पोखरा । ‘यो साल दसैंमा च्यांग्रा लिन हामी जोकोहीलाई मुस्किल पर्ने अनुभव गर्दै छु । मूल्य सुनेर त्यतिकै फर्केको छु ।’
पोखरा नयाँबजारका देवेन्द्रकुमार शेरचनले बुधबार फेसबुकमा पोस्ट गरे । उनको यो पोस्टबाट थाहा हुन्छ कि, यो वर्ष च्यांग्राको अस्वभाविक भाउबारे ।
विगतको दसैंमा च्यांग्राको मासुसँगै मनाउने गरेका उनी पोखरा झरेको पहिलो लटमा खोजेजस्तो भेटिने भन्दै याम्दी क्षेत्र पुगेका रहेछन् । हेर्दै मोटो देखिने च्यांग्रा छानेर मूल्य सोध्दा दंग परे । ४० हजार रेट सुनाएपछि अलिपछि मूल्य घट्ला भन्ने आशमा फर्किए । ‘म त एउटा हुलमा गएँ । अरुमा गइनँ । हेमजातिर त एउटैको ५५ हजारसम्म भनेका छन् रे,’ उनले भने ।
दसैंलक्षित गरी पोखरामा भेडाच्यांग्रा भित्रिने क्रम सुरु भइसकेको छ । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याउने गरिएकोमा यसपालि पनि झर्ने क्रम सुरु भएको छ । तर किन्न जानेहरुमध्ये कोही मूल्य सुनेर जिभ्रो टोक्दै फर्किने गरेका छन् भने कोही दसैंमा जति महँगो भए पनि खानै पर्यो भन्दै डोर्याउँदै हिडेको पाइन्छ ।
मुस्ताङबाट करिब २ सय भेडाच्यांग्रा पोखरा झारेका गंगा केसीले रोज्जा च्यांग्राको मूल्य बढीमा ४७ हजार रुपैयाँसम्म पर्ने बताउँछन् । मुस्ताङमा खरिददर नै बढी भएकाले रेट बढेको उनले सुनाए । ‘मुस्ताङमै किन्दा एउटाको ४१ हजार पर्यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘चाइना बोर्डर नखुलेका कारण पनि उताबाट च्यांग्रा आएन अनि स्थानीयले भाउ बढाइहाले ।’
यसपालि चाइना बोर्डर नखुलेकाले स्थानीयले च्यांग्राको भाउ बढाएका हुन्
उनले तिब्बतबाट च्यांग्रा नआएले स्थानीयले मनलाग्दी भाउ बढाएको जनाए । ‘उतै महँगो छ । त्यसमाथि भेटेनरी, कर, तिर्नै पर्यो,’ उनले भने, ‘ल्याएरमात्र भएन, खोरको पैसा तिर्नुपर्छ । चराएको पैसा नि तिर्नै पर्छ ।’ उनले भने, ‘मुस्ताङबाट पोखरा झार्न ११ दिन लाग्यो । हाम्रो दुख पनि हेर्नै पर्यो ।’ सबै कारण महँगो भएको केसीको तर्क छ । गत वर्ष २७/२८ हजारसम्ममा च्यांग्रा बिक्री गरेको उनले सम्झे । आफूले ल्याएको भेडा पनि ४७ हजार रेटकै रहेको उनी सुनाउँछन् ।
बझाङबाट भेडा बिक्रीका लागि ल्याएका मोहन बोहराले एउटा रोज्जा भेडा ३० हजार पर्ने सुनाउँछन् । २ सयभन्दा बढी भेडा एक हप्तासम्म गाडीमा हालेर पोखरासम्म ल्याउँदा धेरै दुख पाएको उनी बताउँछन् । ‘सात दिनसम्म गाडीमा ल्याउँदा साह्रै दुख पाइयो । पिपरामा त खरिद गरेको बिल देखाएन भनेर एक दिन जेलमै राखे,’ उनले भने, ‘गाउँमा एकएक घरबाट बटुलेर ल्याएको भेडाको कसरी बिल देखाउने ? धन्न अर्को दिन छोड्यो ।’ खरिदमै २३ हजार परेको दाबी गर्ने उनी आफ्नो दुख र मिहिनतले भेडाको भाउ बढेको तर्क गर्छन् । हिमाली क्षेत्रबाट पोखरा झारिएका भेडाच्यांग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवल, चितवन, काठमाडौंसम्म पुग्ने गरेका छन् ।
दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुने गर्छन् । भेडाच्यांग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । यो वर्ष पोखराका लागि आवश्यक खसीबोका प्रबन्ध भइसकेको खसी बोका व्यवसायी संघ कास्की अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । यो वर्ष पोखरामा ५ हजार खसीबोका आवश्यक पर्ने उनको अनुमान छ । ‘दसैंका लागि तयारी थालिसकेका छौं । बजारमा अहिले ७/८ सय खसीबोका छन्,’ श्रेष्ठले भने, ‘अझै ३ हजार ५ सय आउनेक्रममा भएका कारण हामीले पोखरामा खसी बोकाको मासु अभाव हुन दिन्नौं । भेडाच्यांग्रा बढे पनि खसी बोकाको मूल्य भने बढेको छैन ।’ दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१