अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
annapurna gaupalika

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ ।

कलाकार जीवन दाहालले संस्कृति बाँचे संस्कार रहने भन्दै संस्कृतिको संरक्षणका लागि अन्नपूर्ण प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्नेमा जोड दिए । उनले अन्नपूर्णको पहिचान झल्कने गरी गीतहरू निर्माण गर्नुपर्ने धारणा राख्दै लुम्ले क्षेत्रमा कला, संगीत, साहित्य तथा सिर्जना ग्राम बनाउन पालिकाको ध्यानाकर्षण गराए ।

साहित्यकारहरू अम्बिका भण्डारी, बाला अधिकारी, कलाकार कमला केसी, पत्रकारहरू पुष्प दाहाल, रविनाथ दाहाल, अमृत गुरुङ, सरला त्रिपाठी भण्डारी, श्रीभद्र पौडेल लगायतले विभिन्न सुझाव दिए ।

उनीहरुले पालिकाले पर्यटकीय क्षेत्र एवं वडा लक्षित वृत्तचित्र निर्माण गर्नुपर्ने, अन्नपूर्णलाई सूचनामैत्री पालिका बनाउनुपर्ने, अन्नपूर्णको पहिचान झल्कने गरी समयसमयमा पुस्तक प्रकाशन गर्नुपर्ने, पत्रकारिता तथा कलाकारिताका कार्यक्रमका लागि बजेट व्यवस्था हुनुपर्ने, अन्नपूर्ण केन्द्रित सञ्चार माध्ययम खोल्न प्रोत्साहन गर्नुपर्नेलगायत सुझाव राखे ।

पालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले सबै क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम ल्याउने विश्वास दिलाउँदै सबै मिले पालिका नमूना बन्ने धारणा राखे ।

उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले राम्रो कामको प्रचार तथा नराम्रा कामको खबरदारी गर्न आह्वान गर्दै प्राप्त सुझाव सल्लाहअनुसार नै नीति कार्यक्रम आउने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पालिका कला, साहित्य तथा सञ्चार क्षेत्रको पुस्तान्तरणको पक्षमा रहेको स्पष्ट पारे ।

कार्यक्रमबीच पालिकाको चिनारी गीत निर्माणका लागि कलाकार जीवन दाहालको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यहरू बाला अधिकारी, प्रेमराज अधिकारी, अम्बिका भण्डारी, अमृत गुरुङ, सुरेन्द्र गुरुङ, कमला केसी, टेक क्षेत्री, विमल परियार छन् । आवश्यकता अनुसार अन्य सदस्य एवं सल्लाहकार मनोनीत गर्न सकिने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षा अधिकृत बलराम भुगाईंले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width