किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान   

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०८०
BUFFALO

फाइल फोटो

दमौली ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो ।

गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।”

गत वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी हुर्काउनका लागि अनुदान दिने व्यवस्था मिलाइने श्रेष्ठको भनाइ छ । डा श्रेष्ठका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रको भनाइ छ । हामीकहाँ मुर्रा जनाका भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीन रूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

यसैगरी कार्यालयले दूध उत्पादनका आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गत आवमा केन्द्रले किसानलाई रु ३६ लाख वितरण गरेको थियो । केन्द्रले आठ सहकारी संस्थामार्फत किसानलाई अनुदान वितरण गरेको हो । प्रतिलिटर रु दुई दशमलव ४५ का दरले अनुदान वितरण गरिएको डा श्रेष्ठले बताउनुभयो ।

व्यास नगरपालिका–१० स्थित दुम्सी दुग्ध उत्पादक सहकारी, शेवर दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ स्थित बेलवास दुग्ध उत्पादक सहकारी, भानु नगरपालिका–४ स्थित प्रगति दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१ स्थित चारकुने दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–५ स्थित चिन्तुटार दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी र बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामार्फत अनुदान वितरण गरिएको हो ।

अनुदानले किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएको र जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको उहाँको भनाइ छ । डा श्रेष्ठले भन्नुभयो, “उत्पादनका आधारमा अनुदान दिँदा कृषकमा हौसला बढेको छ । पहिला कम उत्पादन गर्नेले अहिले धेरै उत्पादन गर्न थाल्नुभएको छ ।”

बन्दीपुर गाउँपालिका–१ का कृषक भोजनाथ पराजुलीले प्रदेश सरकार, स्थानीय सरकारमार्फत दुधमा अनुदान पाउँदा पशुपालन गर्न हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका आधारमा अनुदान पाउँदा व्यवसायमा लगानी थप्न सहयोग मिलेको छ ।”

कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्ष यता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८ दशमलव ५४ लिटर उपलब्धता छ ।

त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशलमव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width