गाउँसभाबाट साढे ३ करोड बढी बजेट विनियोजन

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६
annapurna bishesh gaunsavay (2)

साधन राम्जाली -म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विशेष गाउँसभाबाट साढे ३ करोड रुपैयाँ बढी बजेट थप विनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा सम्पन्न विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि थप बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको ३ करोड ५० लाख ९८ हजार रुपैयाँ विभिन्न ३९ वटा योजनामा विनियोजन गर्ने निर्णय गरेको छ ।

गाउँपालिका उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गरेको अल्या बजेटबाट थपिएका र २४ वटा शीर्षकान्तर गरिएका योजना तथा कार्यक्रमको प्रस्ताव गाउँसभामा सहभागी सदस्यको छलफलपछि पारित भएको हो । गत असारमा भएको गाउँसभाबाट १ सय ६९ वटा योजना तथा कार्यक्रमका लागि ७ करोड २२ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटमा अल्या बजेट थप भएको हो । यसैगरी संघीय र प्रदेश सरकारमा माग गरिने ४० वटा भन्दा बढी योजना प्रस्ताव समेत गाउँसभाले पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले लोक सेवा आयोगले गत पुसमा नयाँ लेखा अधिकृत र लेखापाल पठाएपछि अल्या बजेट पहिचान गरेर चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताए । उनले लेखा, प्राविधिक र प्रशासनिक कर्मचारी अभावमा प्रभावित भएको प्रशासनिक, आर्थिक र पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रम नयाँ कर्मचारी आएकाले अब तीव्र साथ कार्यान्वयनमा लैजानुपर्ने बताए ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बजेट विनियोजन भएका योजना तथा कार्यक्रम प्रभावकारी र दिगो बनाउन कर्मचारी, प्राविधिक, जनप्रतिनिधि सबै सक्रिय भएर लाग्नुपर्नेमा बताए । कर्मचारी समायोजन भएपछि कार्यरत कर्मचारी सरुवाका कारण पुससम्म ठप्प जस्तै भएको गाउँपालिकाको काम नयाँ कर्मचारी आएपछि बल्ल शुरु भएको उनको भनाइ छ ।
उनले अबको ४ महिनामा उपलब्धि देखिने र बजेटको सदुपयोग हुने गरी योजना कार्यान्वयनमा जुट्न आग्रह गरिन् । आवधिक योजना र गुरुयोजना तयार पारेर ठूला आयोजना भित्र्याउन पहल गरिने उपाध्यक्ष मगरले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले प्रशासनीक सेवा प्रवाहलाई सहज र सरल बनाइने बताए । उनले बजेट खर्च हुने तर उपलब्धि नहुने टुक्रे योजनाभन्दा ठूला बजेटका महत्वपूर्ण योजनालाई ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे । गाउँसभाका सदस्यले प्रस्तुत बजेट, योजना तथा कार्यक्रम र गाउँपालिकाको समस्याको बारेमा टिप्पणी, सुझाव र गुनासा व्यक्त गरेका थिए । दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले कार्यपालिकाले गरेका निर्णयको व्यक्तिगत स्वामित्व लिने प्रवृतिले समस्या र जनतामा भ्रम पैदा गरेको बताए ।

हिस्तानका वडाध्यक्ष टीका घताने र माया पुनले गुरगुरे–बैसरी मोटरपुल अलपत्र परेको, लेखा समिति गठन गर्ने अघिल्लो गाउँसभाको निर्णय कार्यान्वयन नभएको, दोसल्लेको सिँचाइ समस्या र सुन्तलाको जुस बनाउने योजना आवश्यक रहेकोमा ध्यानाकर्षण गराए । राम्चेका वडा सदस्य देवकुमारी खोरजा पुन र गेममाया पुनले गाउँसभा सदस्य तथा विषयगत समितिको भूमिका बढाउनुपर्ने, कृषिका योजनालाई प्राथमिकता दिनुपर्ने, फलामेडाडा–नागी–राम्चे सडक ओझेलमा परेको, गर्भवती महिलालाई लक्षित गरेर स्थापित कोषबाट सुविधा पाउन नसकेको विषयमा ध्यानाकर्षण गराए ।

हिस्तानका वडा सदस्य हर्कबहादुर पुनले झोलुङ्गे पुल हेरालुको बजेट कटौती भएकोमा ध्यानाकर्षण गराउँदै पालिकाबाट थोरै भएपनि बजेट व्यवस्थापन गर्न माग गरे । उनले अन्नपूर्ण गाउँपालिकामा रहेका नारच्याङ पञ्चकुण्ड, खयर, प्यारीबाराही, नांगीबाराहीलगायत ताललाई अभिलेखीकरण गराउन माग गरे । जिल्ला समन्वय समिति सदस्य बोमाया गर्बुजाले योजना अनुगमनका लागि स्थानीय तहले जिससलाई विवरण उपलब्ध गराउन अनुरोध गरिन् । गाउँसभाको उद्घाटन सत्र सञ्चालन गरेका कार्यपालिकाका प्रवत्ता समेत रहेका घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले उच्च मनोबल र सक्रियताका साथ योजना कार्यन्वयनमा जुट्नुको विकल्प नभएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग