होमस्टे धान्न छोरीभन्दा बुहारी रोजिँदै

आदर्श समाज सम्वाददाता
माघ १७, २०७६
Chilaune Kharka

चिलाउने खर्क

रुपनारायण ढकाल : पोखरा, १७ माघ । गाउँमा शुरु गरिएको होमस्टेको निरन्तरताका लागि पोखरा–२१, चिलाउनेखर्कले छोरीभन्दा बुहारीलाई अग्रसगर हुन प्रेरित गरेको छ । गाउँका छोरीहरु विवाह गरेर अन्तै जानेक्रमसँगै चिलाउनेखर्कले भने छोरीभन्दा बुहारीलाई जोड दिएर होमस्टे अगाडि बढाउन चाहेको हो ।

चिलाउनेखर्क सामुदायिक होमस्टेका अध्यक्ष मानबहादुर थापामगरले छोरीहरु विवाह गरेर अन्यत्रै जाँदा गाउँमा होमस्टेको निरन्तरता चुनौतीपूर्ण हुने बताए । त्यही भएर बुहारीहरुलाई होमस्टेमा अगाडि सार्न चाहेको उनले बताए । थापामगरले भने, ‘होमस्टे टिकाउन तालिम र अन्य होमस्टेसम्बन्धी सिकाइमा बुहारीहरुलाई अगाडि सार्ने गरेका छौं ।’मानिसहरु सुविधा र रोजगारीका लागि धमाधम बजार झर्नेक्रम रहँदा यस गाउँमा भने त्यस्तो क्रमले असर नै भने परेको छैन । बारीमा भर्खर टिपेको ताजा तरकारी र गाउँले परिकारसँग रमाउन चाहनेलाई चिलाउनेखर्क आउन गाउँलेले आह्वान पनि गरेका छन् ।

पोखराको मुख्यक्षेत्रबाट आधा घण्टामा नै महतगौंडा, दोविल्ला, निर्मलपोखरीहुँदै चिलाउनेखर्कको होमस्टेमा पुग्न सकिन्छ । मगर जातिका ६३ घर भएको यो गाउँका सात घरमा हालै मात्र होमस्टे सेवा शुरु गरिएको हो । ‘ताजा फलपूmल र तरकारी तथा यहीं फलेको कोदो, मकै र भट्ट जस्ता परिकार हामी पर्यटकलाई चखाउँछौं,’ अध्यक्ष मगरले भने ।

यस्तै, अर्गानिक स्वाद र स्थानीय संस्कृति मिसाएर पर्यटकलाई पस्कने सोच यहाँको मगर समुदायले अगाडि सारेको छ । गाउँमा होमस्टेको सम्भावना, अध्ययन र आरम्भमा गाउँ पर्यटन मञ्च (भिटोफ), गण्डकी प्रदेशको मुख्य भूमिका रहेको छ । मगर संस्कृति र अर्गानिक स्वादका कारण पनि यो गाउँले होमस्टेमा अगाडि बढ्न सक्ने प्रशस्त सम्भावना बोकेको भिटोफ गण्डकीका पूर्व अध्यक्ष रवीन्द्रराज पौडेलले बताए ।

कौरा, सोरठी, ठाडोभाका, झ्याउरे लगायत नाच र संस्कृति पनि यहाँका आकर्षण हुन् । होमस्टेको प्याकेज बनाएर पाहुनाका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । सांस्कृतिक कार्यक्रम हेर्न चाहनेले थप २ सय रुपैयाँ रकम तिर्नुपर्ने अध्यक्ष थापा मगरले सुनाए ।

पाहुना पुग्नसाथ साँझतिर मकै, भट्ट, गुन्द्रुकजस्ता परिकार खाजाका रुपमा चखाउने गरिन्छ । स्थानीय रुपमा उत्पादित मदिरा पनि पाहुना सत्कारमा छुटाइँदैन । बिहान भने कोदोको सेलरोटी, दही, मही, चिया, अण्डाजस्ता परिकार यहाँ चाख्न पाइन्छ । पाहुना सेवाका लागि र केही आम्दानीहोस् भनी आफूले पनि होमस्टे सेवा शुरु गरेको स्थानीय राधा रानाले सुनाइन् । आफ्नो घरमा आएका केही विद्यार्थी र पाहुनाको सेवा गरी राम्रो आतिथ्यता प्रदान गरेको अनुभव उनले बाँडिन् । अतिथि सत्कार कर्मलाई निरन्तरता दिने सोच आफूले बनाएको पनि उनले सुनाइन् ।

नारायण मन्दिर र जलदेवी मन्दिर चिलाउनेखर्कका मुख्य धार्मिक क्षेत्र हुन् । चैते दशैंमा यहाँ मेला र महोत्सवको आयोजना गरिँदैआएको छ । चिलाउनेखर्कमा नै भिटोफले हालै आफ्नो अधिवेशन सम्पन्न गरी पाहुनालाई यहींको होमस्टेमा राखेको थियो भने हाइकर्स क्लबले पनि यही गाउँलाई लक्षित गरी पैदलयात्रा कार्यक्रम केही हप्ता अघि आयोजना गरेको थियो ।

होमस्टे संचालकले पाककलासम्बन्धी तालिम पनि भिटोफसँगको सहकार्यमा लिएका थिए । गाउँमा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटबाट शौचालयहरु निर्माण गरिएको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पालामा समेत केही रकम प्राप्त भएको गाउँलेले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग