ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित   

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
kagati

ढोरपाटन (बागलुङ) ।  फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।

सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन् । किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले बताउनुभयो ।

गवारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोटनै मर्ने गरेको पुन मगरको भनाइ छ । किसानले तत्काल सुक्न थालेका हाँगालाई समयमै काटेर फाले बोट मर्नबाट जोगिने उहाँले बताउनुभयो । प्रायः कागतीमा लाग्ने यो रोग समय–समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, “ढुसी र काण्डको गवारो रोग लाग्दा कागतीका हाँगा मर्ने गर्दछ, यसको रोकथामका लागि किसानहरु पनि सजक हुनुपर्छ । सुक्न थालेका हाँगा बेलामै काट्नुपर्ने हुन्छ । यो समस्या अहिले जिल्लाको निसीखोला र यसको आसपासका ठाउँमा देखिएको छ ।”

निसीखोला गाउँपालिकाका नरबहादुर बुढा मगरले बगैँचामा लगाएको ६० बोटमध्ये ३४ बोट मर्न थालेको बताउनुभयो । टिप्ने बेलाको कागतीका दाना खस्नुका साथै बोटनै मरेको बुढा मगरले बताउनुभयो । अघिल्लो वर्ष लगाएका विरुवा समेत मर्न थालेको उहाँको भनाइ छ । दुई वर्षदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउने उहाँले आफ्नो करिब तीन लाखको क्षति हुने बताउनुहुन्छ ।

“बारीमा छ÷सात वर्ष पहिले लगाएका कागतीका रुख थिए । सुरुमा ती रुखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो,” उहाँले भन्नुभयो, “यसरी बोटनै मर्दै गए भने त मेरो लाखौँको लगानी डुब्छ, कसरी सुरक्षा दिने होला ?”

स्थानीय पूर्णबहादुर क्षेत्रीले ९० बोटमध्ये ७० भन्दा बढी बोटमा रोग देखिएको बताउनुभयो । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्ष भने कुनै समस्या नदिएको उहाँको भनाइ छ ।

बागलुङ जिल्लामा हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती छ । पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width