बंगलादेश महिला क्रिकेटको फाइनलमा, नेपाललाई जित्नैपर्ने दबाब

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
Womens Cricket, Bangladesh vs Maldivs_Fotor

बंगलादेश १३ औं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ। मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो। बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे।

‘प्लेयर अफ द म्याच’ निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडेका थिए। ६५ बलको सामना गरेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन्। विस्फोटक व्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन्। मालदिभ्सको बलिङमा समा अलीले १ विकेट लिइन्। बंगलादेशका समिमा सुल्तान रन आउट बनेकी थिइन्।

जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको मालदिभ्सको पारी मात्रै ६ रनमा समेटियो। मालदिभ्सका समा अलीले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए। दुई रन अतिरिक्त रनका रुपमा पाए। बंगलादेशको बलिङमा रितु मोनी र सलमान खातुनले समान ३ विकेट लिए। रबेया खान र पुजा चक्रवर्तीले पनि समान १ विकेट लिए।

यससँगै राउण्ड रोबिनका पूरै ३ खेलमा जित हासिल गरेको बंगलादेश शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोश्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो।

फाइनल पुग्नका लागि अब नेपाललका लागि श्रीलंकाविरुद्ध शुक्रबार हुने खेल जित्नै पर्ने दवावमा परेको छ। राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय ब्यहोर्दै समान समान २ अंक जोडेका छन्। नेपाल र श्रीलंका दुवैले मालदिभ्सलाई पराजित गरेर आ–आफ्नो खातामा समान २ अंक जोडेका हुन्। तर, नेट रनरेटको आधारमा नेपाल लिगको दोश्रो स्थानमा रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width