चितवन । चितवनको भरतपुर र नवलपुरको गैंडाकोट जोड्ने गरी नारायणी नदीमाथि निर्माण हुने सिग्नेचर पुलको शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान पुलको शिलान्यास गरेका हुन् ।
पुल शिलान्यसका क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको बिस्तार तीव्र गतिमा अगाडि बढेको बताए । सडकले यातायातको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको भन्दै प्रधानमन्त्री दाहालले सडक प्रयोगकर्ता आफ्नो बासस्थानबाट एक घन्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए । नेपालमा गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी गुणात्मक विकास भएको उनले दाबी गरे ।
‘राजतन्त्रकालको २ सय ५० वर्षमाभन्दा कैयौं गुणा बढी गुणात्मक विकास पछिल्लो २ दशकमा भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्लगायत भौतिक पूर्वाधारको क्षेत्रमा नेपालले राम्रो प्रगति गरिरहेको छ ।’ सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।
अहिले सडक विभागअन्तर्गत काठमाडौंको ग्वार्कोमा ‘फ्लाइओभर’ को निर्माण भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदीलगायतका नदीमाथि ‘सिग्नेचर’ पुल निर्माण भइरहेको उनको भनाइ थियो । उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने सिग्नेचर पुल निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
८४ को निर्वाचन अगाडि नै पुलको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारीका साथ पुल निर्माणको काम सुरु हुने
‘यस पुलले आगामी २ सय वर्षसम्मको सवारीसाधनको चाप सम्बोधन गर्नसक्ने हाम्रो लक्ष्य रहेको छ,’ उनले भने, ‘यो पुल समयमै निर्माण सम्पन्न गर्न सडक विभाग र निर्माण कम्पनीलाई म निर्देशन गर्न चाहन्छु ।’ यस पुलका कारण सवारी चाप सम्बोधन हुने भन्दै यसले सवारी समयको बचत हुने उनले बताए । उनले भने, ‘यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।’
पुल शिलान्यासका क्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नारायणी नदीमाथि निर्माण हुने सिग्नेचर पुल नेपालको पहिलो भएको बताए । ८४ को निर्वाचन अगाडि नै पुलको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारीका साथ पुल निर्माणको काम सुरु हुने भन्दै पुल निर्माणमा बजेट अभाव नहुने बताए । सिग्नेचर पुलसँगै भरतपुर महानगरपालिकामा निर्माणाधीन चक्रपथका लागि समेत बजेटको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको महासेठले बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदीको पुल पुरानो भएपछि नयाँ पुल बनाउनका लागि गर्दै आएको पहलले सार्थकता पाएको बताए ।
महानगरपालिकाको नेतृत्वमा आफू आएपछि भरतपुरभित्र ठूला पूर्वाधारका योजनाहरू निर्माणको चरणमा रहेका भन्दै यसले भरतपुरको सौन्दर्यमा समेत टेवा पु¥याउने बताइन् । अहिले भरतपुरमा ६ लेन सडक, सिटी हल निर्माण, विद्युत्को तार भूमिगतलगायतका महत्वपूर्ण कामहरू आफ्नो पहलमा भइरहेको महानगरप्रमुख दाहालको भनाइ छ ।
नारायणगढ र गैंडाकोटलाई जोड्ने गरी निर्माण हुन लागेको सिग्नेचर पुलको लम्बाइ ४ सय २० मिटरको हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए । विसं २०३८ सालमा निर्माण भएको पुल पुरानो भएपछि त्यसकै उत्तरतर्फ सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको सिग्देलको भनाइ छ ।
जम्मा ४ वटा पिल्लर रहने यस पुलकोमुनिबाट ३ हजार टन क्षमतासम्मका ठूला पानीजहाज आवतजावत गर्न मिल्ने उनले बताए । पुलको २ ठाउँमा टावर राखिएका छन् । पुल १२ मिटर फराकिलो हुने भन्दै सचिव सिग्देलले बीचमा ७ दशमलव ५ मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ रहने बताए ।
सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले ४ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३ सय ५४ मा ठेक्का सम्झौता भएको हो । पहिलो १ वर्ष डिजाइन समय हो भने बाँकी ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको सिग्देलले जानकारी दिए । डिजाइनको काम करिब सम्पन्न भएको छ ।
हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१