कोरोनाले सिजन नै सुनसान

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७६
hhhh

रुपनारायण ढकाल- पोखरा । कोरोना भाइरसले उत्पन्न त्रासका कारण यसपटकको पर्यटकीय सिजन नराम्रो गरी प्रभावित हुन पुगेको छ । अक्टोवर, नोभेम्बर र डिसेम्बरपछि मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय सिजनको रुपमा बुझ्ने गरिएको छ ।
तर सिजन लाग्नु पूर्वदेखि जारी कोरोना त्रासले पर्यटकीय सिजन सुनसान हुने अवस्था सिर्जना भएको छ । होटलहरुको बुकिङ धमाधम क्यान्सिल भएका छन् भने मानिसहरुको चहलपहलमा नराम्रो गरी गिरावट आएको छ । स्वयं नेपाल सरकारले नै अन्तर्राष्ट्रिय प्रवद्र्धन नगर्ने र घोषित नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेपछि पर्यटनमा संकट देखा परेको व्यवसायीले बताएका छन् ।पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले कोरोनाको विश्वव्यापी त्रासका कारणले अहिले पोखराको होटल क्षेत्रमा मुस्किलले २० प्रतिशतमात्र अकुपेन्सी रहेको बताए । पर्यटन क्षेत्र संवेदनशील क्षेत्र भएको स्मरण गराउँदै उनले कोरोना समस्या कहिलेसम्म विद्यमान रहन्छ भन्ने निश्चित नहुँदा झनै अन्योल थपिएको बताए ।

होटलकर्मी भरतराज शर्माले अहिलेको सिजनमा ९० प्रतिशतसम्म अकुपेन्सी होटल क्षेत्रमा हुनुपर्नेमा २० प्रतिशतमात्र अकुपेन्सी हुनु चिन्ताको कुरा भएको बताए । कोरोनाले पर्यटन क्षेत्रमा छटपटी बढेपछि अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले उद्योग र पर्यटन क्षेत्रका व्यवसायीलाई समेटेर एक अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेका थिए । एकतामा नै बल हुन्छ भन्ने ठानेर उद्योग र पर्यटन क्षेत्र कोरोनाविरुद्ध संयुक्त रुपमा अगाडि बढ्ने वातावरण तयार गर्न आफूले सो भेला राखेको भट्टराईले बताए । यस्तै आफ्ना सदस्य होटलबीच पश्चिमाञ्चल होटल संघ पोखराले पनि गत भेला शनिबार राखेको थियो । भेलामा व्यवसायीले पाहुना अभावमा कमाई नहुँदा बैंकको ऋण र किस्ता तिर्न समस्या परेको, कर्मचारी र मजदुरलाई तलब खुवाउन गाह्रो परेको र भाडामा संचालित होटलहरुले घरधनीलाई भाडा चुकाउन समस्या परेको गुनासो गरेका थिए ।

यतिमात्र नभई पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र चाइना ओभरसिज एशोसिएसनले एक ¥याली आयोजना गरी दीप प्रज्वलन समेत गरेका थिए । कोरोनाविरुद्ध सचेतना फैलाउन यस्तो कार्यक्रम आयोजना गरिएको परिषद् उपाध्यक्ष गोपीबहादुर भट्टराईले सो अवसरमा बताए ।प्रवद्र्धनकै सन्दर्भमा पोखरा पर्यटन परिषद्ले गत फेव्रुअरी अन्त्यमा भारतको सिलगुढीमा आयोजित बंगाल टुरिजम मार्ट र कोलकाता पुगी पोखरा प्रवद्र्धन गर्ने र व्यापारिक भेटघाटमा सहभागी हुने कार्यक्रम सम्पन्न गरेका थिए । सरकारले अन्तर्राष्ट्रिय प्रवद्र्धन नै रोकेको अवस्थामा स्थगित नेपाल भ्रमण वर्षको भविष्य के हुने विषय समेत अन्योल छ । कोरोनाकै कारण सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने भनी राखेको लक्ष्य समेत पूरा नहुने देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२० को पहिलो महिनामा ६५ हजार ९ सय ८३ विदेशी पर्यटक नेपाल आएकोमा फेव्रुअरीमा ७७ हजार ६४ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या हवाईमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको भएको विभागले जनाएको छ । एक वर्ष अवधिमा सन् २०१९ मा कुल ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल कोरोनामुक्त देश भनी केही पहिला घोषणा गरे । तर कोरोना पहिला देखा परेको भनिएको चीनबाट र दक्षिणको भारतबाट समेत मानिसहरु नेपाल आइरहेको कारण पर्यटन भाइरस संक्रमणको त्रास रहेको व्यवसायी बताउँछन् । पछिल्लो क्रममा भारतमा समेत कोरोना भाइरसले भेटेका बिरामी पाइन थालेको छ । नेपालमा बढी पर्यटक आउने देश भारत र चीन नै हुन् तर अहिले त्यहाँबाट पर्यटक आगमन नगण्य छ । कोरोनाकै कारण पदयात्रा क्षेत्र समेत अहिले सुनसान बन्न पुगेका छन् । नेपाल आउने ६० प्रतिशत पर्यटक पदायात्रामा जाने विश्वास गरिन्छ । चिनियाँहरु प्याराग्लाइडिङमा बढी रमाउने गर्थे तर अहिले उनीहरु पनि आउने क्रम करिब रोकिन पुगेको छ ।

यस्तो अवस्थामा पर्यटक बोलाउँदा पनि त्रास र नबोलाउँदा पनि समस्या विद्यमान रहेको होटलकर्मी लक्ष्मीबहादुर भट्टराई बताउँछन् । ‘भाइरसकै कारण पर्यटक देख्दा डराउनुपर्ने अवस्था आएको छ,’ उनले भने । नेपालमा हालसम्म कोरोना भाइरस नदेखिएका कारण बाह्य नभए पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कि भन्ने विषयमा छलफल अगाडि बढाइएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । अहिले होटलकर्मीलाई हेल्थ एण्ड हाइजिन मेन्टेन गर्न बढी जोड दिइएको पनि उनले सुनाए । अहिले मुख्य कुरा आफू जोगिने र व्यवसाय टिकाउने भएको व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई सरकारले राहतका प्याकेज घोषणा गर्नुपर्ने माग पनि उठेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

trending post

ट्रेन्डिङ्ग