नेपालको पर्यटन प्रवद्र्धनमा जर्मनीमा कार्यक्रम

रासस
वैशाख २८, २०७६
RSS-_05042019_Germanyphoto

काठमाडौँ, २८ वैशाख । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरियो ।

नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन–नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोनमा भएको विशेष कार्यक्रममा नेपालको पर्यटन विकासका बारेमा विभिन्न कार्यपत्र, सांस्कृतिक कार्यक्रम, वृत्तचित्र प्रदर्शन तथा नेपालका सातै प्रदेशको चिनारी प्रस्तुत गरिएको थियो ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशको पूर्वाधार विकास, विभिन्न जातजातिको कला, संस्कृतिको जगेर्नामा ध्यान दिनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिइएको थियो । जर्मनवासीलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न तथा नेपालको भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले बताए । उनका अनुसार ३० वर्षदेखि वर्षेनी विभिन्न विषयमा नेपाल दिवस मनाउँदै आउने क्रममा यस वर्ष नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा सातै प्रदेशको पर्यटन प्रवद्र्धनलाई केन्द्रित गरी दिवसको आयोजना गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घका संरक्षक जीवा लामिछानेले नेपालको पर्यटन, लगानीको सम्भावना र नेपालको पर्यटन विकासमा डायस्फोराको योगदानका बारेमा प्रकाश पारेका थिए । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पनि सुखी नेपाली र समृद्ध नेपालको अभियानमा पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

विभिन्न समयमा नियुक्त हुनुभएका नेपालका लागि जर्मनीका राजदूतहरुले नेपालको परिवर्तित राजनीति, लगानीको सम्भावना र पर्यटकीय सम्पदाहरुका बारेमा आ–आफ्ना धारणा राखेका थिए । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले पठाउनुभएको शुभकामना मन्तव्य पढेर सुनाइएको थियो ।

कार्यक्रममा जर्मनका लागि नेपाली राजदूत रमेश खनाल, काउन्सिलर विशाल भट्टराई, कोलोनका मेयर हाम्स भेर्नर वार्चलगायत जर्मनीमा रहेका नेपाली तथा नेपालप्रेमी जर्मनीका नागरिकहरु गरी करिब पाँच सयको सहभागिता रहेको थियो । सो अवसरमा बोर्डका सदस्य अभदेश कुमार दासले सातै प्रदेशको पर्यटनको सम्भावना र चितवन राष्ट्रिय निकुन्जका रामकुमार अर्यालले प्रकृति र वन्यजन्तु पर्यटन विषयक कार्यपत्र, फोटो पत्रकार किशोर कायस्थले मुस्ताङको पानोरमा चित्र, पत्रकार अखण्ड भण्डारीले चेपाङसम्बन्धी वृत्तचित्र तथा सङ्गीता दासले मिथिला कलाको प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा नेपाली कला संस्कृति झल्किने लोक नृत्यको प्रस्तुति तथा नेपाली खानाको परिकार राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width