‘गोर्खा वारियर’ को पोखरा प्रिमियर

आदर्श समाज सम्वाददाता
फागुन ७, २०८०
gurkha warrior pkr premire

पोखरा, । अन्तर्राष्ट्रिय नेपाली फिल्म ‘गोर्खा वारियर’ लाहुरेहरुको सहर पोखरामा भव्य प्रिमियर गरिएको छ ।

सोमबार साँझ मिड टाउन सिनेमा हलमा फिल्मको ग्रान्ड रेड कार्पेट प्रिमियर भएको हो । गण्डकी प्रदेश सभाका उपसभामुख विनाकुमारी थापा प्रमुख अतिथि रहेको प्रिमियरमा नायक रितेश चाम्स, नायिका रेविका गुरुङ, फिल्मका अन्य कलाकार, प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम), विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रबुद्ध वर्ग, भूपू गोर्खा, राजनीतिकर्मी, फिल्मकर्मी, कलाकार, पत्रकार लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । कतिपय दर्शक आफ्नो जातीय पोशाकमा उपस्थित थिए । अतिथिको सम्मानमा प्रहरीको ब्यान्ड टोलीसमेत पुगेको थियो ।

फिल्म हेरिसकेपछि अधिकांशले गोर्खालीको वीरता देखाउने यो फिल्मले साँच्चिकै मन छोएको बताए । उपसभामुख थापाले फिल्मले विश्वभर चिनारी बोकेको वीर गोर्खालीको अदम्य साहस र पौरख पस्किएको जनाइयो ।

मिलन चाम्स निर्देशिक यो फिल्मबाट अभिनयमा डेब्यु गरेका नायक रितेश चाम्सले पोखराको गल्ली गल्लीमा आफ्नो सामीप्यता रहेको भन्दै पोखरा प्रिमियरबाट खुसी व्यक्त गरे । खोटाङका यी ब्रिटिस लाहुरे खासमा क्याप्टेन हुन् । उनले थुप्रै पटक विमान उडाएका छन् । सन् २०१६ मा अडिसनमार्पmत नायकमा इन्ट्री गरेका उनले फिल्मकै लागि जल, थल र वायुमा आवश्यक पर्ने सिनका लागि विभिन्न तालिम लिएका छन् । बेलायतको पाइन उड स्टूडियोमा अभिनयमा मास्टर्स गर्ने उनी पहिलो नेपाली हुन् ।

अभिनेत्री रेविका गुरुङले फिल्म प्रदर्शनको दिन नजिकिँदा निकै उत्साहित बनेको बताइन् । उनले छायांकनको बेला फिल्मको कथा सुनेर आफू रुने गरेको स्मरण गरिन् । उनले सबैको सहयोग र मायाप्रति धन्यवाद दिइन् ।

आदिवासी जनजाति चलचित्र महासंघका अमृतकुमार सुनुवारले वीर गोर्खालीले विदेशी भूमिमा गएर के योगदान गरेका थिए भन्ने फिल्मबाट छर्लंग हुने बताए ।

फिल्मले ७० वर्षअघिको नेपाली समुदायको रहनसहन झल्किने फिल्ममा नेपालीले मलाया युद्धमा वीर गोर्खालीले कसरी लडे भन्ने यथार्थ कथा पस्किन्छ । गोर्खालीको हजारौं कथामध्ये जंगल युद्धको जनरामा निर्मित यो एउटा कथा हो । फिल्ममा दुस्मनका विरुद्ध निरन्तर लडिरहने बिर्खे, धने जस्ता पात्रले दर्शकलाई २ घण्टा १० मिनेटसम्म बाँधेर राख्छ । नेपाली समुदाय झल्किने पुरानोखालको सेटिङले पक्कै पनि दर्शकलाई विगतको नेपाल देखाउँछ ।

लन्डनको लेस्चर स्क्वायरमा समेत ग्रान्ड प्रिमियर यो फिल्म ऐतिहासिक फिल्म हो । सन् १९४९ वरिपरि घुम्ने यो फिल्ममा मलाया युद्ध नेपालीले के–कस्तो अवस्थामा लडेका थिए, तिनको परिवार तथा जीवनसमेत फिल्मले समेट्ने प्रयास गरेको छ ।

आगामी ११ फागुनदेखि रिलिज तयारी रहेको फिल्म अब ९ फागुनमा काठमाडौंमा प्रिमियर हुने निर्माण पक्षले जनाएको छ । यसअघि धरान, बुटवलमा पनि फिल्म प्रिमियर भइसकेको छ । पोखरा प्रिमियर कार्यक्रमको सञ्चालन सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width