२८ प्रजातिका गुराँस फुल्ने गुराँसको राजधानी टिएमजे [फोटो एस्से]

विश्वमा पाइने ४२ थरिका गुराँस मध्ये २८ प्रजातिका गुराँसहरु टिएम्जे क्षेत्रमा पाइन्छन्

Suraj Hazare Dahal
पौष २३, २०७६
TMJ 1

सुरज हजारे दाहाल :  तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के र जलजले (टिएमजे) लाई गुराँसको राजधानी भनिन्छ । अंग्रेजीमा यि तीन ठाउँहरुको पहिलो अक्षरबाट बनेको टिएमजे नाम नेपालीमा समेत प्रख्यात छ । स्वर सम्राट नारायण गोपालले गाएको गीत ‘म त लालीगुराँस भएछु वनभरि फुलिदिन्छ’ु भने झैं २८ प्रजातिका गुराँसहरु टिएम्जे क्षेत्रमा ढक्कमक्क फुल्छन् । आँखाले भ्याएसम्मको दृश्यमा गुराँसै गराँस मात्र देखिन्छ ।

टिएमजेको प्रवेश स्थल तेह्रथुम जिल्लाको बसन्तपुर स्थित लालिगुराँस चोकमा निर्मित गुराँस स्तम्भ । तस्विर: सुरज

हाल विश्वमा पाइने ४२ थरिका गुराँस मध्ये २८ प्रजातिका गुराँसहरु टिएम्जे क्षेत्रमा पाइन्छन् । पतझर प्रकारको वन रहेको यस क्षेत्रमा चैत र बैशाखमा गुराँस फुल्दा हरिया वन रातम्य हुन्छन् । विभिन्न रङका गुुराँसहरु मध्ये रातो रङको लालीगुराँस भने नेपालको राष्ट्रिय फूल हो । टिएम्जेको जंगल नआउँदै तेह्रथुमको बसन्तपुर स्थित लालीगुराँस चोकमा गुँरासको स्तम्भ निर्माण गरिइको छ ।

हालै मात्र सरकारले नयाँ पर्यटकिय गन्तव्यको सूचीमा टिएम्जेलाई सूचीकृत गरेर यसलाई संरक्षण क्षेत्र घोषणा बनाउने विषयमा गृहकार्य शुरु गरेको छ । भारत र चीनसँग पनि यो क्षेत्र जोडिएकोले त्रिदेशीय संरक्षण क्षेत्र बनाउनको लागि स्थानीयले जोड दिँदै आएका छन् । यो क्षेत्रमा गुराँस बाहेक अन्य रुखहरु छैनन् । फागुनदेखि बैशाखसम्म गुराँस फुलेर रातो हुने टिएम्जेको वन बाँकी ९ महिना भने हरियो हुन्छ ।

उच्च हिमाली यस गुराँसको जंगलमा घण्टी बजाउँदै चौरीहरु चरिरहेका मनमोह दृश्यले कुन्ति मोक्तानको ‘माथिमाथि शैलुङेमा चौरी डुलाउनेलाई’ गीतको झझल्को दिन्छ । तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाँचपोखरी क्षेत्रमा तीन महिना गुराँसहरु फुल्छन् । यस क्षेत्रमा ३८ हजार हेक्टर क्षेत्रमा घना जंगल रहेको छ जसको अधिकांश भाग गुराँसको रुखले ओगटेको छ ।

गुराँसको रंगीचंगी दृश्य मात्र होइन यस क्षेत्रमा हेर्नको निम्ति कञ्चनजंघा तथा मकालु हिमाल र गुफा तथा लामपोखरीहरु समेत रहेका छन् । विशेष गरि आन्तरिक पर्यटकहरु बैशाखमा गुराँस पनि हेर्न पाइने र नयाँ वर्ष पनि मनाउन पाइने भएकोले सोहि महिना बढी मात्रामा भ्रमण गर्न आउँछन् ।

तेह्रथुम जिल्लाको बसन्तपुर नपुग्दै टुटे देउराली नजिकैबाट पैदल यात्रुहरुलाई गुराँसको घना जंगलले स्वागत गर्छ । अन्य बेला सुनसान यस देउराली क्षेत्रमा फागुनदेखि बैशाखसम्म पैदलमार्गीका ठूलो भिड हुन्छ । बैशाखमा त झन् जिप नै रिजर्भ गरेर गुराँसको जंगलमा पिकनिक गरिरहेका यात्रु देखिन्छन् । गुराँसले तेह्रथुम जिल्ला प्रख्यात भएकोले बसन्तपुर चोकमा हालै स्थानीयहरुले गुराँस फूलको स्तम्भ नै बनाएका छन् ।

१५०० देखि ५००० मिटरको उचाइमा फैलिएको यस गुराँस क्षेत्र जैविक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण छ । बसन्तपुरदेखि म्याङलुङहुँदै टिएमजीका सबै इलाकाको होटेल र होमस्टेमा चौंरीको सुकुटी, तोङ्बा तथा गुराँसको जुस निकै प्रख्यात छ ।

बिदेशी पर्यटकहरु आन्तरिक पर्यटकको तुलनामा कम आए पनि जैविक अनुसन्धानकर्ताको लागि यो प्रमुख गन्तव्य बन्नसक्छ । बिदेशी सामु प्रचार कम भए पनि यहाँ हरेक वर्षको चैतमा महिनामा संगीत पारखीहरु म्युजिक फेस्टिबल मनाउन यहाँ आउने गर्छन् । सो समय होटलमा समेत नअट्दा उनीहरुलाई टेन्टमा राखिन्छ । बिदेशी नै आएर चैतमा रमाए पछि गुराँस फुल्ने मुख्य महिना बैशाखमा देशका विभिन्न ठाउँहरुबाट आएका आन्तरिक पर्यटकका कारण टिएम्जेका होटलहरु खचाखच भरिन्छन् ।

टिएम्जे अन्तर्गतको तीनजुरे स्थित भ्यू टावरबाट तेह्रथुम, संखुवासभा,धनकुटा, इलाम, भोजपुर, पाँचथर, ताप्लेजुङ एकैसाथ अवोलोकन गर्न सकिन्छ । पछिल्लो पटक सरकारले २० वर्ष पुगेका गाडी हटाउँदा यहाँ गुड्ने ब्रिटिश गाडी ल्याण्ड रोभर जिप नचल्दा यात्रुहरुले कष्ट पाएका थिए तर सरकारले पूर्वमा चल्ने ल्याण्ड रोभर गाडीमा प्रतिबन्ध हटाएपछि टिएम्जे क्षेत्रका जनतालाई राहत भएको छ । स्थानीयलाई गाडी पाउन सास्ती भए पनि यहाँ घुम्न आउने स्वदेशी तथा बिदेशी पदयात्रीले गुराँसको बोटमुनि थकाइ मारेर स्वर्गिय आनन्द प्राप्त गर्छन् ।

गुराँस फूलको बनोटले सबैको मन प्रफुल पार्ने हुँदा गुराँसकै नामबाट धेरै गीतहरु गाइएको छन् । सबिन राईको ‘गुराँसको फेद मुनि सम्झनाको छायाँ’ । १९८४ ब्याण्डको ‘गुराँस फुल्यो वनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा’ तथा नेपाली चलचित्र सुपर स्टारको शिर्ष गीत ‘गुराँस फुल्दा वनै रमाइला’े जस्ता गीतहरुले गुराँसको महिमा बोकेका छन् ।

खर्च र बसाइ: पोखराबाट हरेका दिन बेलुकी ४ः४५ बजे डिलक्स बस धरानको लागि छुट्छ । भोलिपल्ट बिहान ७ बजे धरान पुगेपछि एक दिन बसेर अथवा सोहि दिन ९ बजेको बसमा तेह्रथुमको बसन्तपुरसम्मको लागि बस पाइन्छ । बसन्तपुरमा एउटा मात्र सुबिधा सम्पन्न होटल रहेको छ भने अरु सामान्य स्तरका छन् । बसन्तपुरबाट टिएम्जे क्षेत्रसम्म हाल हिडेर १ दिनमा टिएम्जे क्षेत्र प्रवेश गर्न सकिन्छ । टिएम्जे मात्र घुम्न ७ दिनको लागि रु २०००० जति खर्च लाग्छ । एक्लै घुम्दा असुरक्षित भइने तथा बाटो भुल्न सक्ने सम्भावना रहेकोले समूहमा जाँदा उपयुक्त हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width