चक्रतीर्थ धामको प्रवद्र्धनका लागि महायज्ञ, २८ लाख संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७६
20191025_121646

लमजुङ । लमजुङको चक्रतीर्थ धामको प्रवद्र्धनका लागि आयोजना गरिएको सप्ताहव्यापी श्रीमद भागवत् ज्ञान महायज्ञमा २८ लाख २३ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ । महायज्ञको छैटौं दिन शुक्रबारसम्म उक्त रकम संकलन भएको हो ।

राइनास नगरपालिका– ४ को चेपे नदी किनारमा पर्ने चक्रतीर्थ धाम प्रचार प्रसारको अभावमा ओझेलमा गरेको छ । त्यसको प्रचारप्रसार सहित धाम क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक रमक जुटाउनका लागि महायज्ञ सञ्चालन गरिएको चक्रतीर्थ धाम विकास समितिका संयोजक एवम् सप्ताहव्यापी श्रीमद भागवत् ज्ञान महायज्ञका संयोजक जगतप्रसाद कट्ट्लले बताए । उनका अनुसार महायज्ञको छैटौं दिनसम्म २८ लाख २३ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ । यो सबै नगद हो, हामीले उधारो बोलकबोल गरे, गराएको छैन उनले भने ।

चक्रतीर्थ धाम पौराणिक एवम् ऐतिहासिक महत्व बोकेको स्थल हो । पौराणिक कालमा यो स्थानमा विष्णु भगवान् र राक्षसको युद्ध भएको र विष्णुले राक्षसहरूको संहार गर्न आफ्नो हतियार चक्र प्रहार गरेको स्थल हो भन्ने विश्वास गरिएको छ । २०१८ सालदेखि ०२२ सालसम्म त्यस स्थलमा उत्खनन कार्य गरिएको र एक हातभरीको चक्र फेला परेपछि त्यस स्थानको नाम चक्रतीर्थ रहन गएको ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् हिलसिटी कलेजका प्रमुख मातृका खनालले बताए । उनका अनुसार समुद्र मथन गरी निस्केको अमृत कस्ले खाने भन्ने देवता र दैत्यको झगडा हुँदा देवताहरूले यही बाटो भएर दूधपोखरीमा लगेर अमृत लुकाएको भन्ने किंवदन्ती पाइन्छ ।

त्यस्तै, सो स्थानमा च्यवन ऋषिले आएर आफ्ना मातापिताका लागि तर्पण दिन लाग्दा तयार गरिएका भाडाँकुडा सबै बगाए लगेपछि पुनः भोलिपल्ट भाडाकुडा खोजी ल्याएर पुनः तर्पण दिएको आफ्ना बुबा– हजुबाले कुराकानीका क्रममा सुनेको सो धामका संरक्षक एवम् राइनास नगरपालिका– ३ का वडाध्यक्ष स्वतन्त्र हमालले बताए ।

रानी बसन्तावतीले आफ्ना पतिको तर्पण दिनका लागि रोजेको स्थल तथा पछि आफ्ना दुई छोरा बीचमा एकले अर्कोको हत्या गर्ने स्थिति उत्पन्न भएको जानकारी पाएपछि तिमीहरूले अबका दिनमा यो नदी तर्ने काम नगर्नु गरेमा आमाको दूधको भारा लाग्नेछ भन्दै आफ्नो दूधको धारा चेपे नदीमा बगाएको स्थल पनि यही धामसँगै पर्दछ चक्रतीर्थ धाम विकास समितिका उपाध्यक्ष एवम् सप्ताहव्यापी श्रीमद भागवत् ज्ञान महायज्ञको सचिवालय संयोजक नरमाया शाहीले बताइन् । उनले भनिन् ‘यो स्थलको पौराणिक, धार्मिक, ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार विकासका आवश्यक काम गर्न विकास समिति जुर्मुराएको छ, आजका दिनसम्म यो स्थलो ओझेलमा परेता पनि अब पर्न दिने छैनौं ।’

उक्त स्थानमा मातातीर्थ औंशीका अवसरमा महोत्सवको आयोजना गरेर यस स्थानको महत्वलाई थप उजागर गर्ने सोचमा रहेको चक्रतीर्थ धाम विकास समितिका सचिव बलराम पराजुलीले बताए । उनका अनुसार कथा शिरोमणि पं. दीपकप्रसाद पौडेल प्रमुख वाचक रहेको उक्त संगीतमय सप्ताहव्यापी श्रीमद भागवत् ज्ञान महायज्ञको समापन आइतबार गर्ने कार्यक्रम रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width