१८ औं संस्करणको लेखनाथ महोत्सव तयारी

रामशरण नेपाली
मंसिर १७, २०७९
Lekhanatha Press Meet

लेखनाथ, १७ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले पुस पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव–२०७९ गर्ने भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ सम्म पोखरा–२७, तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जनाएको हो ।

संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक छत्रधर आत्रेयले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सव परिस्कृत बन्दै २०६१ सालदेखि वार्षिकरुपमा लेखनाथ महोत्सव गर्दै आएको बताए । स्थानीयस्तरमा उत्पादित बस्तु, औद्योगिक एवं दैनिक उपभोग्य बस्तु तथा सेवा प्रवद्र्धन गर्दै कोभिड १९ तथा रुस युक्रेन युद्धजस्ता कारणले थला परेको अर्थतन्त्र चलायमान बनाउनु नै महोत्सवको मूल उद्देश्य रहेको बताए । सो अवसरमा लेखनाथमा पर्यटकीय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने पनि आत्रेयले बताए । लेखनाथ महोत्सव मनोञ्जनात्मक पक्षबाट मात्र नभै उपलब्धिमूलक हुने अपेक्षासहित आयोजना गरिएको उनको दाबी छ ।

पुस ७–१८ सम्म संचालन हुने १८ औं लेखनाथ महोत्सवमा १० करोडको आर्थिक कारोबार अपेक्षा

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३ सय ३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचारप्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

महोत्सवमा १० करोड बरावरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा ९५ लाख आम्दानी भई १० लाख बचत गर्ने आयोजकको लक्ष्य छ । बचत प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थल प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना छ ।

महोत्सवले अर्थतन्त्र चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट, औद्योगिक उत्पादन, लघु घरेलु तथा साना उद्योगको प्रवद्र्वन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, जातीय, भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, पर्यटक प्रवद्र्धनमा सघाउ पुग्ने जनाइएको ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन् । कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट महोत्सवका थप आकर्षण रहने छन् ।

पत्रकार सम्मेलनमा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले लेखनाथ महोत्सबले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताउँदै आगामी दिनमा समयसापेक्ष परिस्कृत गर्दै जानुपर्ने सुझाव दिए ।
संघका महासचिव उपेन्द्र सुवेदी (राजु) ले संचालन र वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । महोत्सवको मुख्य प्रायोजक सगरमाथा इन्स्योरेन्स र सहप्रायोजक राष्ट्रिय वाणिज्य बैंक हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width