पोखरा । ग्लाइडरको छेउ–टुप्पो मिलाउँदै गरेका युकेश गुरुङ सराङकोटको डाँडामा मिठो मुस्कान दिंदै थिए । साथीहरुसँग प्रथम, द्वितीय र तृतीय को होला भन्ने आकलन चलिरहेको थियो । कोही भन्दै थिए, ‘लामो समयपछि भाग लिन पाइयो ।’ त्यही भीडमा अझ हौसिएका हुन् उनी एसियाली खेलकुदका रजत पदकधारी युकेश ।
उनलाई नेपाल वा बाहिरको प्रतियोगिताबाट निम्तो नआएको २ वर्ष बढी भएको थियो । सन् २०१९ अगस्टमा चीनमा प्रि–वल्र्ड कपमा सहभागी भएपछि कतै भाग लिन पाएका थिएनन् । प्रतियोगितामा भाग लिएर ट्रफी, मेडलसँगै नाम कमाउने यात्रामा बाधक बनेको थियो, विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ ।
कोरोना नहुँदो हो त उनी भारत हिमाञ्चल प्रदेशको वीर बिलिङमा प्याराग्लाइडिङ प्रतियोगिता खेल्न पुग्थे । तर कोरोनाले सबै डामाडोल बनायो । पहिलो लकडाउनपछि असोजमा टेन्डम फ्लाइट गरे । जसले उनलाई व्यावसायिक बनायो । नागरिकता हात परेपछि उनले सन् २०२० मा टेन्डमको लाइलेन्स लिएका हुन् । कमाइ त भयो तर प्याराग्लाइडिङका प्रतियोगिता भएनन् ।
प्रतियोगितामा भाग लिने दिन कुर्दै थिए । सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले एकमात्र रजत जित्दा उनी टिमका सदस्य थिए । त्यतिबेला १६ वर्षका मात्रै उनी अहिले २० लागे । ‘मैले कमर्सियलभन्दा स्पोर्टस्का लागि प्याराग्लाइडिङ सिकेको हुँ,’ उनले भने, ‘कोरोनाबीचमा स्पोर्टस्लाई कम गरेर कमर्सियल बढी गरें । किनभने प्रतियोगिता भएका थिएनन् ।’
नेपाल हवाइ खेलकुद संस्था (ना) ले करिब २ वर्षपछि आयोजना गरेको २० औं अन्तर्राष्ट्रिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा उनी बलियो प्रतियोगीको रुपमा उत्साहित थिए । ‘बीचमा कमर्सियल उडान त भएको थियो । २ वर्षपछि कम्पिटिसन भएको छ । सबै प्याराग्लाइडिङ पाइलट फ्यामिलीहरु एकै ठाउँमा देख्दा खुसी छु,’ उनले भने, ‘अस्तिसम्म डिमोटिभेट भएको जस्तो भएको थियो । तर यो प्रतियोगिताले आशा जगाएको छ ।’
३ दिनसम्म चल्ने प्रतियोगितामा सोलो र टेन्डमतर्फ गरी ७० बढी पाइलटले भाग लिएका छन्
बुधबारदेखि सुरु प्याराग्लाइडिङ च्याम्पियनसीपमा उनीजस्तै ७३ प्यारा पाइलट सराङकोटकोट डाँडा पुगेका थिए । उनीहरु सबैको अनुहारमा २ वर्षपछि खुसी फर्किएको प्रष्ट देखिन्थ्यो । जसमा ८ जना महिला पाइलटहरु पनि थिए ।
प्रतियोगिता उद्घाटन गण्डकी प्रदेशका सांसद राजीव पहारी गरे । ३ दिनसम्म चल्ने प्रतियोगितामा सोलोतर्फ ८ महिला र ३२ पुरुष तथा टेन्डमतर्फ ३३ जना पुरुषले प्रतिष्पर्धा गर्ने नाले जनाएको छ । उनीहरुले सराङकोटबाट टेक अफ गरेर फेवाताल किनार खपौंदीमा ल्यान्ड गर्ने छन् ।
अन्तिम दिन विभिन्न सांस्कृतिक भेषभूष सहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने एक्रोवेटिक एयर सोसमेत गरिने ना अध्यक्ष कृष्ण भण्डारीले बताए ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको प्रतियोगितामा ‘एक्युरेसी’ तर्फमात्रै प्रतिष्पर्धा हुने नाले जनाएको छ । प्रतियोगिताले प्याराग्लाइडिङ वल्र्ड कप तथा प्रि वल्र्डकप र पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदलाई समेत सहयोग पुग्ने भण्डारीको भनाइ थियो ।
एक्युरेसी विधातर्फ ४ विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका छन् । ल्यान्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमशः ५०, ३०, २० र १० हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् ।
अन्य विधामा एक्युरेसी टेन्डम पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ३०, २०, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने एयर शोतर्फ वेस्ट एक्रोबेटिक सोतर्फ प्रथम, दोस्रो र तेस्रोले १५, १० हजार र ५ हजार पाउने छन् । वेस्ट कस्ट्युमतर्फ पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेस्ट कस्टुयुमतर्फ १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
पोखरामा व्यावसायिकरूपमा सञ्चालित ६० भन्दा बढी कम्पनी छन् र करिब ५ सय जना प्याराग्लाइडिङ पाइलट छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१