नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुने

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०८०
drama karesa concert 2

पोखरा । पोखरा थिएटर प्रस्तुतिमा नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुने भएको छ । यसअघि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा प्रदर्शन गरिएकोमा आमदर्शक लक्षित गरी पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुने भएको हो ।

अञ्जु दाहाल निर्देशित यो नाटक केदार श्रेष्ठले लेखेका हुन् । नाटकमा हाम्रो करेसाबारीमा हुने फर्सी, प्याज, गोलभेंडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, कार्को, मूला, खुर्सानी, बेसारको स्वभाव र विशेषताबारे रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जुन बालबालिकाका लागि बढी रुचिकर हुन सक्छ ।

नाटकमा तरकारीको स्वभाव र विशेषताबारे रमाइलो शैलीमा बुझाउन खोजिएको छ

नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमाया अञ्जु दाहाल, गोलभेंडा रोशनी रामदाम, लसुन दिप्सना विश्वकर्मा, साग अनुशा परियार, करेली रञ्जु दाहाल, अदुवा समीर पुन, लौका नम्रता ढकाल, धनियाँ पूर्णिमा अर्याल, काकरी सोनिया कार्की खत्री, मूलाबाबु रायन गुरुङ, भाले रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले अभिनय गरेका छन् । नाटककै लागि स्टेज करेसाबारीको रुपमा निर्माण गरिएको छ ।

लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए । निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण बन्ने बताइन् ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेसरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र आमनाटकप्रेमीको लागि समेत उत्तिकै रुचीकर हुने बताउँछन् । १ घण्टा १० मिनेट लामो नाटकको अर्को महत्वपूर्ण पाटो संगीत हो । संगीत संयोजक कमल केसीले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width