एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

पोखराको दिगो पर्यटन विकास सम्भावनाबारे छलफल

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८०
ADB NEWS2

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । भेटमा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भयो ।

हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायाको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति, सहिद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पिआइए ८.८ किमी सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ संग्रहालय संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे १ सयभन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।

एडिबीकै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनक्रममा छ । परियोजनाअनुसार ९ ताल र १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइँ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्ड निर्माण गरिनेछ । यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तरगत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको बताइएको छ ।
शान्ति वनबाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजनाअन्तर्गत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । जहाँ जडीबुटी बगैँचा, पैदलमार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोडलगायत निर्माण हुनेछ ।

अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिका २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरको संरक्षणका लागि यो परियोजना लागु गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटरूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्यस्थलरूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थानसहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनीसम्म १.५ किमी सडक स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको जनाइएको छ । यस परियोजनाको लागि डिएससिएस खरिदको लागि टिओआरको तयारी भइरहेको छ । यसमा २ मिलियन अमेरिकी डलर खर्च हुनेछ । यी लगायतका परियोजना विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सोक्रममा प्रमुख आचार्यले परियोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमानसहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल थिए । परियोजनामा एडिबीले ७५ प्रतिशत र पोखरा महानगरले २५ प्रतिशत लगानी गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width