ञानको धनी छ, बुद्धिको धनी छ, विवेकको धनी छ, स्वास्थको धनी छ, मानको धनी छ, सुखको धनी छ, सन्तानको धनी छ आदि आदि। अर्थात धनीको अर्थ भौतिक सम्पत्तिको धनी मात्रै होइन। धेरै मानिस धनीको अर्थ धेरै रुपैयाँ, सुनचाँदी, घरजग्गा, गाडि, व्यापार वा यस्तैयस्तै वस्तु वा चिजलाई सम्झने गर्छन्। सायद तपाइँ’ले पनि यहि सम्झेको हुनु पर्छ। ल ठीकै छ अहिलेलाई धनीको अर्थ धेरै भौतिक धन सम्पत्तिलाई नै सम्झौं।

धेरै मानिस धन कमाउने दौडमा सामेल भएका छन् र भन्ने गरिन्छ धनी भएपछि सुखैसुख मात्रै हुन्छ दुख भन्ने कुरा हुँदैन। के यो सहि हो – के तपाइँले देखेका धनी मानिसलाई कुनै दुख छैन – उनीहरूलाई कुनै प्रकारको तनाव, शोक, भोक, रोग, असन्तुष्टि, खिन्नता, निरास, कुण्ठा, अपमान, डरत्रास आदि छैन – यी सबबाट उनीहरू मुक्त हुन सकेका छन् ? चाहेको सबै सुख भोग गरेका छन् ? छैनन् भने यो कुरा पुष्टि हुन्छ कि सम्पत्तिको धनी हुँदैमा मानिसका सबै दुखको हरण हुँदैन।

सबै मानिसले चाहेको कुरा त आफ्नो दुखको अन्त्य र सुखको प्राप्ति हो। जीवनको सार्थकता भनेको सुखी हुनु हो र सुखका लागि धन चाहिन्छ। यो भनाइमा म पनि सहमत छु। तर कस्तो धनले सुख दिन्छ ? र, कस्तो धनी हुन चाहने ? यो कुरामा प्रष्ट भएपछि धनी हुने बाटोमा लाग्नु राम्रो हुन्छ। त्यसैले धनी हुने तरिका भन्दा पहिला प्रष्ट हुनुपर्छ कि धनी किन हुने र कस्तो धनी हुने।

धन भनेको सुख प्राप्तिको साधन हो भन्दा सायद सहमत हुन सकिएला। यसको अर्थ धन साधन हो साध्य होइन। अर्थात धन सुख होइन सुख प्राप्तिको साधन मात्रै हो। धेरै मानिसलाई धन नै सुख हो भन्ने भ्रम छ। सायद यो कुरालाई राम्ररी मनन् गर्न सक्यौं भने हामी प्रष्ट हुन्छौं कि हामी धनी हुन होइन सुखी हुन चाहन्छौं। बरु सुखी हुनका लागि धनको आवश्यकता पर्दछ।

धन भनेको भौतिक सम्पत्ति (रुपैयाँ, सुनचाँदी, घरजग्गा, गाडि आदि) मात्रै होइन रहेछ भन्ने त माथि नै चर्चा गरिसक्यौं। धन भनेको मन(विचार), ज्ञान, विवेक, स्वास्थ, सन्तान, मानसम्मान, रुपैयाँ, सुनचाँदी, घरजग्गा आदि सबै रहेछ। त्यसो भए यी धन प्राप्त कसरी गर्न सकिन्छ – यो हाम्रो आजको विषय हो।

हो, हामी सबै नै धनी हुन चाहन्छौं। सम्पत्तिको धनी, स्वास्थको धनी, ज्ञानको धनी, आचरणको धनी, विवेकको धनी, मानसम्मानको धनी आदि। अब सोचौं त हामीले अरु विषयको धनी हुन छाडेर सम्पत्तिको धनी मात्रै हुन खोज्यौं भने के हामी साच्चै सुखी हुन सक्छौं। फेरी सोचौं त के साँच्चै सम्पत्तिको थुप्रोले मात्रै मानिसलाई सुखी बनाउछ – के सबै सम्पत्ति भएका मानिसलाई सुखी देख्नु भएको छ ?

धेरै सम्पत्ति भएका मानिसलाई हामी धनी भन्ने गछौर्ं। कति सम्पत्ति भएकालाई धनी भन्ने ? धेरै भनेको कति हो ? कति सम्पत्ति भएपछि धनी हुइन्छ ? धनको सीमा कति हो ?

यो विषयमा एउटा प्रशिद्ध रशियन लेखकको कथालाई सम्झन पुग्छु। कथा यस्तो छ – एउटा लोभी मानिसलाई धेरै जग्गा आफ्नो बनाउने र धेरै जग्गाको धनी हुने तीव्र इच्छा भएछ। जग्गा त सबै जमिन्दारको मात्रै थियो। त्यसैले उसले जमिन्दारकोमा गएर उसलाई खुसी पारेर जमिन लिने विचार गरेछ। जमिन्दारलाई खुसी पनि पारेछ। जमिन्दारले के माग्छौ माग भनेछन्। लोभी मानिसले जग्गा मागेछन्। जमिन्दारसँग प्रशस्तै जग्गा थियो र त्यो मानिस असाध्यै लोभी छ भन्ने पनि थाहा पाएछन्। जमिन्दारले कति जग्गा चाहिन्छ भनेर सोधेछन्। लोभी मानिस बोल्न सकेन तर उसको मनोभाव बुभेmका जमिन्दारले भनेछन् ‘घाम उदाएदेखि घाम नअस्ताएसम्म एकदिन भरिमा तिमीले हिँडेर वा कुदेर जति जमिन घेर्न सक्छौ त्यति जमिन त्रि्रो हुन्छ तर तिमीले बेलुकासम्ममा आफूले यात्रा सुरु गरेको स्थानमा पुगेनौ भने तिमिले जग्गा पाउने छैनौ’ भनेछन्। यो सुनेर लोभी मानिस असाध्यै खुसी भएछ। भोलीपल्ट विहान उसले जमिन्दारको जग्गाको कुनै एक विन्दुमा चिनो राखेर जमिन घेर्न सुरु गर्‍यो। जमिन्दार घोडामा बसेर उसले घेरेको जमिन हेर्न निस्किए। लोभी मानिस दिनभरि दौडिरह्यो। एकछिन पनि बिसाएन। किनकि ऊ मौका चुकाउन चाहँदैन थियो। धेरै जमिन हात पार्ने र धेरै जमिनको धनी हुने यो मौका फेरि आउनेवाला थिएन। घाम ओरालो झरेपछि उसले र्फकन सुरु गर्‍यो। जोडजोडले दौडिन थाल्यो। सुरु हिँडेको ठाउँमा आइपुग्न अझै केही बाँकी थियो। घाम क्षितिजमा पुग्नै लागेका थिए। ऊ अझै जोडले दौडियो। सुरु गरेको स्थानमा पुग्न अलिकति मात्रै बाँकी थियो तर ऊ हिँड्न नसक्ने गरि थाक्यो। भुइँमा पछारियो। त्यसपछि घस्रिन थाल्यो। उसलाई थाहा छ यति यात्रा पुरा गर्न नसके उसको सबै प्रयास र्व्यर्थ हुनेछ र उसको इच्छा कहिल्यै पूरा हुने छैन। उसले बल लगाएर घस्रियो। घाम डुब्नै लागेका थिए। केही हात परको किल्ला भेट्टाउन उसले अन्तिम बल गर्‍यो। भएभरको शक्ति लगायो। ऊ हिँडेको स्थानमा त अन्तिम बलले पुग्यो तर त्यसपछि उ कहिल्यै उठन नसक्ने गरि सदाका लागि सुत्यो। उसले आँखा चिम्लियो। मुटु फुटेछ। उसको मृत्यु भयो। अन्तिममा उसको लास गाड्न दुर्इ गज/मिटर जमिन मात्रै काम लाग्यो। अरु उसको काममा आएन।

लोभी मानिसले दिनभरि कुदिरहँदा आफू अब धेरै धनी भएको र त्यो धनले धेरै सुख दिने कुरा अवश्य सोच्यो होला। तर ऊ आफूलाई चाहिनेभन्दा कयौं बढी सम्पत्ति जम्मा गर्ने लोभमा अकाल मृत्यु मर्‍यो।

सम्पत्तिको लोभमा मानिसले मानसम्मान, इज्जत, इमान, परिवार, इष्टमित्र, बुद्धि, ज्ञान, विवेक, धर्म, कर्म, स्वास्थ, नैतिकता सबै विर्सियो भने त्यसको बदलामा जम्मा भएको सम्पत्ति कति उपयोगी बन्न सक्ला – हामी सहजै अनुमान गर्न सक्छौं।

थोरै समयका लागि धनी हुने हो भने चोरी, ठगी, डकैती, छलछाम, लुटपाट, अपहरण गर्नु, करकापमा पारेर कसैको सम्पत्ति हर्नु, मिसावट गर्नु, लागु औषध बिक्री गर्नु, झुक्याउनु, ढाँट्नु, खोस्नु, श्रम सोषण गर्नु, कीते गर्नु अथवा यस्तैयस्तै जे जे गरे पनि हुन्छ। केही समयका लागि यो अरु कसैले थाहा पाएका छैनन् भनेर आफैलाई ढाँटे हुन्छ। तर यस्तो बाटोबाट आएको सम्पत्तिले अत्यन्त थोरै समयको सुख र लगभग जिन्दगीभरिको तनाव लिएर आउँछ। के यो कुरामा तपाइँ सहमत हुनुहुन्छ ?

मानिसले खोजेको तनाव होइन सुख हो। सम्पत्ति बढाउनु आफैमा नराम्रो होइन। तर सम्पत्तिसँग तनाव भित्रिनु भएन। सम्पत्तिले मानिसलाई सुखको अनुभूति गराउनु सक्नुपर्छ। सुखको अनुभूति गराउन मूल्य, मान्यता र परिश्रममा आधारित सम्पत्तिले मात्रै गराउन सक्छ। सुखको अनुभूति गराउन सम्पत्ति धेरै हुन जरूरी छैन। त्यसैले त धेरै धनी मानिसभन्दा परिश्रमको कमाईमा रम्ने थोरै धन भएका मानिस नै बरु वास्तवमै सुखी छन्। धेरै अगाडि नै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो प्रसिद्ध कृति मुनामदनमा लेखे-’सुनको थैला हातको मैला के गर्नु धनले, साग र सिस्नु खाएको वेस आनन्दि मनले’। के तपाइँलार्ई यो कुरामा विश्वास छ – तपाइँले यस्तो देख्नु भएको छ ? अब तपाइँ आफै भन्नुहोस् धनी कसरी हुने ?

Related News

सम्बन्धित समाचार

hero news full width