पोखरा । कांग्रेस, राप्रपा हुँदै स्वतन्त्र बनेर एमालेको समर्थनमा मनाङबाट प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशको मन्त्री बनेका छन् । उनी एक समय लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा पनि प्रवेश गरेका थिए । २०७४ मा मनाङ (ख) बाट उम्मेद्वारी दिएका मनाङेलाई जिताउन एमालेले आफ्नै आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएको थियो । एमालेकै बलमा चुनाव जिते पनि उनले पुरानो मुद्दाको किनारा नलागेका कारण सुरुमा सांसदको सपथ लिन पाएनन् ।
मन्त्री पद १० दिनमा पनि जान सक्छ । मलाई मन्त्री ठूलो कुरा होइन । सांसद त छँदै छु नि
मुद्दा बाँकी नै रहँदा २०७५ माघ १४ गते एमालेका केन्द्रीय नेता र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै जोडबलमा उनलाई सांसदको सपथ गराइएको थियो । २०७६ को असारमा उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरे । त्यही आधारमा गुरुङ सरकारलाई उनले समर्थन दिएका थिए । तर त्यसको औपचारिक रेकर्ड अहिलेसम्म पनि प्रदेशसभा सचिवालयमा छैन । यही पुसमा नेकपा फुटेर एमाले–माओवादीको कित्ता छुट्टिएपछि उनी कुनै पनि पार्टीमा टाँसिएनन् ।
केही समय वामदेव गौतम समूहतिर ढल्किएका उनी विस्तारै स्वतन्त्र बन्ने बाटोमा लागे । उनले वैशाख १३ गते आफू स्वतन्त्र रहेको भन्दै संसद भवनमा छुट्टै कुर्ची मागे । सचिवालयले त्यसको प्रबन्ध मिलायो । भोलिपल्ट नेकपाको खातामा आफ्नो नामबाट गएको लेबी समेत फिर्ता मागे । त्यो निवेदनसमेत दर्ता भएर सचिवालयले प्रक्रियामा लगेको छ ।
अहिले उनले पूर्ण रुपमा पार्टी राजनीतिबाट पारपाचुके गरिसकेका छन् । सत्ता जोगाउने ध्यानमा रहेको गण्डकी सरकारले आफ्नो पार्टीबाट सम्बन्ध विच्छेद गरेका उनै सांसदलाई मन्त्री उपहार दिएको छ । मुख्यमन्त्रीविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनी नयाँ सरकारलाई सघाउने बताउँदै आएका थिए । आफू मनाङी जनताको विकासका लागि निर्वाचित भएको भन्दै कुनै पार्टीतिर नलागी सरकार पक्षधर हुने उनको तर्क थियो । पछि राष्ट्रिय जनमोर्चाले समर्थन गरेको समूहलाई आफूले मतदान गर्ने बताए ।
यही बीचमा अविश्वास प्रस्तावमाथि छलफल चल्दै थियो । बुधबार प्रस्तावमा मतदान हुँदै थियो । मनाङे एकाएक गायव भए । संसद बैठककै लागि मंगलबार साँझ उनले पिसिआर परीक्षणका लागि स्वाव समेत दिएका हुन् । अविश्वास प्रस्तावमा अलिखित समर्थन गरेको जनमोर्चाका १ सांसद बिरामी बनेको बहानामा संसद छलेपछि प्रस्तावमा मतदान भएन ।
बुधबार मोबाइल अफ गरेर हराएका उनी बिहीबार मन्त्रीको सपथका लागि दौरा सुरुवाल र कोटमा झुल्किए ।
सामाजिक विकास मन्त्रालयले रेखदेख गर्दै आएको युवा तथा खेलकुद मन्त्रालय फुटाएर गुरुङको जिम्मा लगाइएको हो । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका छन् । पदभार ग्रहण गरेपछि उनले खेलकुद र रोजगारीलाई सँगै लैजाने प्रतिवद्धता जनाए । ‘खेलाडीलाई खेलाएर मात्रै हुँदैन । डाइट राम्रो भयो भने मात्रै राम्रो नतिजा आउछ,’ उनले भने, ‘मैले खेलाडीको रिटायर्डमेन्ट प्याकेज पनि सोचेको छु । जति पनि खेलाडी हुनुहुन्छ उहाँहरुलाई कृषिमा जोड्ने योजना छ ।’ युवा र खेलाडीलाई विदेश जानबाट रोक्न आफूले कम्मर कसेर काम गर्ने उनले सुनाए ।
‘धेरै जग्गाहरु सरकारी नाममा छ । त्यो खाली जग्गामा राम्रो कार्यक्रम गर्न सके कोही पनि बाहिर जानु पर्दैन । कृषिबाट पनि उनीहरु यहिँ रहन सक्छन्,’ मनाङेले भने, ‘सरकारी जग्गा नांगो बसिरहेको छ, त्यसलाई प्रयोग गर्छु । अरु मन्त्रालयसँग पनि कोअर्डिनेसन गरेर मात्रै मेरो योजना पूरा हुनसक्छ । त्यसैले हरेक हप्ता बैठक बस्नुपर्छ भनेर मुख्यमन्त्रीलाईस ल्लाह दिइसकेको छु ।’ कृषिसँगै जडिबुटी उत्पादन र निकासीमा पनि युवालाई जोड्ने उनको योजना छ । ‘जडिबुटीको मार्केट थाहा छैन । जुन जडिबुटीको मार्केट छ त्यहि रोपौं,’ उनले अघि थपे, ‘नेपालबाट कच्चा पदार्थ बढी बिक्री हुन्छ । प्रशोधन गरेर बेचौं । पैसा धेरै आउँछ ।’
नवनियुक्त मन्त्री मनाङेले मन्त्रालय नफुटाएसम्म नतिजा राम्रो नआउने भन्दै विभाजन गर्न सरकारलाई सुझाएका छन् । ‘७ वटा मन्त्रीले २० वटा मन्त्रालय चलाउन सक्दैन । मसँग भएको दुईवटा हात र दुईवटा खुट्टा हो । मैले कति चलाउन सक्छु ?,’ उनी भन्छन्, ‘मन्त्रालय बाँढौं । बल्ल राम्रो काम हुन्छ ।’
उनले सबै खेलका विज्ञलाई बोलाएर उनीहरुको राय सल्लाहमै कार्यक्रम बनाउने बताएका छन् । मनाङेले सरकार जुनसुकै बेला जान सक्ने भन्दै बसुन्जेल राम्रो काम गरेर देखाउने बाचा गरे । ‘१० दिनमा पनि जान सक्छ । मलाई मन्त्री ठूलो कुरा होइन । सांसद त छँदै छु नि,’ उनी भन्छन्, ‘म केही काम गरेर देखाईदिन्छु । समय एकदम कम छ । यो सरकार जुनसुकै बेला जान सक्छ । राम्रो नीति बनाइदिन्छु । पछि आउनेलाई पनि काम गर्न सजिलो हुन्छ । नयाँ मन्त्रीले त्यसलाई फलो गर्छ ।’ उनले अझै पनि कसको पक्षमा भोट हाल्ने भन्ने निर्णय सुनाउन सकेनन् । ‘मलाई चुनावमा उहाँहरुले सहयोग गरेको हो । त्यसलाई मैले बिर्सिन हुँदैन । मनाङबाट धेरै फोन पनि आयो । १ पटक उहाँले भनेको मानें र नाइँ भनिनँ,’ उनी भन्छन्, ‘म राजनीति गरेर खानुपर्छ भन्ने मान्यता राख्दिनँ । राजनीति हो । धेरै भन्न हुँदैन । अस्ति मैले जनमोर्चाले भोट हालेपछि हाल्छु भनेको हो । उहाँहरु आउनुभएन । म स्ट्यान्डमा थिएँ ।’ काठमाडौंको रिसले पोखरामा राम्रो चलिरहेको सरकार विरुद्ध लाग्नु राम्रो नभएको उनको तर्क छ । माओवादी र एमालेले आफ्नै देशका नेतालाई छोडेर विदेशी नेतालाई पुजेकोले घिन लागेर पार्टीमा आवद्ध नभएको उनले सुनाए ।
को हुन् मनाङे ?
नवनियुक्त मन्त्री मनाङे जहिल्यै चर्चामा आइरहने व्यक्ति हुन् । विगतमा उनको गुण्डागर्दी देखि संसदीय निर्वाचन हुँदै सपथ ग्रहणदेखि मन्त्री बन्दासम्मका धेरै किस्सा छन् । कर्तव्य ज्यान मुद्दा टुंगो नलागेको भन्दै उनलाई सुरुमा सपथ नै गराइएन । १ वर्षपछि सपथ लिएका मनाङे संसदको अर्थ विकास समितिको सदस्य बने । समितिले राम्रो काम नगरेको आरोप लगाएर राजीनामा दिए । उनले सार्वजनिक ठाउँमा एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई हिर्काए । मिलनले मुद्दा हालेपछि उनी केही समय हिरासत समेत बसे । उनै मनाङे अहिले मन्त्री बनेका छन् । २०५०÷५१ देखि नै उनी आपराधिक गतिविधिमा संलग्न थिए । पटक पटक पक्राउ पर्ने र छुट्ने उनको दिनचर्या जस्तै थियो । उनलाई सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा समेत चलाएको थियो । उनले त्यहाँबाट भने सफाइ पाए । पर्यटन व्यवसाय, ठेक्का पट्टा हुँदै उनी राजनीतिमा निरन्तर लागिरहे ।
२०७४ मंसिर १०–प्रदेश सांसदमा निर्वाचित
२०७५ बैशाख ७–फौजदारी मुद्धामा कारागार चलान
२०७५ माघ १४–प्रदेश सांसदको सपथ
२०७५ फागुन २८–अर्थ विकास समिति सदस्य
२०७६ असार १९–नेकपामा प्रवेश
२०७७ असार–अर्थ विकास समितिबाट राजीनामा
२०७८ बैशाख १३–स्वतन्त्र सांसदको कुर्ची माग
२०७८ बैशाख १४–नेकपालाई दिएको लेवी फिर्ता माग
२०७८ बैशाख १६–युवा तथा खेलकुद मन्त्री नियुक्त
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१