टेवानको कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
tewan_training

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानुनी सचेतनात्मक कार्यक्रम गरेको छ ।
४ दिनसम्म चलेको तालिममा अधिवक्ता तारा शर्माले कार्यस्थलमा हुने हिंसा, महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र त्यससम्बन्धी कानुनी उपचारको पाटोबारे प्रशिक्षण दिइन् । अधिवक्ता ईश्वरी पौडेलले व्यवसाय गर्ने क्रममा आइपर्ने कानुनी जटिलता र समाधानका उपायबारे बताइन् ।

पत्रकार सुष्मा पौडेलले सकारात्मक सोच र फिल्म निर्देशक जसु गुरुङले पर्यटनमा संस्कृतिको प्रयोगबारे तालिममा सहभागीलाई प्रशिक्षण दिए ।

तालिमको समापनमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले आगामी बजेटमा पर्यटन व्यवसायी महिलाका मुद्दालाई समावेश गर्ने बताए । सरकार आफैँ महामारीमा परेको भन्दै उनले चालु आर्थिक वर्षको भन्दा आगामी बजेट ५ अर्ब रुपैयाँसम्म घटेर आउने जानकारी गराए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीलाई राहत पुग्ने गरी आगामी प्रदेशको बजेट निर्माण गर्न सुझाव दिए ।

टेवानका सल्लाहकार एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन व्यवसायमा बढीभन्दा बढी महिला सहभागिता वृद्धि गरेर उत्पादनसँग जोड्ने र त्यसलाई बजारीकरण गरेमात्रै पर्यटन दिगो हुने बताए । टेवान सल्लाहकार बोबरजंग गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षार्थी मालती अधिकारीले तालिमपश्चात आफूमा आत्मविश्वास बढेको बताइन् ।

टेवान अध्यक्ष कमला गिरीले व्यवसायी स्वयंमा सकारात्मक सोच भए क्षमता अभिवृद्धि पनि हुने भएकोले तालिम आयोजना गरेको बताइन् ।
कार्यक्रम संयोजक शारदा लम्सालले तालिममा ६६ जना पर्यटन व्यवसायी महिला सहभागी टेवान सचिव शोभा अधिकारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width