विभिन्न विधामा सम्मान तथा पुरस्कार

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७९
film

पोखरा । सामाजिक रुपान्तरणका लागि नागरिक समाजले १६ औैं वार्षिकोत्सव अवसरमा कला, साहित्य, संगीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सामाजिक रूपान्तरणमा विशेष योगदान पु¥याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेहरुमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल, साहित्यकार भीष्मराज फुलारा, एड्भेन्चर डाइरेक्टर नवीन त्रिताल, सञ्चारकर्मी तथा मानवअधिकारकर्मी राजनप्रसाद कुइँकेल, टेलिभिजन प्रस्तोताद्वय मनोज जोशी र विकास थपलिया, संगीतकारद्वय ओमप्रकाश राई र राजु शर्मा नेपाली रहेका छन् । लोक देउडागायक दीपेन्द्रप्रसाद दाहाल, चलचित्र छायाकार दिव्य सुवेदी, शृङ्गार कलाकार गीता शाह, चलचित्र अभिनेता पृथ्वीराज प्रसाईं, चलचित्र निर्देशक खुमबहादुर सुनार, सञ्चारकर्मी कोमलनाथ अधिकारी, लघु चलचित्र निर्देशक अमरबहादुर विश्वकर्मा, नृत्य निर्देशक राजकुमार दर्जी, आधुनिक लोकगायिका सुजाता केसी र अभिनेत्री आशा भुसालले पनि पुरस्कार प्राप्त गरे ।

सामाजिक रूपान्तरणमा प्रतिबद्धतासहित अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा दीर्घसिंह बम, गुरु रिम्पोचे कोषका अध्यक्ष आनी भीमसुवा गुरुङ, वरिष्ठ परम्परागत आयुर्वेदिक चिकित्सक रामलाल वैद्य, गीतकार प्राज्ञ उन्नति बोहोरा ‘शीला’लाई ‘विशेष नागरिक सम्मान–२०७९’ प्रदान गरिएको छ । साथै, वरिष्ठ समाजसेवी तथा खेलकुद पत्रकार पुष्पदास श्रेष्ठ, वरिष्ठ वृत्तचित्र सम्पादक मानबहादुर थापा, वरिष्ठ छायाकारद्वय विश्वनाथ आचार्य र देवु राजवंशी, सञ्चारकर्मी शंकर रोक्का र तबलावादक कुन्दन शाह शंकरलाई सम्मानित गरियो ।

पुरस्कारको निर्णायक समिति प्रमुखमा वरिष्ठ चलचित्रकर्मी सुमन रिमाल थिए भने सदस्यमा पत्रकार रेवतीरमण खनाल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष तथा लेखक जीवन पराजुली र पत्रकार तथा लेखक गोकर्ण बराल थिए । प्रदेश छनौट समिति संयोजक पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारी थिए ।

कार्यक्रममा वरिष्ठ संगीतकार तथा चलचित्रकर्मी मुरलीधर, सांसद नारायण मरासिनी, नेपाली जनता दलका संघीय अध्यक्ष अनुप पहाडी, हिसान उपाध्यक्ष रामहरि सिलवाल लगायतले सम्मानित र पुरस्कृतलाई शुभकामना दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width