गलकोटमा होमस्टे संचालकलाई तालिम

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७६
20200305_110839

बाग्लुङको गलकोट नगरपालिकामा आयोजित होमस्टे तालिम बिहीबार उद्घाटन गर्दै नगर प्रमुख भरत शर्मा गैह्रे । तस्वीर: रुपनारायण ढकाल/ आदर्श समाज ।

रुपनारायण ढकाल : बागलुङ, २२ फागुन । बाग्लुङ जिल्लाका सामुदायीक होमस्टे संचालकहरुका लागि तीन दिने ब्यावसायीक क्षमता अभिवृद्धी तालिम बिहीबारदेखी गलकोटमा सुरु भएको छ ।

जिल्लाको गलकोट नगरपालिका २ नरेठाँटीमा सुरु भएको आधारभूत तालिममा ३० होमस्टेका ६० जनाको सहभागिता रहेको आयोजक गाउँ पर्यटन प्रबर्द्धन मन्च, भिटोफ नेपालका गण्डकी प्रदेश अध्यक्ष नबराज अधिकारीले जानकारी दिए । तालिमलाई गलकोट नगरपालिका र बाग्लुङकै तमानखोला गाउँपालिकाले सघाएका छन् भने नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रेले तालिमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले होमस्टेलाई पर्यटनसँग जोडेर नगरपालिकाले योजना अगाडि बढाएको भनाई राखे । तालिमका माध्यमबाट सहभागीले अतिथी सत्कार सम्बन्धी सीप सिक्ने पनि उनले सो अवसरमा बताए ।

कार्यक्रममा बोल्दै भिटोफ गण्डकीका अध्यक्ष अधिकारीले आफ्नो संस्थाले हरेक ठाउँ पर्यटकीय गाउँ भन्ने नाराका साथ विभिन्न पर्यटन मेला, गोष्ठी, छलफल जस्ता कार्यक्रम आयोजना गर्दै आएको स्मरण गराए । सफाई, हाउस किपिङ, सामाजिक संजाल र बजारिकरणका विषयमा प्रा डा प्रेम शर्माले तालिम दिने अधिकारीले सुनाए । गण्डकी प्रदेश सरकारले घोषणा गरेका र संचालन गरेका भ्रमण बर्षका कार्यक्रमलाई सफल बनाउन समेत भिटोफले आफ्नो तर्फबाट पहल गरिरहेको जानकारी उनले दिए ।

गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत शिशिर पौडेलले पर्यटन र होमस्टेका लागि बजारिकरणको ठूलो महत्व हुने भनाई राखे । तालिमका संयोजक श्याम लामिछानेले गाउँको कला, संस्कृती र रहनसहनको प्रबर्द्धन र बजारिकरणमा भिटोफले सघाउँदै आएको बताए । पर्यटनका माध्यमबाट आर्थिक समृद्धी संभव भएको भन्दै उनले सहभागीको क्षमता र आयस्तर बढाउन सघाउने उद्देश्य कार्यक्रमले लिएको जानकारी दिए ।

गलकोट २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीले सरसफाईका तरिका, गाउँले उत्पादनको बजारिकरण र पाहुना सेवा सिक्ने अवसर तालिमबाट प्राप्त हुने भनाई राखे । आफ्नो नगरपालिकामा मात्र ४ वटा होमस्टे संचालनमा रहेको र वडा २ मा एउटा तोरीखोला होमस्टे रहेको अवगत गराए ।

बाग्लुङ स्थित होम स्टे संचालकका अध्यक्ष चुडामणी छन्त्यालको सभापतित्वमा भएको कार्यक्रममा नेकपा गलकोट नगर कमिटी अध्यक्ष ललित शिरीष र राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटी अध्यक्ष टंक केसीले पनि भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग