प्रधानमन्त्री व्यस्तता र शारीरिक कारणले बैठकबाट निस्कनुभएको हाे, अन्यथा केही हाेइनः प्रवक्ता श्रेष्ठ

रासस
वैशाख २४, २०७७
sachibalaya

फाेटाेः फाइल फाेटाे

काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ।

स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि आज सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक भोलि नै बस्ने या अर्काे दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेन।

सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारसँग भने, “अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ, दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ।” पत्रकारले सोधेको अर्काे जिज्ञासामा उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यस्तता र शारीरिक कारणले बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएर बैठकबाट निस्कनुभएको तर अन्यथा केही नभएको प्रष्ट्याउनुभयो। अध्यक्षद्वयबीच छलफल जारी रहेकोसमेत उहाँले जानकारी गराउनुभयो।

Related News

सम्बन्धित समाचार

hero news full width