सरकारी वकील कार्यालयका कर्मचारी सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
sammanit

पोखरा । उच्च सरकारी वकील कार्यालय पोखरा र मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुमा कार्यरत् उत्कृष्ट सरकारी वकील तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

निजामती सेवा दिवस अवसरमा सोमबार उच्च सरकारी वकील कार्यालय पोखरामा आयोजित कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले र सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्मालाई उत्कृष्ट सरकारी वकीलरुपमा सम्मान गरिएको हो ।

यस्तै, उच्च सरकारी वकील कार्यालय पोखरामा कार्यरत् नासु भुवनप्रसाद दाहाल, जिल्ला सरकारी वकील कार्यालय स्याङ्जामा कार्यरत् नासु दिव्यज्योति खनाल र जिल्ला सरकारी वकील कार्यालय तनहुँमा कार्यरत् खरिदार राधिका ढकाल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भए ।

कोभिड–१९ महामारीबीचमा जुम मिटिङ माध्यमबाट संचालित उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय पोखरा मातहतका ७ वटा जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुखहरु भर्चुअल रुपमा जोडिएका थिए ।

उच्च सरकारी वकील कार्यालय पोखराका उपन्यायाधिवक्ता प्रतिमाकुमारी भट्टराईले स्वागत गर्दै सम्मानित सरकारी वकीलहरु र कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा गरिन् ।

सम्मानितको तर्फबाट कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले सम्मानले आफूलाई आगामी दिनमा कार्यसम्पादनमा थप उर्जा मिलेको बताउँदै कर्मचारीहरुले संगठनको उद्देश्य प्राप्तिका लागि पदीय जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।

उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता घनश्याम ओझाले कर्मचारीहरुको मनोबल उच्च पार्दै कार्यसम्पादनमा थप उर्जा थप्न यसै वर्षबाट कार्यालय तहमा यस्तोखालको सम्मान व्यवस्था गरिएको जानकारी दिए ।

सहायक न्यायाधिवक्ता नारायण आचार्यले संचालन गरेका सो कार्यक्रममा उच्च सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय कास्कीका कर्मचारीहरुको समेत उपस्थिति रहेको जानकारी कार्यालयका नासु नवीन पौडेलले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width