‘धनगढी–पोखरा सिधै हवाई सेवा हुनुपर्छ’

आदर्श समाज सम्वाददाता
पौष ३, २०८०
jaau hai pokhara

पोखरा । झण्डै दुई वर्ष अघि सुरु भई पछि स्थागित हुन पुगेको धनगढी–पोखरा सिधा हवाई सेवालाई पुन निरन्तरता दिनुपर्नेमा दुवै सहरका व्यवसायी एकमत देखिएका छन् । होटल संघ पोखरा र नेपाल पर्यटन बोर्ड गण्डकीले सञ्चालन गरेको जाऊँ है पोखरा अभियानको चौंथो दिन सोमबार धनगढीमा आयोजित कार्यक्रममा हवाई सेवा पुन सुचारु गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

२०७८ सालको फागुन महिनामा गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीबिच बुद्ध एयरले पोखरा–धनगढी सिधा उडान आरम्भ गरे पनि उक्त सेवा लामो समय टिक्न सकेन । अन्तरप्रदेश पर्यटन प्रवद्र्धनको उद्देश्यसहित सञ्चालित उक्त सेवाअन्तर्गत सातामा ३ दिन उडान हुने गरेको थियो ।

धनगढीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले २ सहरबीच हवाई सेवा पुनस्र्थापित हुन सके आन्तरिक पर्यटकका अतिरिक्त उत्तर भारतबाट धनगढी हुँदै पोखरा पुग्ने पर्यटकसमेत लाभान्वित हुने तर्क गरे । सुदुरपश्चिमबाट पोखरासम्म स्तरीय बससेवा सञ्चालनमा समेत उनले जोड दिए ।

सुदुरपश्चिमका पर्यटन व्यवसायी मायाप्रकाश भट्टले २ सहरबीच हवाई सेवा सुचारु भए पर्यटक आदानप्रदानमा सहजता थपिने बताए । सो सेवाले लखनउबाट आउने भारतीय पर्यटकलाई पोखरा पुग्नसमेत सहज हुने उनले सुनाए ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले स्थानीय कला, संस्कृति र उत्पादनलाई बढवा दिन सके पर्यटनले फस्टाउने मौका पाउने बताए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सचिव जीवनाथ पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र, होटल व्यवसायी महासंघका सचिव कलमबहादुर बम, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पर्यटन व्यवसायी शिवहरि पाण्डे, होटल व्यवसायी केशव पाण्डे र होटल संघ पोखरा नेपालका सचिव पार्वती पाण्डेले भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width