जलवायु र प्राकृतिक स्रोत व्यवस्थापन प्रशिक्षण

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
Adibasi Janajati Jalabayu photo

पोखरा, २१ असार । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीद्वारा आदिवासी जनजातिलाई जलवायु परिवर्तन र प्राकृतिक स्रोत व्यवस्थापन बारेमा प्रशिक्षण प्रदान गरेको छ ।

अन्नपूर्ण गाउँपालिका, कास्कीको सहयोगमा आयोजित कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आफ्नो भाषा, संस्कृति र भेषभूषा जोगाउन आदिवासी जनजाति समुदायले विशेष चासो देखाउनुपर्ने उल्लेख गरे ।

बेलायत, हङकङलगायत विदेश पलायन र सहर पलायन हुनाले धेरै गाउँहरू रित्तिँदै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष कुँवरले आफ्ना भाषा, लीपी संस्कृतिबारे भावी सन्ततिले ग्रहण गर्न पाउनुपर्ने भनाइ गरे ।

मातृभाषाको संरक्षणका लागि शैक्षिक पाठ्यक्रमको विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष कुँवरले गाउँपालिकाभित्रका विद्यालयमा मातृभाषामा शिक्षा दिन खोजिएपनि पाठ्यक्रम अभावले त्यो पूरा गर्न नसकेको बताए । परम्परागत सीपको आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उनले आदिवासी ज्ञानमा आधारित कैयन् परम्परागत पेशा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरे । एक अर्को प्रसंगमा उनले जातीय सद्भाव कायम गर्दै आफ्नो अधिकार खोज्न सकिने बताए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी जनजाति समुदाय शिकार हुनुपरेको उल्लेख गरिन् ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं तमुवान–मगरात प्रदेश इञ्चार्ज गणेशलाल थकालीले प्राकृतिक स्रोतसाधनमाथि स्थानीय आदिवासी समुदायको अग्राधिकार रहने उल्लेख गर्दै अहिले महासंघ लोक सेवा आयोगको असमावेशी विज्ञापनका विरुद्ध आन्दोलनरत रहेको बताए ।

कार्यक्रममा दलबहादुर गुरुङ, पानबहादुर घर्ती, डीबी राई, दिलमाया गुरुङ, नेपाल सुजनकुमार लामा, पूर्णबहादुर रानामगरलगायतले जलवायु परिवर्तनको असर र आदिवासी जनजाति समुदायको सरोकारका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्याल र उपाध्यक्ष सु. हरिमान थिङ तामाङले स्वागत गरेका थिए । सो अवसरमा प्रशिक्षक कुमार थापामगरले जलवायु परिर्वतन, आदिवासी जनजाति र प्राकृतिक स्रोत व्यवस्थापनबारे सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width