पर्यटन व्यवसायीसँग सहकार्य हुने : लम्साल

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७७
tan

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको हकहित तथा रक्षाको लागि सरकार कटिबद्ध रहेको आश्वासन दिएका छन् । उनले नजिकबाट प्रदेश सरकारले पर्यटन व्यवसायीसँग सहकार्य गर्दै अगाडी बढ्ने पनि बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६ औँ अधिवेशन एवं २७ औँ वार्षिक साधारणसभा बुधबार उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् ।

कोरोना प्रभावले पर्यटन व्यवसाय धरासायी बन्न पुगेको र पर्यटन व्यवसायीले खर्बौ लगानी नोक्सानी व्योर्होनुपरेको उल्लेख गर्दै उनले पर्यटन व्यवसयलाई कसरी बचाउन सकिन्छ भनेर आफूहरु गम्भीरतापूर्वक लागेको बताए ।

मन्त्री लम्सालले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमा लागेको जानकारी दिए ।कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताउँदै उनले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए । कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।

टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए ।

सो अवसरमा पत्रकार जमुना वर्षा शर्मालाई ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित गरिएको थियो । पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएको भन्दै रासस पोखारा कार्यालयमा कार्यरत् उनलाई १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको हो ।

यस्तै, संघका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width