ओझेलमा सुन्दर गुफा पोखरी [फोटो एस्से]

हिउँ नै पर्न छोडेपछि गुफा पोखरीको भविष्य खतरामा परेको छ

Suraj Hazare Dahal
पौष २१, २०७६
Gupha pokhari 1

सुरज हजारे दाहाल : प्रदेश नं १ स्थित संखुवासभा जिल्लाको चैनपुर स्थित गुफा गाउँको  उत्तरी भेगमा रहेकाे गुफा पोखरी प्राकृतिक दह हो  । यस बस्तीको नाम समेत गुफा पोखरी नै राखिएको छ । समुद्रि सतहदेखि २८९० मिटरको उचाइमा रहेको गुफा पोखरी हिन्दू र बौद्ध धर्मावलम्बीहरु तिर्थ स्थल पनि हो । क्षणिक मौसम परिवर्तन भइरहने गुफापोखरी पुग्न कठिन छ तर त्यहाँ पुगेपछिको आनन्द भने असिम छ ।

न्यून संख्यामा स्वदेशी र नगन्य संख्यामा बिदेशी पर्यटक पुग्ने गुफा पोखरी क्षेत्र गुराँसको जंगल छिचोल्दै पुग्नुपर्छ । यस क्षेत्र घुम्ने उपयुक्त महिना भदौदेखि कात्तिक र फागुनदेखि बैशाख हो । हिउँदमा भने हिउँ परेर निकै चिसो हुने गर्छ, उसो त गर्मीमा समेत यहाँ ठण्डी हुने गर्छ । वर्षाको भर नहुने भएकोले रेनकोट बोक्न भने आवश्यक हुन्छ ।

यस पोखरी भन्दा केही पर रहेको मन्छायम् नामक डाँडा पछाडि विशाल गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरु बताउछन् । बिसौं शताब्दीमा गुफामा बसेर पुजारीहरुले ध्यान गर्ने गरेको र उनीहरुले पोखरीको नाम नै गुफा पोखरी राखेको जनश्रुती रहेको पाइन्छ । गुफा पोखरीलाई पहिला भने सिद्ध पोखरी भन्ने गरिन्थ्यो । आफुले चाहेको कुरा सिद्ध हुँदै आएकोले पोखरीको नाम नै सिद्ध पोखरी हुन गएको थियो ।

अझै पनि मानिसहरु आफ्नो मनोकामना पुरा गर्न यहाँ आउने गर्छन् । गुराँसको राजधानी भनेर चिनिने टिएम्जे क्षेत्र भित्र गुफा पोखरी पर्छ । यहाँसम्म आउँदा भने तेह्रथुम जिल्ला अथवा ताप्लेजुङ हुँदै आउनुपर्ने भएकोले बिच बाटोमा तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ जातको गुराँसको घना जंगल देखिन्छ ।

मौसम खुलेको दिन यहाँबाट मकालु, कचंनजंघा र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ । पोखरी आसपासको जंगलमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् । गुफा पोखरीमा रहेको पानीको श्रोत मूलको पानी भएकोले हाल यो संकटमा परेको छ । मूल सुक्दै गएको र नदी नाला पनि नहुँदा केहि वर्ष यता पानीको सतह र पोखरीको आकार घट्दै गएको छ । केहि वर्ष अगाडिसम्म हिउँ परेपछि पग्लिएर पोखरीमा पानीको मात्रा बढ्ने गरेकोमा हिउँ नै पर्न छोडेपछि गुफा पोखरीको भविष्य खतरामा परेको छ ।

संकटमा पोखरी:

गुफा पोखरीलाई संरक्षित गर्ने उद्देश्यले तत्कालिन जिल्ला विकास समितिले रु ५ लाखबाट पोखरी क्षेत्रमा ४०० मिटरको तारबार गरि गेट हालेको थियो । गेटमा ताल्चा लगाइएकोमा पर्यटक आउँदा समेत गेट खुल्दैन । गेट नखोलिदिदा पर्यटकले छेउको डाँडा चढेर पोखरीको तस्विर लिने तथा दृश्यावलोकन गर्छन् ।

मानव अतिक्रमणबाट जोगाउन तारबार गरिए पनि पानी नै सुक्दै जाँदा पोखरीको अगाडिको भागामा बालुवा देखिन्छ । स्थानीयका अनुसार प्राकृतिक रुपमै बनेको गुफा पोखरीमा ५ वर्ष अगाडि सम्म पानी टनाटन थियो तर पानीको मुहान सुकेपछि आधा घटेको हो । पोखरी घट्दै गए पनि बैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउँदा आन्तरिक पर्यटक गुफा पोखरी भने पुगेरै छोड्ने गरेका छन् ।

पर्यटकहरु आइरहने पनि होटल व्यवसायिमा भने पोखरीमा पानी घट्दा चिन्ता छाएको छ । स्थानीय सरकारले पानीको श्रोत पहिचान गरेर अथवा बैकल्पिक तरिकारले अन्यत्रबाट पाइपको सहायताले भए पनि पानी ल्याएर लोप हुन लागिरहेको पोखरी संकटबाट बचाउनु पर्छ । गुराँसको जंगल मासिदै गएकोले पानीको श्रोत सुक्दै गएकोले आसपासका नांगा डाँडामा वृक्षारोपणको खाँचो देखिएको छ ।

गुफा पोखरीसँगै गुफा बजार नामक मानव बस्ती रहेको छ । यस बजारमा १६ घरधुरीले होटल व्यवसाय गरेर बसेका छन् भने ५० घर रहेका छन् । पहिला होटलको व्यवस्था नहुँदा पदयात्रीहरु गोठमै बस्नुपर्ने बाध्यता थियो । यस बस्तीमा शेर्पा जातीको बाहुल्य रहेको छ । अधिकाँश शेर्पा दम्पत्तिहरुले चलाएको होटलहरुमा छुर्पी तथा घिउ हालेर बनाएको तरकारी र बंगुरको मासुको परिकार पाइन्छ ।

यहाँका सबै होटलले स्थानीय परिकार, याकको मासुको सुकुटी,  नाककाे दूधकाे छुर्पी ,  लोकल कुखुरा, हिमाली सिमीको दालले आतिथ्य सत्कार गर्ने गरेका छन् । वर्षा भइरहने भएकोले यहाँ तोङबाको पनि व्यापार हुने गर्छ ।

पर्यटकीय सम्भावना भएर पनि गुफा पोखरी ओझेलमा परेको छ । गुफा पोखरीको उचित प्रचार प्रसार भएमा नेपाल भ्रमण वर्ष २०२० मा धेरै बिदेशी पर्यटकलाई आउँदो गुराँस फुल्ने महिना फागुणदेखि बैशाखसम्म भित्राउन सकिन्छ ।

खर्च र बसाई ः पोखराबाट हरेका बेलुकी ४ः३० बजे धरानको लागि बस छुट्ने गर्छ । बिहान ७ बजे धरानमा ओर्लिएर सो दिन बास बसेर भोलिपल्ट बिहान ९ बजे धरानबाट तेह्रथुमको बसन्तपुरसम्म जाने बस पाइन्छ । बसन्तपुरबाट अर्को दिन जिप चढेर गुफा पोखरी पुगिन्छ तर गाडी गुड्न बाटो कठिन भएकोले एक बिहानै हिंडेर साँझ पुगिन्छ । बस भने कहिलेकाहिँ मात्र चले पनि पोखरीसम्मै नपुग्ने हुँदा ३ घण्टा हिड्नुपर्छ । रु १८००० को खर्चमा गुफा पोखरी पुगेर फर्किन सकिन्छ तर आसपासको अन्य क्षेत्रहरुका लागि भने खर्च बढ्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width