सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा संकलन केन्द्र सञ्चालनमा

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०८०
tarkari rss

गण्डकी । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा २२ स्थित ठूलढुंगामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा संकलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन संकलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा ४ लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।

केन्द्र शुभारम्भ गर्दै पोखराका प्रमुख धनराज आचार्यले उत्पादन वृद्धि गरी कृषिजन्य समग्रीमा आत्मनिर्भर बन्दै जाने लक्ष्यअनुरुप महानगरले कृषि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए । किसानका उत्पादित वस्तुको सहजरूपमा बजारीकरण होस् भन्ने उद्देश्यले महानगरपालिकाले विभिन्न ३५ वटा कृषिजन्य वस्तुको समर्थन मूल्य तोकिसकेका उनले जानकारी दिए ।

उत्पादनमा जोड दिन सकिए २÷३ वर्षमा तरकारी, मासु र दूधमा आत्मनिर्भर बन्न सकिने बताउँदै महानगर प्रमुख आचार्यले किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउने कुरामा महानगर तयार रहेको बताए । उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडानसहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको चर्चा गर्दै उनले महानगरभित्र २५ वटा कृषि उपज संकलन तथा बिक्री केन्द्र रहेको बताए ।

पोखरामा तिहारमा खपथ हुने फूलको आयात कम गर्ने उद्देश्यका साथ महानगरपालिकाले यसवर्ष सयपत्री फूलको बिउ वितरण गरेर २ सय रोपनी जमिनमा फूल लगाइएको उनले बताए । पोखरा २२ का अध्यक्ष हिमलाल बरालले वडाभित्र किसानका लागि सिँचाइको सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरूपमा उपभोक्तासम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए ।

केन्द्रमार्फत् सङ्कलित कृषि उपजलाई बजारमा पु¥याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउने उनले बताए । केन्द्रका अध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष भीमप्रसाद पौडेललगायतले केन्द्र सञ्चालनसँगै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width