वनका फलफूलले भुलायो विदेश र शहरबाट गाउँ फर्किएकालाई

rss रासस
जेठ २०, २०७७

फाेटाेः सामाजिक सञ्जाल

म्याग्दी, २० जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन्।

विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ । बालबालिकादेखि पाका उमेरका मानिसको चहलपहलले चाडपर्व आएझैँ भएको धवलागिरि गाउँपालिका–७ ताकमका नरनाथ आचार्यले बताए।

“काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन् ।”

“कामविशेषले शहरबजार गएकाहरु गाउँमा आएका छन् । अहिले बन्दाबन्दीले गर्दा सबै घरमै छन्”, उनले भने, “काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन्।”

पछिल्लो समय गाउँका बस्ती सुनसान, खेतबारी र बाटाघाटा झाडीमा परिणत भएका थिए । गोठाला र खेतालाका गीत सुन्न छोडिएको थियो । पँधेरामा पानी खाने र पोखरीमा पौडी खेल्ने बालबालिका थिएनन् । वनका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो चराचुरुङ्गीको आहारामा सीमित थिए । भुइँमा झरेर कुहिनुको विकल्प थिएन। कोरोनाले काफल, ऐसेलु, चुत्रो, तिजु, जानमान्द्रोको झ्याङमा लुकामारी गर्ने अवसर जुराएको ताकमका विनोद घर्तीको भनाइ छ।

“जङ्गलमा काफल ऐसेलु खान पाउँदा बाल्यकालको याद आइरहेको छ”, उनले भने, “साथीभाइसँग भेट भएको छ । कोरोनाको डर भए पनि गाउँको लामो बसाइँ रमाइलै भएको छ ।” वर्षौंदेखि शहरमा अर्काको खटनपटन, प्रदूषण र कोलाहलमा व्यस्त दैनिकी गुजारेकाहरु आमाको प्रेमिल काखमा रमाउन पाएझैँ खुशी लागेको उनले बताए।

वसन्त ऋतु प्राकृतिक हिसाबले रमाइलो र सुन्दर मानिन्छ । यही याममा जङ्गलमा धेरै प्रकृतिका फलफूल पाक्छन् । शहर बजारमा जङ्गली फलफूल चाख्न महँगो मूल्य तिर्नुपर्छ । गाउँमा फर्किएकाहरु रुखमै चढेर आफैँ टिपेर ताजा फलफूल खान पाएका छन् । किशोरदेखि युवा र पाका उमेरका मानिस घरायसी, खेतबारी र दाउरा घाँस काट्नुका साथै जङ्गली फलफूल खाएर लकडाउनको समय कटाइरहेका ताकमका सुमन केसीले बताए। बेनीमा अध्ययन गर्ने घर्ती र केसी लकडाउन भएयता गाउँमै छन् । विगतका वर्षमा गाउँघरमा दशैँ तिहारको समयमा मात्र चहलपहल हुन्थ्यो। भूकम्प र नाकाबन्दीको समयमा पनि गाउँमा धेरै मानिस पुगेका थिए।

“ अहिले ऐसेलु र काफल उपभोग हुन नसकेर भुइँमा झरेर कुहिनुपर्ने अवस्था छैन”, ताकमकी आरती आचार्यले भनिन्, “दुःखमा सम्झिने गाउँ नै रहेछ ।”