पुल भत्केपछि मनाङमा खाद्यान्य ढुवानी ठप्प

आदर्श समाज सम्वाददाता
असार १३, २०७६
fcf

लमजुङ, १३ असार । हिमाल पारीको जिल्ला मनाङ र लमजुङ जोड्न म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगाएपछि मनाङमा खाद्यान्य ढुवानी ठप्प भएको छ ।

मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडकमा रहेको मार्दी खोलाको पुल बगाए पछि खाद्यान्य लगायत सामग्री मनाङमा भित्रन नसकेको हो । असार ८ गते दिउँसोको भीषण मात्रामा परेको पानीबाट आएको बाढीले पुल बगाएपछि मनाङसंग सडक सम्बन्ध टुटेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार सडक सुचारु हुन नसक्दा स्थानीयलाई आउ–जाउ गर्न समेत गाह्रो भएको छ ।

चामे गाउँपालिका– ३ का दीपक लामाका अनुसार ५÷६ दिनदेखि मनाङमा सामान ढुवानी हुन सकेको छैन । पसल सञ्चालकले थप सामान ल्याउन सकेका छैनन् । सामान ढुवानी हुन नसक्दा दैनिक उपभोग्य सामान महंगो हुँदै गएको छ । लमजुङको बेंसीसहर, पोखरा, काठमाडौंल गायतका ठाउँबाट खाद्यान्य, तरकारी, फलफूल, मासुजन्य वस्तु साथै निर्माण सामग्री ढुवानी गर्दै आएका स्थानीयले सडक बन्द भएपछि समस्या भोग्नु परेको होटल व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनका अनुसार लमजुङको च्याम्चेदेखि मनाङको तालसम्म पुरानो पैदाल बाटो हिँड्न बाध्य भएका छौं । उनले भने– ‘पुरानो बाटो विग्रिएको छ । हातखुट्टा गरेर हिँड्नुपर्छ । सामान सकिन लागिसकेको छ । एक हप्ता यस्तै हो भने खाद्यान्य नपाउन बेर छैन ।’

सडक सुचारु नहुँदा सवारी आउजाउ र सामान ढुवानी ठप्प भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार तत्कालका लागि डोजर सञ्चालन गरेर म्यार्दी खोलासम्म लगिने र खोला पार गरेपछि खोला माथि काठ र जाली राखी अस्थायी पुल निर्माणको प्रयास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले चामेबाट स्याक्र्युखोला हुँदै तिमाङसम्म गाडी चल्ने बाटो निर्माण थालिएको बताए । उनका अनुसार अस्थायी पुल राख्न पहिरो पन्छाउँदै गर्दा डोजरमा तेल सकिएपछि काम अघि बढ्न सकेको छैन । तिमाङ छहरामा अस्थायी पुल बगाएको छ ।पुल बगाएपछि कतिपय सवारी साधन मनाङतर्फ थुनिएको सवारी चालक सोम मगरातीले बताए ।

यसबारेमा डिभिजन सडक कार्यालय दमौलीमा सम्पर्क गर्दा त्यहाँका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले म्यार्दी खोलाको वारी र पारी डोजर लगाएर भासिएको ठाउँ पुर्ने काम भइरहेको बताए । उनका अनुसार छिट्टै बेलिब्रिज निर्माणको काम सुरु गरिने छ । उनले भने– ‘प्राविधिकले अध्ययन गरेर आएको छ । मानिस हिँड्नका लागि बाटो बनाइने काम शुरु भएको छ । बेलिब्रिजको काम पनि थाल्छौं । वर्षाको बेलामा छ, पानी परेन भने काम गर्न सहज र छिटो होला ।’

Related News

सम्बन्धित समाचार

hero news full width