पोखरा । मात्र एक सुका कप चिया । साढे ३ रुपैयाँमा खाना । बास सित्तैमा । २०२७ सालतिर घान्द्रुक पुग्ने पर्यटकले यही रकम बुझाउँथे । घान्द्रुकका होटल व्यवसायी शंकरमान गुरुङले पनि यो ‘रेट’ लिने गर्थे । उनले सञ्चालन गरेको होटलको नाम थियो–होटल मिलन । सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ । तर, शंकरमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ ।
२०२६ सालमा शंकरमानले घान्द्रुककै मेश्रम वराह स्कुलमा भर्खर–भर्खर पढाउन थालेका थिए । अंग्रेजी विषय पढाउने उनलाई भाषा नआउने कुरै भएन । सोही समयमा फाट्टफुट्ट गोरा छाला भएका पर्यटक पुग्थे । विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ उनैले देखाउँथे । त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ नामको होटलमात्र थियो । फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो । केहीलाई बास पाउनै मुस्किल । अन्तत: शंकरमान आफैँले घरमा पाहुना राख्ने निधो गरे । समयक्रमैसँगै जन्मिएको थियो, उनको होटल ।
‘४ बजे छुट्टी भएर घर फर्किंदा विदेशी टुरिस्टहरु बाटोमा भेटिन्थ्यो,’ शंकरमान २०२६ सालतिर फर्किए, ‘उनीहरुले यहाँ लजिङ फुडिङबारे सोध्थे । त्यो बेला यहाँ फिस्टेल बाहेक अरु होटल थिएनन् । त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे ।’
घरमै सेवा दिँदा सुरुमा त आफूले फ्रिमै राखेको उनी सम्झन्छन् । ‘हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो । त्यो बेला पैसा लिने चलन थिएन,’ उनले सम्झे, ‘बिहान टे«किङ जाने बेला कति हो, के हो भनेर सोध्थे । हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थेँ । उहाँहरु आफैले अलि–अलि पैसा छोडेर जान्थे । अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो ।’
होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि शंकरमानले सम्झिए ।
होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उनले सम्झिए । ‘कुल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे,’ उनले भने, ‘मैले वास्ता गरिनँ । होटल सञ्चालन थाले । अहिले चाहिँ सबैले मेरो कपी गरेका छन् ।’
३ जुन, १९५० अर्थात् २००७ जेठ २१ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि त अन्नपूर्ण पदमार्गले चर्चा पायो । पर्यटकीय गाउँ घान्द्रुक पन आकर्षणको केन्द्र बन्न थाल्यो । ‘गोराहरुको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो । तर, एक रात घान्द्रुक बसेर उकालो चढ्थे,’ उनले भने, ‘त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन । पोखराबाट नै टुरिस्ट आउँथे । उनीहरुलाई होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो ।’
घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो । तर, शंकरमानले होटल मिलनबाट पाहुनाको सेवा गरिरहे । उनले पाहुनालाई साथीको व्यवहार गरे । सोही कारण पनि उनको पर्यटकसँग पुरानो सम्बन्ध छ । एक पटक आएका पाहुना फर्की–फर्की आउने गरेको शंकरमान बताउँछन् । उनले भने, ‘होटलका कारण विदेशी पर्यटक साथी बने । मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन् । सिंगापुर, जापान सबैतिरका साथीहरु भेट्न हरेक वर्षजसो आउँछन् ।’
७८ वर्षीय शंकरमान उमेर ढल्किदै गएपछि विस्तारै व्यवसायबाट टाढा हुने सोचमा छन् । ‘काम गर्ने भनेर मात्र नहुने रहेछ । अब नसके अवस्थामा पुगेको छ,’ उनले भने, ‘अब छोराबुहारीहरुलाई गर भनेर छोड्ने सोचमा छु ।’ सुरुमा हेयको भावले हेर्ने घान्द्रुके अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उनलाई अहिले खुसी लाग्छ ।
‘सुरुमा मैले नै सबैलाई यसो गर्नुपर्छ भनेर सिकाएको हुँ । अहिले सबैलाई राम्रो भएको छ,’ उनले भने, ‘मैले एक सुका कप चियाबाट सुरु गरेको व्यवसाय १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु । अहिले कोठाको १२ सय, खानाको दालभातको ५५० चियाको ७० रुपैयाँ भएको छ ।’ घान्द्रुकमा होटलका पायोनियर शंकरमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारण सभामा सम्मानसमेत गरेको छ ।
शंकरमानको सिको गर्दै विस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार घान्द्रुकका करिब ३ सय घरधुरीमध्ये १ सय ५ मा विभिन्न व्यवसाय सञ्चालित छ । जसमा ५५ होटल, १८ होमस्टे र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन् । घान्द्रुकमा होटल तथा होमस्टे गरी ७ सय २० कोठामा एकै दिन २ हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
ॐ कैलाश शिवढुंगा शिवशक्ति महापीठधामले स्मारिका प्रकाशन गर्ने
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०