पदमार्गमा पूर्वाधार विकासको माग

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
North ABC

म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग पहिरोका कारण भासिएपछि बनाइएको अस्थायी पुलबाट भीर छिचोल्दै नेपाली पदयात्री । तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, ५ पुस । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका स्थित उत्तरी अन्नपूर्ण आधार शिविर पुग्ने मार्गमा पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

बेनी–जोमसोम मार्गको भुरुंग तातोपानी नजिक पर्ने नागढुंगाबाट केही मिनेटको यात्रामा पुगिने नारच्याङ गाउँबाट आधार शिविर पुग्ने पदयात्रा सुरु हुन्छ । नाारच्याङबाट साढे ३१ किलोमिटरको पैदल यात्रा पछि आधार शिविर पुग्न सकिन्छ । पदयात्राका क्रममा भीर, पहरा, पहिरो, अन्नपूर्ण खोला, फड्के पुल र भ¥याङहरु छिचोल्दै तीन देखि चार दिनमा आधार शिविर पुग्न सकिन्छ ।

यही जोखिमपूर्ण पदयात्रा मार्गको मर्मत संभार र विकासका लागि आबश्यक पूर्वाधार बनाउन स्थानीयले माग गरेका हुन् । स्थानीय वृद्ध मनबहादुर पुर्जाले बाटोको हिंडाई सजिलो र जोखिमुक्त बनाउन सरकारले बजेट छुट्याउनुपर्ने माग गरे । साँघुरो बाटोलाई फराकिलो बनाउन, आबश्यक ठाउँमा सिंढिहरु हाल्न, खोला र नदीमा पुल हाल्न करोडौं रुपैयाँ बजेट लाग्ने उनले सुनाए । पदयात्रीका लागि आश्रयस्थलहरु, शौचालय बनाउन तथा श्रोतबाट पानी ल्याउन आबश्यक पाइपका लागि समेत रकम आबश्यक पर्ने उनले बताए ।

नारच्याङ गाउँबाट झण्डै डेढ घण्टाको पैदलयात्रा पछि लेक गाउँ पुग्न सकिन्छ । त्यहाँभन्दा माथि कुनै वस्ती छैन । निगालोको जंगल, खरबारी, लालीगुराँस लगायतका जंगल पार गर्दै तीन हजार मिटर उचाईको पदयात्रामा पुगेपछि भने अग्लो रुखविरुवाको सट्टा बुट्यान र मरभूमि जस्तो दृष्य देख्न सकिन्छ । घर र टी हाउसहरु समेत पदमार्गमा नभएका कारण क्याम्पिङमा आधारित पदयात्रा यो मार्गमा गर्ने गरिन्छ । खाने, सुत्ने र अन्य बन्दोवस्तीका सामान बोकाएर लैजानुपर्छ ।

पोखरा वा काठमाडौंबाट गएर पहिलो रात नारच्याङ गाउँमा बस्न सकिन्छ । नारच्याङमा टेकबहादुर पुनले होटल क्यासकेड ब्रिज खोलेका छन् । नारच्याङमा खान बस्न खासै समस्या छैन । दोश्रो रात छोटेपा, तेश्रो रात साँधिखर्क वरपर र चौंथो रात ४१९० मिटर उचाईमा रहेको आधार शिविर बस्न सकिन्छ । फर्कंदा भने धेरै खण्ड ओरालो पर्ने भएका कारण क्याम्पहरुको संख्या घटाउन सकिन्छ । छोटेपा भन्ने ठाउँसम्म नारच्याङबाट विद्युत आयोजनाले मोटरबाटो समेत लगेका कारण हिंडाई छोटेपाबाट सुरु गर्ने हो भने पदयात्राको अवधि केही घट्छ ।

उत्तरी अन्नपूर्ण आधार शिविरको विशेषता भनेको धेरै भन्दा धेरै हिमश्रृंखलाको दृष्य र नारच्याङ ताल हो । आधार शिविरमा रहेको यो ताल यहाँको मुख्य आकर्षण मध्ये एक हो । यो तालमा पछिल्लो क्रममा पितृ श्रद्धाका लागि समेत मानिसहरु पुग्ने गरेका छन् । झण्डै ७० बर्ष अघि फ्रान्सेली आरोही मौरिस हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल यही आधारशिविरबाट आरोहण गरेपछि यो ठाउँको चर्चा हुन थालेको हो ।

तर यतिका बर्षसम्म पनि त्यहाँ पुग्ने बाटो सहज नहुँदा सो ठाउँले मनग्य प्रख्याती पाउन नसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका शिखका युवा सुरेन गुरुङले सुनाए । यो मार्ग र आधार शिविरको विकासका लागि केन्द्रिय तहबाटै बजेट व्यवस्था गर्नुपर्ने माग उनको छ । अन्नपूर्ण गाउँपालिकाले पछिल्लोपटक यो मार्ग तथा आधारशिविरको प्रबद्र्धनका लागि एक अनुसन्धानमूलक यात्रा समेत आयोजना गरेको थियो ।

नक्सा बनाउने, आबश्यक साइन पोष्टिङ गर्ने, पानीका श्रोतहरु पहिचान गर्ने, प्रचार सामग्रीको विकास गर्ने र पदयात्रा मार्गको थप प्रबद्र्धन गर्ने योजनाका साथ उक्त भ्रमण भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डमबहादुर पुनले सुनाए । गाउँपालिकाले सो मार्गको विकास र प्रबद्र्धनका लागि सक्दो काम गरिरहेको भन्दै उनले केन्द्रिय तहबाटै सो मार्गप्रति सरकारले चासो देखाउनुपर्ने उनको माग छ ।

एक दशक अघि ट्रयाक खुले पनि आधार शिविर पुग्न कठिन भएका कारण आरोहीहरु सिधै हेलिकोप्टरमा शिविर ओर्लिएर हिमाल चढ्ने गरेका छन् । अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले यो मार्गको विकास र प्रबद्र्धनमा काम गर्दै आएका छन् ।

तर मिडियाले कास्कीको अन्नपूर्ण आधार शिविरको मात्र बढी प्रचार गर्दा र वास्तविक सूचना दिन चुक्दा म्याग्दीको अन्नपूर्ण आधार शिविर ओझेलमा परेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङको गुनासो छ । तर पनि सो मार्गको आबश्यक प्रबद्र्धन र पूर्वाधार निर्माणपछि पदयात्रा संचालनमा ट्रेकिङ एजेन्सिज एशोसिन अफ नेपाल (टान)को सहयोग रहने संघको पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व सदस्य रामचन्द्र अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width