घान्द्रुक घुम्न चक्रीय पदमार्ग

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८०
Ghandruk Treking Route Photo 2

पोखरा । नभ्री थेव मेश्रम बराह र ७ सय घान्द्रुक मेश्रम बराह वारिपारि छ । एउटा बराहबाट अर्कोमा पुग्न झण्डै ४५ मिनेट लाग्छ । दुवै बराहको उत्तिकै महत्व छ । घान्द्रुकेहरुले पुज्ने बराहमा घान्द्रुक घुम्न पुग्ने पर्यटकले अवलोकन र दर्शन गरुन भन्ने गाउँलेलाई लाग्छ । तर, त्यो बाटो अहिलेसम्म प्रचारमा आउन सकेको थिएन ।

घान्द्रुकभन्दा माथिल्लो भेगको यो क्षेत्रमा भेडा बाख्रा र भैसी चरन रहेको स्थानीय कृष्णबहादुर गुरुङले बताए । सोही कारण त्यस क्षेत्रमा कोही जान चाहन्थेनन् । तर, आफूहरुले मान्दै बराह क्षेत्रमा पर्यटक गए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाए । गाउँबाट बराह क्षेत्रसम्म पर्यटन पुगे उनीहरुको बसाइ पनि लम्बिने उनको सोच्दै आएका थिए । सोही चाहना र सोचलाई गुरुङले मुर्तरुप दिने योना बनाए । उनी आफै पनि घान्द्रुक पर्यटन व्यवस्थापन समितिको कोषाध्यक्ष हुन् । सोही कारण उनले कार्यसमितिमा कुरा राखेर चक्रीय पदमार्गको अवधारणा अघि सारे ।

समितिको अवरधारणालाई गाउँलेले पनि साथ दिए । समितिले पदमार्गमा सहयोग गर्न गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमा सहयोग माग गर्‍यो । मन्त्रालयले ५ लाख रुपैयाँ सहयोग गर्ने भयो । त्यसमा अझै बढी रकम आवश्यक पर्ने थियो । समितिले थप रकम जुटाउने गरी काम सुरु गर्‍यो । ४ किलोमिटरको दुरीमा रहेको उक्त चक्रीय पदमार्गको २ किलोमिटर क्षेत्रमा वन छ । सोही वन क्षेत्रबाट काम सुरु भयो । पहिलो चरणमा करिब १ किलोमिटरमा स्तरोन्नतिको काम सकिएको छ ।

सोही क्षेत्रको उद्घाटन गर्दै घान्द्रुक चक्रीय पदमार्ग सुरुआत गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले बिहीबार उद्घाटन गरेका छन् । उक्त पदमार्ग मन्त्रालयको ५ लाख र समितिको १ लाख ५० गरी ६ लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘घान्द्रुक कल्चर र नेचरको धनी गाउँ हो । यसमा चक्रिय पदमार्गले अझै टेवा पुग्ने छ,’ उनले भने, ‘प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोही अनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो ।’ पदमार्गले २ वटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको उनले सुनाए । पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७ सय घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुँदै बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यवसायीलाई पनि गुहार्ने योजना रहेको उनले सुनाए । ‘यो करिब ४ किलोमिटरको दुरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,’ उनले भने, ‘यसका लागि सरकार गुहार्ने कुरा त छँदैछ अझै घान्द्रुकको होटल व्यवसायीलाई पनि भन्ने अनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।’

पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको घान्द्रुक बसाइँ लम्बिने स्थानीय अमृत गुरुङले बताए । यो पदमार्गको करिब २ किलोमिटर क्षेत्रमा वनजंगल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो । ‘यो पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइ अवश्य लम्ब्याउँछ,’ उनले भने, ‘यसको आधा भागमा वनजंगल पर्छ । यहाँ चराचुरुंगीको आवाजसँगै बन्यजन्तुहरु मृग, स्याल, वनकुखुरा अवलोकन गर्न सक्छन् ।’ पलमार्गमा चिया बगानसँगै फागुन चैतमा लालिगुराँससँग रम्दै समय बिताउन सक्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width