पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७९
trophy (2)

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सोमबार पोखरामा सार्वजनिक गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराको चिप्लेढुंगामा आयोजित समारोहमा ट्रफी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, राखेप सदस्य राजेश गुरुङ लगायत पूर्व खेलाडी, खेलाडी, सुरक्षा निकायका प्रमुख एवं सर्बसाधारणको ठूलो उपस्थिति थियो ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि नेपाली शैलीको ट्रफी बनाइएको राखेप सदस्य सचिव घिसिङले बताए ।

मुख्यमन्त्री पोखरेलले ४ दसकपछि पोखरामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न सबै पक्षको सहयोग जरुरी रहेको बताए । प्रतियोगिताको उद्घाटन हुन ४ दिन मात्र बाँकी रहेको अवस्थामा लगभग तयारी सकिएको भन्दै उनले यो प्रतियोगिताले पोखरा र गण्डकीको साख अझै माथि पु¥याउने विश्वास व्यक्त गरे ।

उनले खेलाडीहरुलाई हौसला प्रदान गर्दै यो ट्रफी गण्डकीमै राख्ने गरी अगाडि बड्न आग्रह गरे । खेल स्वास्थ्य, अर्थतन्त्र, कुटनीतिसँग पनि जोडिएकाले यसको महत्व अत्यन्तै रहेको उनको भनाइ थियो । कार्यक्रममा राखेप सदस्य सचिव र प्रदेश सदस्य सचिवले पनि भनाइ राखेका थिए ।

नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि यसअसघि ६ वटै प्रदेश र ३ विभागीय टोलीमा पु¥याइएको थियो । राखेपले ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्यीय ट्रफी टुर कार्यदल गठन गरेको छ ।

कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन् ।
ट्रफीको डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ हुन् भने यसको निर्माण श्याम तुलाधारले गरेका हुन् । ट्रफीमा ५ किलो चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ । लगातार ३ संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा ट्रफी आफूसँग राख्न पाउने प्रावधान छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग र एक एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् । पोखरामा हिजोबाटै महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ भने ह्यान्डबल प्रतियोगिता आजबाट हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग