झोलुंगे पुलमा नमुना गण्डकी

धनबहादुर गुरुङ
कार्तिक २२, २०८०
Gandaki Bridge Photo

प्रदर्शनीमा राखिएको एक फोटो, जहाँ पर्वत र बागलुङ जोड्ने ९ पुल देख्न सकिन्छ

पोखरा । झोलुंगे पुल गण्डकी प्रदेश व्यवस्थापक नवराज मोक्तान नेपालमा झोलुंगे पुलको इतिहास राणाकालीन समयबाट सुरु भएको बताउँछन् । ‘राणाकालमा झोलुंगे पुल बन्न सुरु भएको देखिन्छ । त्यो समयमा ३० वटा जति पुल बनेको पाइन्छ,’ उनले भने, ‘त्यो समयमा पनि चन्द्रशमशेरको पालामा इट्टा र सुर्खीको पर्खालबाट साङ्लोको पुल बनाएको भेटिन्छ ।’

सोही समयतिर काठेपुल बनाएर खोला तर्ने गरिएको उनले बताए । त्यसपछि बागलुङ र वरिपरि स्थानीयस्तरबाट पुल बनाउन सुरु भयो । ‘त्यो बेला पल्टनमा पुल बनाउँदै सेना वारपार गर्ने गरेको बागलुङका एक इन्डियन आर्मीले नेपाल आएर त्यही सिप प्रयोग गरेर पुल बनाउन सुरु गरे,’ उनले भने, ‘उनीहरूले बिनाडिजाइन पुल बनाउन बनाउँथे । उनीहरूले एकैनाशको लठ्ठा, जग, पर्खाल बनाउँथे । बागलुङमा त्यस्ताखालका पुलहरू प्रशस्त छन् । त्यस्ताखालका पुललाई हामी बागलुङे टाइपको पुल भन्थ्यौं । ती पुल अहिले पनि ठाउँ–ठाउँमा देख्न पाइन्छ ।’

नेपालमा सरकारले झोलुंगे पुल बनाउने भएपछि सोही पुललाई निरन्तरता दिएको व्यवस्थापक मोक्तान सम्झन्छन् । ‘नेपालमा झोलुंगे पुलको कार्यालय सुरु हुने समयमा त्यो स्थानीय प्रविधि नमरोस् भनेर पोस्ट फाइनान्सको नीति लियौं,’ उनले भने, ‘उनीहरूले आफ्नो प्रविधिअनुसार पुल बनाउने र सम्पन्न भएपछि राहत दिने पनि गर्‍यौं ।’

विकासक्रम हुँदै जाँदा २०२१ सालमा सस्पेन्सन ब्रिज डिभिजन स्थापनापछि स्विस सरकारको सहयोगमा झोलुंगेको विस्तार भयो । सो समयमा पनि बागलुङमा केही पुल थपिए । २०८० असार मसान्तसम्मको तथ्यांकअनुसार बागलुङ जिल्लामा ४ सय ९१ पुल बनेका छन् ।

नेपालभर नै सबैभन्दा धेरै झोलुंगे पुल भएको भएकोले गण्डकी प्रदेशअन्तर्गत बागलुङलाई ‘झोलुंगे पुलेको जिल्ला’ भनिन्छ ।

यस्तै, सिंगल स्पानमा एसियामा लामो पुल बागलुङ र पर्वत जोड्ने पुल भएको छ । नदीबाट अग्लो पुल पर्वतमा छ । यी सबै जिल्ला गण्डकी प्रदेशभित्र नै पर्छन् । त्यसैले पनि यो प्रदेश झोलुंगे पुलका लागि नमुना रहेको पूर्वाधार विकास निर्देशनालय, पोखराका निर्देशक डा. महेन्द्रबहादुर बानियाँले बताए ।

आर्थिक वर्ष २०७९/०८० को अन्तिमसम्म १० हजार ४ सय ९ बनेकोमा गण्डकी प्रदेशमा २ हजार ६४ पुल बनेको निर्देशक डा. बानियाँले बताए । प्रदेशका ११ जिल्लामा बनेका पुलमध्ये बागलुङमा मात्र ४ सय ९१ पुल बनेको उनले सुनाए ।

सरकारले स्विस सरकारको हेल्भेटासमार्फत नेपालमा पुल निर्माण भइरहेको व्यवस्थापक मोक्तानले सम्झिए । राणाकालबाट सुरु भएको झोलुंगे पुल निर्माण क्रमले सन् २००० सम्म आइपुग्दा नेपालमा १ हजार झोलुंगे पुल बनेको उनले बताए । त्यसपछि २०१० मा ५ हजार निर्माण भए । यो बीचमा धेरै प्रगति भएको उनको भनाइ थियो । उनले भने, ‘२०१० सम्म आइपुग्दा धेरै नियम र डिजाइनहरु विकास भए । नम्स, स्ट्यान्र्ड डिजाइन, निर्देशिका, रणनीतिहरू बनाइयो ।’

सन् २००७ तिर नेपालमा कति पुल आवश्यक छ भन्ने विषयमा अध्ययन भएको पनि उनले बताए । ‘एनजिओ र कन्सल्ट्यान्ट लगाएर अध्ययन गर्दा त्यो बेलाको अवस्थामा साढे १० हजार पुल आवश्यक देखियो,’ उनले भने, ‘२००९ देखि क्षेत्रगत अवधारणाका आधारमा ३ फ्रेमवर्कमा विभाजन गरी काम सुरुआत भयो । २००९ देखि २०१४ सम्म फ्रेमवर्क वान, १४ देखि १९ सम्म फ्रेम वर्क टु र १९ बाट अहिलेसम्म थ्री फ्रेमवर्कमा काम सकिएको छ ।’ सोही आधारमा नेपालमा १० हजार ४ सय ९ बनेका उनले सुनाए ।

नेपालमा १० हजारभन्दा बढी पुल बनेको सन्देश प्रवाह गर्न मंगलबार फेवाताल किनारमा पूर्वाधार विकास निर्देशनालयले फोटो प्रदर्शनी आयोजना गर्‍यो ।

प्रदर्शनीको गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य लगायतले अवलोकन गरे । प्रदर्शनीमा नेपालमा बनेका महŒवपूर्ण झोलुंगे पुलका ऐतिहासिक फोटो राखिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width