‘स्व. सीता दाहाल असाधारण क्षमताकी प्रतिमूर्ति’

आदर्श समाज सम्वाददाता
श्रावण २, २०८०
sita dahal

हेमजा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी एवं नेकपा (माओवादी केन्द्र) सल्लाहकार सीता पौडेल दाहाल असाधारण क्षमताकी प्रतिमूर्ति रहेको चर्चा गरिएको छ ।

स्व. सीता दाहालको सातौं दिनको पुण्यतिथिमा माओवादी केन्द्र पोखरा–२५, हेमजाद्वारा मंगलबार जन्मगाउँ हेमजामा आयोजित श्रद्धाञ्जली सभाका वक्ताले उनको योगदानको स्मरण गरे । उनीहरुले स्व. सीतामा असाधारण क्षमता रहेको भन्दै उनी कर्मठ, साहसी, दूरदर्शी, त्यागी भएको चर्चा गरे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बरालले शोकलाई शक्तिमा बदल्दै स्व. दाहालले देखाएको बाटो आत्मसात गरेमात्रै उनीप्रति सच्चा सम्मान हुने उल्लेख गरे । पार्टीभित्रको अन्तरविरोध हल गरी सन्तुलन मिलाउन सक्ने उनी दूरदर्शी नेताका रुपमा चित्रण समेत गरे ।

एकीकृत समाजवादी केन्द्रीय सदस्य कृष्ण नेपालीले नेपालमा संघीय व्यवस्था लागु गर्न सीताको भूमिका महत्वपूर्ण रहेको औंल्याउँदै सीताको निधनसँगै हेमजा साच्चै शोकमग्न भएको उल्लेख गरे ।

नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले सीतालाई महान् नारीको संज्ञा दिँदै उनको योगदान इतिहासमा स्वर्णीम अक्षरले लेखिने जनाए ।

पोखरा २५ का वडाध्यक्ष तथा पोखरा महानगरपालिका प्रवक्ता मोतिलाल तिम्सिनाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सीताको भूमिका अमूल्य रहेको स्पष्ट पार्दै दाहालको चिरशान्ति र बैकुण्ठवासको कामना गरे ।

त्यस अवसरमा वडा कमिटी अध्यक्ष महादेव अधिकारी, कांग्रेस वडा उपसभापति दानबहादुर भुजेल, एमाले वडाध्यक्ष ऋषिराम पौडेल, रास्वपा वडाध्यक्ष भरतराज अधिकारी, समाजसेवी भीमप्रसाद श्रेष्ठ, देवीस्थान भजन समूहका अध्यक्ष भरतचन्द्र गौतम, माइती पक्षबाट हेमजा सञ्चार सहकारीका अध्यक्ष अर्जुन पौडेललगायतले क्रान्तिमा परिवार नै होमिनु सीताको सवल पक्ष भएको, माओवादी आन्दोलनले मजदुर, किसान र तल्लो वर्गका जनतालाई माथि उठाएको, सरकारको दुरुपयोग नगरेको भन्दै उनको व्यक्तित्वको चर्चा गरे । वडा कमिटी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश सापकोटाले स्वागत र सल्लाहकार माधवशरण पौडेलले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width