प्रिय मित्र कृष्णलाई श्रद्धासुमन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७०

हाम्रा एक अनन्य मित्र कृष्ण सुवेदीलाई हामीले गुमाएका छौं। आजको १३ दिन पहिले पुस ३० गते उनको ३६ वर्षको अल्पायुमा निधन भएको हो। छोरेपाटनमा हुके-बढेका बालसखा कृष्ण एक असल मित्र त थिए नै त्यसका अलावा उनी एक होनहार युवा थिए। युवाका लागि एक नमुना थिए। हामी ९/१० मापढ्दा बुबाले भन्नुहुन्थ्यो-‘छोरा हुनु त, ऊ सुब्बाको छोराजस्तो हुनु।’ साँच्चै कृष्ण सानैदेखि अति लगनशील थिए। पढाइमा कहिलै दोस्रा भएनन्। सधैँ प्रथम हुने गर्दथे, कक्षामा। त्यसकारण स्कुलमा पनि सबै सर म्याडम, साथीभाइका प्यारा थिए।

त्यसैले, मैले सधै याद गरिरहन्छु ती मेरा बाबाले भनेका कुराहरु । र, मित्र कृष्णलाई। पोखरा-१७ छोरेपाटन आजभन्दा १८/२० वर्ष पहिला आजको जस्तो थिएन । घरहरु त्यति बनि सकेका थिएनन्। साथीभाइको संख्या अत्यन्त कम थियो। हामी जति साथीभाइ थियौं, प्रायः सबै जना चिरपरिचित नै थियौ।

कृष्णसँग मेरो व्यक्तिगतरुपमा भेट भएकै ३ कक्षामा पढ्दादेखिनै हो। जब २०४३ बैशाखमा हामी छोरेपाटन आयौ, हाम्रो घर पुम्दीभुम्दी वडा नं. १ स्थित घैयाखेत थियो। हामी नयाँ सडकबाट छोरेपाटन गएपछि नै कृष्णसँग भेट हुन थालेको हो। त्यसबेलादेखि हामी एक सच्चा मित्रको रुपमा रहेका थियौ। हामी पढ्नेबेला भलै अलगअलग कक्षा बस्थ्यौं तर खेल्ने बेलामा र कामको बेला साथमै हुन्थ्यौ। तिब्बतियन क्याक्पको चौरमा फुटबल खेल्न होस् वा फुस्रे खोलामा पौडी खेल्न । अनि घाँस काट्न जाने बेलामा होस् हामी साथमै हुन्थ्यौं। आज मेरा अति मिलनसार मित्र युवा अवस्थामा मै भगवानको प्यारा हुन पुगेकाछन्। सामान्य रोगले उनको ज्यान लग्यो। भन्छन्, मानिसको सत्रु अरु कोही होइन रोग हो रे । साँच्चै उनलाई रोगले अल्पायुमै लग्यो। उनी बृद्ध भएकी आमा, श्रीमती, उच्च शिक्षाको लागि विदेश गएका भाइ, एक छोरा र एक छोरीलाई टुहुरो पारेर गए ।उनी आज हाम्रो माझ नभए पनि उनको याद आइरहेको छ। उनी यस संसारमा हुँदाभन्दा आज बढि याद उनको आएको छ। लाग्छ, उनी यतै छन् र हामीलाई देखिरहेका छन्।

एक सक्रिय युवा व्यक्तित्वलाई आज हामीले मात्र होइन समाजले गुमाएको छ। देशले गुमाएको छ। राष्ट्रले गुमाएको छ। जुन दिनसम्म उनी यस धर्तीमा रहे, त्यसबेलासम्म देश र समाजको चिन्तनमा हुन्थे। समाजमा पढे लेखेका युवाहरुलाई सम्झाउने, बुझाउने र आवश्यक सहयोग गर्ने गर्दथे। घर व्यवहारका साथ साथै युवालाई आर्थिक उन्नतिमा समेत उनको पहलमा सामेल गराउन सफल भएका थिए।जो युवा आज उनले देखाएको मार्गमा लागे, उनीहरुले आज जीवन खुसीसाथ यापन गरिरहेका छन्।उनको १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन व्यक्त गर्दछु। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै