थ्रिस्टार सेमीमा, अतिरिक्त समयमा लय गुमाउँदा भुटानी टिम पराजित

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
three star

पोखरा । पाँच पटकसम्मको विजेता थ्रि स्टार क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पाहुना टोली भुटानको पारोलाई अतिरिक्त समयमा २–० गोलअन्तरले पराजित गर्दै स्टारले विजयी यात्रा जारी राखेको हो ।

शनिबार पोखरा रंगशालामा पहिलो क्वाटरफाइनलमा निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेकोमा अन्तिम समयमा सम्हालिन नसक्दा पाहुना टोली डेब्यु खेलबाटै घर फर्किएको हो ।

नेपाली ए डिभिजनको क्लब ललितपुरको थ्रि स्टारलाई यसपालि पनि उपाधिको दाबेदार बनाउन आशीष चापागाईं नायक बने । उनले खेलको ११४ औं र ११९ औं मिनेटमा गोल गरेका हुन् ।

अब फाइनल प्रवेशका लागि थ्रिस्टारले मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबको विजेतासँग माघ १५ मा पहिलो सेमिफाइनल खेल्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

आइतबार दोस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । फाइनल २० माघमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width