गण्डकीको सत्ता राजनीति, राप्रपासँग चाबी, कांग्रेस अझै आशावादी

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०८०
Gandaki Cabinet building

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिएका छन् । माओवादीको समर्थन फिर्तापछि करिब १ महिना अल्पमतको सरकार चलाएका उनले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । संसद फेस नगरी पाण्डेले राजीनामाको बाटो रोजे । उनको राजीनामा लगत्तै प्रदेश प्रमुख डिल्लिराज भट्टले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । चैत २७ गते ३ बजेसम्मको समयसीमा दिएर मुख्यमन्त्री दाबीका लागि आह्वान गरेका हुन् । तर दलहरु नयाँ सरकार गठनका लागि तयार देखिएका छैनन् । कारण संसदीय अंकगणित हो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसको २७ सीट छ भने एमालेसँग २२, माओवादीसँग सभामुखसहित ८, राप्रपासँग २ र अर्का एकजना स्वतन्त्र सांसद छन् । सत्ता गठबन्धनभित्र गण्डकीको नेतृत्व एमालेले पाउने सहमति बने पनि केन्द्रको समीकरणले गण्डकीमा उसको सरकार बन्दैन । कांग्रेस त झन् बहुमत जुटाउन नसकेर सत्ताविमुख भएको छ ।

अब गण्डकीमा सत्ताको तालाचाबी राप्रपाको पोल्टामा परेको छ । राप्रपाले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने पक्कापक्की जस्तो छ । यद्यपि राप्रपाले नयाँ सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय लिएको छ । राप्रपाको केन्द्रीय पदाधिकारी बैठकको निर्णयले प्रदेश सरकार बन्नेमै अन्योल थपेको छ । राप्रपाको निर्णयले उपधारा (२) अनुसारको सरकार नबन्ने लगभग पक्का भएको छ । मुख्यमन्त्री दाबी गर्न सभामुख बाहेक ३१ सांसदको समर्थन चाहिन्छ । चुनाव जितेर एकीकृत समाजवादी पसेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पार्टी त्यागेर फेरि स्वतन्त्र बनेका छन् । उनी केन्द्रको समीकरण फेरिने बित्तिकै पार्टी त्यागेर पाण्डे सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान

नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटाले पनि माओवादीबाट अलग हुन चाहेका छन् । उनी माओवादीको चुनाव चिन्हबाट लडेका थिए । कानुनले दिएको अधिकार प्रयोग गरेर चुनाव लडेकोले आफ्ना सांसदलाई माओवादीको ह्वीप नलाग्ने नेसपाको जिकिर छ । राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ ले दुई वा सो भन्दा बढी दलहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्न सक्ने व्यवस्था गरेको छ । देवकोटा पार्टीको निर्देशन कुरेर बसेका छन् । ‘कि पार्टी छोड्नुप¥यो । नत्र पार्टीको निर्णय माननुप¥यो,’ उनी निकट स्रोतले भन्यो, ‘उहाँ पार्टीको निर्णय कुरिरहनुभएको छ । नेसपा प्रदेशको संकटमा पर्दा टुलुटुलु हेरेर बस्दैन ।’ पार्टीले गर्ने निर्णय स्वीकार्ने उनले बताएका छन् ।

सत्ताको सम्भावित समीकरण
एमाले–माओवादी–राप्रपा (३२)
काँग्रेस–राप्रपा–मनाङे–देवकोटा (३१)
काँग्रेस–माओवादी (३५)
काँग्रेस–एमाले (४९)

एमाले संसदीय दलका उपनेता लीलाबहादुर थापाले गण्डकीको सत्ता समीकरणको तस्बिर स्पष्ट हुन नसकेको बताए । ‘माथिकै समीकरण के हुने हो भन्ने प्रष्ट छैन । जसले सक्छ, जे गर्न सक्छ त्यस्तै भइरहेको छ । विधि र विधान भन्दा खेल खेल्ने क्रम सुरु भएको छ,’ उनले भने, ‘एमाले र माओवादीको मात्रै सरकार बन्दैन । राप्रपाले सहयोग गरे हाम्रो सरकार बन्छ, नभए सजिलो छैन ।’ थापाले राप्रपासँगै मनाङे र देवकोटाको भूमिकामा पनि सत्ता केन्द्रित हुने तर्क गरे । यसअघि नै राप्रपासँग मिलेर सरकार बनाएको नजिर भएकोले अहिले पनि राप्रपाले नयाँ गठबन्धनलाई नै समर्थन गर्ने उनले दाबी गरे । ‘हिजो हामीले राप्रपासँग समन्वय गरेर सरकार बनाएको नजिर छ,’ उनले भने, ‘केन्द्रको नेतृत्व र यहाँको नेतृत्व सहभागी भएर प्याकेजमा डिलिङ गर्नुपर्छ । त्यसले परिणाम दिन्छ ।’

विकसित घटनाक्रम हेर्दा धारा १६८ (३) अनुसार पुनः सुरेन्द्रराज पाण्डे नै मुख्यमन्त्री बन्ने सम्भावना छ । तर उनले पनि विश्वासको मत पाउने सम्भावना कम छ । विश्वासको मत नपाए उपाधारा (५) अनुसार बहुमत जुटाउन सक्ने जुनसुकै सांसदले मुख्यमन्त्रीमा दावी गर्न सक्छन् । उक्त उपधारामा सांसदलाई दलको ह्वीप नलाग्ने भएकोले सरकार बन्ने सम्भावना देख्छन् जानकारहरु । पाण्डे गत वैशाख १४ गते तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई ‘रिप्लेस’ गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आफ्नो कार्यकाललाई सन्तोषजनक भएको दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width