पोखरा । असार पहिलो दिनदेखि लगातार परेको वर्षाले हजारौं घर बगाएको छ । स्पष्ट तथ्यांक नआएपनि १० हजारभन्दा बढी विस्थापित भएका छन् । कोही छिमेकीको घरमा शरण लिएर बसेका छन् । कोही काठमाडौं, पोखरा र अन्य जिल्लामा बसाइँ सरेका छन् । खासगरी मनाङका स्थानीयले बढी जिल्ला छोडेका छन् । गण्डकीमा मनाङ सबैभन्दा पीडित जिल्ला हो । विद्युतदेखि खानेपानी, सञ्चार, सडकलगायत सबै सेवा अवरुद्ध छ । खाद्यान्न ढुवानी हुन सकेको छैन । पीडितहरु सरकारी कार्यालयको आड लागेर बसेका छन् । स्थानीयमात्रै होइन, नागरिकको दुखमा सँगै रहनुपर्ने सबैभन्दा नजिकको सरकार नै विस्थापित भएको छ ।
मनाङको नासों गाउँपालिका र गोरखाको धार्चे गाउँपालिका अहिले छिमेकी जिल्लाबाट सञ्चालन हुन थालेको छ । नासों गाउँपालिकाको अस्थायी कार्यालय लमजुङको बेंसीसहरमा सारिएको छ भने धार्चेको कार्यालय धादिङको आरुघाटमा झारिएको छ । ‘बैंकहरु बगायो । गाउँलेका घर हेर्दाहेर्दै मस्र्याङ्दीमा मिसियो । गाउँपालिकाको १ टुक्रा कागजपत्र पनि निकाल्न पाइएन,’ पालिका अध्यक्ष चन्द्र घलेले भने, ‘केही दिन गाउँ छोडेर ओडारमा बस्यौं । अहिले लमजुङबाट कार्यालय चलाउन थालेका छौं ।’ खासगरी सम्पन्न भएका योजनाको भुक्तानी र नयाँ बजेट निर्माणका लागि लमजुङमा अस्थायी कार्यालय खोलिएको उनले बताए । ‘काम सकेका उपभोक्ताको पैसा दिनुपर्छ । योजना सम्पन्न भएर पनि सबै संरचना खत्तम गरिदियो । त्यस्तो योजनाको पैसा कसरी दिने ? संघीय मामिलामा सोध्दै छौं,’ उनी भन्छन्, ‘गाउँलेको परिश्रम खान त भएन । त्यही सल्लाह भइरहेको छ ।’
मस्र्याङ्दीमा पालिका मिसिएपछि नयाँ कार्यालय राख्ने ठाउँ छैन । ‘गाउँपालिका नै कहाँ राख्ने भन्ने अन्योल छ । थोचें, दानाक्यु, धारापानी सबै मस्र्याङ्दीले खाइसक्यो,’ घलेले भने, ‘जाने कहाँ त ? तैपनि केहि समय कुरौं । बर्खा बाँकी नै छ । यो साम्य भएपछि सोचौंला ।’ नासोंले पालिका कार्यालय नभएकाले बजेट अझै बनाउन सकेको छैन । असार १० गते जसोतसो नीति तथा कार्यक्रम बनाए पनि बजेट ल्याउन केही समय अझै लाग्ने पालिकाले जनाएको छ । ‘२५ गतेसम्म ल्याउने होला । माथिबाट १७ करोड पैसा आयो भनेको छ, तलबभत्तासहित । त्यति पैसाले जनतालाई के दिने ? कर्मचारीको तलब कसरी ख्वाउने ?,’ उनले थपे, ‘मनाङमा आन्तरिक स्रोत छैन । २६ करोडको योजना बनाएर बसेका थियौं । पैसा थोरै आयो ।’ बेंसीसहरस्थित १ घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको हो ।
उता, विद्युत र इन्टरनेट सेवा रोकिएपछि धार्चे गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि झिटीझाम्टो बोकेर आरुघाट झरेका छन् । योजना फछ्र्यौट र भुक्तानीका बेला इन्टरनेट नचलेपछि बागमती प्रदेशको धादिङस्थित त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटमा कार्यालय सारिएको हो । ‘सिभिल बैंकबाट काम गर्छौं । गोरखा सदरमुकाममा यो बैंक छैन,’ प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले भने, ‘आरुघाट पायक पनि पर्छ । नजिक भएकोले यतै झ¥यौं ।’ आइतबारदेखि धादिङ बजारको बेम्बो कटेजमा ३ वटा कोठा भाडामा लिएर काम सुरु गरिएको अधिकारीले बताए ।
बजेट र नीति तथा कार्यक्रम भने माछीखोलाबाटै ल्याइएको हो । ७० प्रतिशत भुक्तानी बाँकी छ । तत्कालै कार्यालय माछीखोला सार्ने अवस्था नरहेको उनी बताउँछन् । ‘बाटोमा जताततै पहिरो छ । बिजुलीका पोल डामाडोल भएर लडेका छन् । इन्टरनेट नभए काम ठप्पै हुन्छ,’ उनले सुनाए, ‘जनताका काम रोक्नु भएन नि । केही समय यतै बस्छौं । सहज भएपछि सारौंला ।’ बाढी र पहिरोका कारण धेरै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटमा समस्या भएको छ । कतिपयले भर्चुअल माध्यमबाट बजेट ल्याइएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१