हिमपहिरोमा अझै ६ वेपत्ता

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७६
Him Pahiro

कास्कीको अन्नपूर्ण पदमार्गमा हिमपहिरो जाँदा वेपत्ता भएकाहरुको खोजीमा खटिएको अनुभवी गाइड र मजदूरहरुको टोली । तस्वीर सौजन्य : प्रेमकुमार राई ।

रुपनारायण ढकाल : पोखरा, २५ फागुन । गएको माघ तीनमा अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा परी वेपत्ता भएका सात जना मध्ये ६ जनाको अवस्था अझै अज्ञात् रहेको छ । हराएका चार कोरियाली र तीन नेपाली मध्ये नेपाली गाइड सरोज परियारको शव यही फागुन १६ गते भेटिएको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ स्थित अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने हिंकु केभ नजिक हिम पहिरो जाँदा हराएकाहरुको खोजी कार्य पटक पटक गरिएको भए पनि बाक्लो हिउँका कारण सफलता हात पर्न सकेको छैन । हिम पहिरो आएको स्थान देउराली नजिक सरोजको शव भने भेटिएको थियो । सरोजका दाई सन्दिप परियार र पदयात्रा मजदूरको टोलीले सो शव निकालेको थियो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले पनि खोजी कार्यमा सक्रियतापूर्वक सहयोग गरेको सो संस्थाका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

सरोजको सव भेट्नु पाँच दिन अघि खोजीका लागि सन्दिप निक्लिएका थिए । चितवनका सरोज एक जना चिनिया पर्यटक लिएर अन्नपूर्ण आधार शिविर जाँदै थिए । यही क्रममा भारि हिमपातका कारण देउराली भन्दा माथि जाने अवस्था नभएपछि फर्कने क्रममा हिम पहिरोमा पुरिएका थिए तर सँगै गएकी पर्यटक भने बाँच्न सफल भएकी थिइन् । हिमपहिरोका कारण पदयात्रा पनि केही दिनका लागि रोकिन पुगेको थियो । छोमरोङ सम्म मात्र पदयात्री जाने गरेका थिए । त्यहाँ माथि जोखिम छ भनी पदयात्री पठाउने गरिएको थिएन । घटनाको पाँच दिन पछि भने पदयात्रा सुचारु भएको थियो ।

यसैविच वेपत्ताहरुको खोजी गर्न अझै पनि आफूहरु तयार रहेको अनुभवी गाइडहरुले बताएका छन् । गाइड बाबुराम विक र प्रेमकुमार राईले हराएकाहरुको खोजी गर्न आफूहरुको समूह सक्षम रहेको बताएका हुन् । सरोजको शव भेट्टाउने टोलीका उनीहरु सदस्य हुन् । उनीहरुले टोलीमा अग्र पंक्तिमा रहेर काम गरेका थिए । वेपत्ताको परिवार, सरकारी क्षेत्र वा सम्बन्धित पक्षले खोजीका लागि आग्रह गरे आफूहरु सघाउन तयार रहेको विकले बताए । खर्चको जोहो हुने हो भने आफूहरु खोजी कार्यमा जुट्न सर्वथा तयार रहेको उनले सुनाए । पीडित पक्षले आग्रह गरेमा आफूहरु वेपत्ताको खोजीमा जुट्न सक्ने अर्का गाइड राईले बताए । हिउँ पन्छाउँदै जाँदा वेपत्ताहरु भेटिन सक्ने उनले सुनाए ।

नेपाली सुरक्षाकर्मी, कोरियाली दुतावास, स्थानीय वासिन्दा, टान पश्चिमाञ्चल, स्थानीय वडा, एक्याप, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लब जस्ता संस्थाले खोजी कार्यमा यसअघि पहल र सहकार्य गरेको भए पनि बाक्लो हिउँका कारण खोजी कार्य स्थगित गरिएको थियो । हिउँ पग्लेपछि खोजीमा सजिलो हुने ठानी अभियान स्थगित गरिएको वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिएका छन् ।

हिंकु केभ वरपर माघ ३ मा ठाउँठाउँमा पहिरो खस्दा तीन नेपाली गाइड र चार कोरियाली नागरिक हराएका थिए । हिमालयभन्दा माथि करिब ३ हजार मिटर उचाइमा गएको पहिरोमा परेर बाँच्न सफल भएका जगदीश खत्रीका अनुसार पदमार्गमा हिँडिरहेका मानिसहरुको लस्करमा हिमपहिरो आएको थियो । पहिरो गएको स्थानमा पुगेका टोलीका अनुभवी गाइड विजय केसीका अनुसार त्यस क्षेत्रमा ३ वटा पहिरो गएका छन् ।

माथिबाट आएको ठूलो एउटा पहिरो तल आइपुग्दा ३ भागमा बाँडिएको छ । हिमपहिरोमा दक्षिण कोरियाली नागरिक जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक, नेपाली गाइड सरोज परियार, मीनबहादुर लामा र छिरिङ भोटे परेका थिए । सो क्रममा अलि सानो पहिरामो नेपाली गाइड सरोज, ठूलो पहिरोमा ४ कोरियाली नागरिक र २ नेपाली गाइड परेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग