स्वतन्त्रको श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
ija kaski

पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीले संघका राष्ट्रिय पार्षद् यज्ञप्रसाद बास्तोलाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

सभामा संघका पदाधिकारीले दिवंगत आत्माको चिरशान्तिको कामनासहित मौनधारण गरे । उनीहरुले निष्ठावान् बास्तोलाका सत्कर्मको स्मरणसमेत गरेका थिए ।

संघका पार्षद् डा. नारायणप्रसाद अधिकारीले २०४३ सालदेखिको भाषिक, साहित्यिक र पत्रकारिताको सहयात्रीलाई गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।

डा. अधिकारीले बास्तोलालाई असल साथी, सहकर्मीमात्र नभएर सल्लाहकारका रुपमा पाएको बताउँदै नेपालमा मात्रै नभएर कलकत्ता गएको बेला उहीँबाट प्रभात टाइम्स मासिक पत्रिका प्रकाशन गरेको स्मरण गरे ।

संघका अध्यक्ष असफल गौतमले माइक्रोन्युज दैनिकको सम्पादनको समयदेखि बास्तोलाको संगतमा रहेको स्मरण गर्दै बास्तोलाको निधनले निष्ठाको पत्रकारिता सिकाउने अभिभावक गुमाउनु परेको धारणा राखे ।

गौतमले पत्रकारिताका नाममा पार्टीकारिता र पर्चाकारिता धन्दा मौलाएको भन्दै निष्ठामा बाँच्नेहरु स्वाभिमान जोगाउन सफल भए पनि अभावको जिन्दगी बाँच्न विवश भएको बताए ।

संघका सचिव गंगासागर उपाध्यायले संघको मुखपत्र ‘स्वतन्त्र सन्देश’ को आगामी अंकमा बास्तोलाका फुटकर रचनालाई एकीकृत गरी प्रकाशन गर्ने जानकारी दिए ।

संघका उपाध्यक्ष सुरेशराज अधिकारी, कोषाध्यक्ष ओम उपाध्याय, सदस्य गुप्तप्रसाद शर्माले सबैलाई समभाव राख्ने पत्रकारको अवसानले संघलाई अपुरणीय क्षति पुगेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width