एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
dialisis

पोखरा । एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै । कहिले काहिँ त परिवारबाटै पनि उनीहरु अपहेलित हुन्छन् । सरकारले समेत उनीहरुमाथि विभेद गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एआरटी सेन्टरमा अहिले झन्डै १३ सय जनाले एन्टिरेट्रो भाइरल सेवा लिँदै आएका छन् । तीमध्ये २ जनामा मिर्गौलाको समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एड्स हेल्थकेयर फाउन्डेसनकी संयोजक डा. प्रीति आचार्य बताउँछिन् ।

पोखराका ठूला अस्पतालहरुमा डायलासिस सेवा उपलब्ध छ । सरकारले तोेकेका अस्पतालमा मिर्गौला बिरामीका लागि डायलासिस सेवा निशुल्क रुपमा लिने गरेका छन् । आर्थिक हैसियत सबल हुनेले निजी अस्पतालमा पैसै तिरेर पनि यो सेवा लिन्छन् । अहिले गण्डकी प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा समेत डायलासिस सेवा विस्तार गरेको छ । तर मिर्गाैलाको समस्या भएका एचआइभी संक्रमित यो सेवाबाट वञ्चित छन् । डा. आचार्यका अनुसार पोखराका अस्पतालले दिएको चिठी लिएर उनीहरु काठमाडौंस्थित राष्ट्रिय मिर्गौला केन्द्रमा धाउनुपर्छ ।

एचआइभी संक्रमित मिर्गौला बिरामीले पोखरामा डायलासिस गर्न नपाउँदा काठमाडौं धाउनुपर्ने बाध्यता छ

पोखरादेखि काठमाडौं पुगेर पनि डायलासिस गर्न पाइने निश्चितता छैन । पोखरादेखि काठमाडौं जाँदा खर्च त हुने नै भयो । त्यहाँ पुगेर पनि सेवा पाइनेमा बिरामीहरु ढुक्क हुँदैनन् । किनभने सेवा लिनेको लाइन ठूलै हुन्छ । एचआइभी संक्रमित समेत रहेका मिर्गाैला बिरामीका लागि डायलासिस सुविधा काठमाडौंमात्रै केन्द्रित हुँदा बिरामीले ज्यानै गुमाउनु परेको छ । बेलैमा काठमाडौं जान नसकेकै कारण गएको असारमा मिर्गौला समस्या समेत रहेका एचआइभी संक्रमितको मृत्यु भयो । भनेको समयमा जान नपाउने र पिसिआर रिपोर्टको चाँजोपाँजो मिलाउँदा मिलाउँदै ती पुरुष संक्रमितको मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एआरटी केन्द्र इन्चार्ज कल्पना आचार्य निर्धारण गरिएको समयमा पुग्न नसके काठमाडौंमा समेत डायलासिस गर्न नपाउने अवस्था रहेकाले संक्रमितहरु समस्यामा परेका बताउँछिन् ।

एचआइभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघले संक्रमितमाथि हुने गरेका विभेदका बारेमा पोखरामा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले संक्रमित महिलामाथि स्वास्थ्य सेवामा समेत अझै विभेद कायम रहेको बताए । आफ्ना समस्या सुल्झाउन उनीहरुले गण्डकी प्रदेश सभाका सांसदसमक्ष आग्रह समेत गरे ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रका फरेन्सिक विज्ञ डा. मदन बरालले संक्रमितको उपचार र हिंसाका घटनाका बारेमा जानकारी गराए । कार्यक्रममा गण्डकी प्रदेश सभा प्रदेश मामिला समिति सभापति कृष्ण थापा, सांसदहरु कृष्णबहादुर थापा, रोशन गाहामगर, मित्रकुमारी गुरुङ सुवेदी, मधु अधिकारी गुरुङ, इन्द्रधारा विष्ट सहभागी थिए । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले संक्रमितहरुको स्वास्थ्य उपचारमा सरकार संवेदनशील रहेको भन्दै उनीहरुको गोपनीयता कायम राख्दै आफूहरुले काम गर्दैआएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width